८ वैशाख २०८१ शनिबार
समाज

स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा संक्रमण दर उच्च बन्दै

सिरहा कोरोनाको नयाँ ‘हटस्पट’

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले एक महिनादेखि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आग्रह गरेका थिए, ‘हाटबजारमा भिडभाड नगर्नु र समाजिक दूरी कायम गर्नुस् ।’ प्रजिअकाे आग्रहलाई नमान्दा सिरहा प्रदेश २ मा कोरोनाको नयाँ ‘हटस्पट’ बन्न पुगेको छ ।

मंगलबार प्रदेश २ मा ४९ जना नयाँ संक्रमित थपिँदा ४० जना सिरहामै थपिएका छन्। भदौ २३ देखि हालसम्मको दुई सातामा यस जिल्लामा ६ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्। यस अवधिमा १ हजार ५ सय ७५ जनाको आरटि पिसिआर परीक्षण भएको छ। पछिल्लो दुई साताको परीक्षण तथ्यांक केलाउँदा परीक्षण गरिएका मध्ये करिब ४० प्रतिशतको नतिजा पोजेटिभ पाइएको छ। उनीहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङकाहरु छन्। यस जिल्लामा संक्रमितको संख्या १ हजार १ सय ५५ पुगेको छ। सक्रिय संक्रमितको संख्या ७ सय ६५ छ। कोरोना संक्रमणबाट मृतकको संख्या ११ पुगेको छ।  

लहान, सिरहा, गोलबजार, मिर्चैया, कर्जन्हा, धनगढीमाई, कल्याणपुर नगरपालिकादेखि सीमावर्ती सखुवानन्कारकट्टी, भगवानपुर, नवराजपुर, औरही, बरियारट्टी गाउँपालिकामा संक्रमण बढ्दो छ। बैंककर्मी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यपारी, थुनुवा, कैदीवन्दी, नेपाली सेना, स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

सहरदेखि गाउँ हुँदै सीमासम्मको अवस्था पहिलाजस्तै सहज भएपछि संक्रमणको दर र दायरा बढ्दै गएको देखिन्छ। एक महिना यता सिरहामा सीमादेखि सहरसम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन बढ्दाको नतिजा पछिल्लो समय बढ्दै गएको संक्रमितको संख्या हो।  

सीमापारि भारतीय क्षेत्रका बजार खुलिसकेपछि दैनिक उपभोगका सामान किन्न पारीको बजार जानेको भींडलाई नियन्त्रण गर्न सकिएको छैन। पारिबाट तस्करी गरी वारि सामान भित्र्याउने क्रमलाई नियन्त्रण गर्न सकिएको छैन। सीमाक्षेत्रमा बढ्दो ओहोरदोहोरले दिईरहेको सामान्य अवस्थाको झल्कोको बाछिट्टा गाउँदेखि सहरसम्म फैलिएको लहानका अजय यादवले बताए।  

‘सीमामा कडाइ गरिएको’ ‘ गाउँ सहरमा लाग्ने हटियामा भिड नियन्त्रण गरियो’ जस्ता सरकारी अभिव्यक्तिभन्दा फरक छ सीमाक्षेत्र र  गाउँसहरको वास्तविक दृश्य । सीमाक्षेत्रमा चल्ने तस्करी धन्दा निरन्तर चलेकै छ । सीमावारिपारि ओहोरदोहोर बढेकै छ । गाउँसहरको हटियामा भीड बढेकै छ। स्वास्थ्य सुरक्षा मापदण्डको धज्जी उडाइएकै छ। सरकारी निर्णय लागू गराउनुको साटो प्रशासन, प्रहरी र स्थानीय सरकार यी सबै दृश्यका निरीह दर्शक बनिदिँदा सिरहा कोरोनाको हटस्पट बन्न पुगेको छ। यहाँ  कोरोना संक्रमणको ग्राफ भयावह बन्नुका मुख्य कारण यिनै हुन् । यसको एउटा उदाहरण हो सिरहाको बरियारपट्टी गाउँपालिका स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट। मंगलबार यस आउट पोष्टका १६ जना सशस्त्र प्रहरीकर्मी छ।  

सीमामा ओहोरदोहोर गर्नेहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने सीमामा सुरक्षार्थ तायनाथ सशस्त्र प्रहरीहरु नै हुन्छन। सीमावर्ती क्षेत्रका मानिस मानिस नुनदेखि सुनसम्म किन्न पारि नै पुग्छन। ‘पारिबाट सामानसहित भित्रिएको संक्रमण सीमामा तायनाथ सुरक्षाकर्मीलाई छुँदै गाउँमा फैलिँदै छ’ रबीन यादवले भने,‘ यहाँका मानिसको दैनिकी पारिको लदनीया बजारमा निर्भर छ ।  

त्यस्तै लहान नगरपालिकामा अधिकांश उपभोग्य वस्तु पारिको भारतीय बजार खुटौना, लौकाहा, जयनगरबाटै भित्रिन्छन। अधिकांश लताकपडा पनि पारिकै बजारबाट भित्रिन्छ। पारिका बलेकिया (तस्कर) को बाक्लो ओहोरदोहोरका कारण लहान संक्रमणको उच्च जोखिममा छ। यहाँका कपडा व्यपारिदेखि स्टेस्नरी व्यपारी उनीहरुको सम्पर्कमा आएका स्थानीयमा संक्रमण पुष्टि भइसकेको छ।  

भारतसँग सीमा जोडिएको सिरहाको भगवानपुर गाउँपालिकामा संक्रमणको उच्च जोखिम छ । सीमाबाट ओहोरदोहार र तस्करी बढेपछि यो गाउँमा संक्रमणको जोखिम बढेको हो । यस गाउँपालिकाको अभयनगर नाकाबाट मदिरा पारि तस्करी हुने र पारिबाट लागूऔषध वारि भित्रिने गरेको स्थानीय बताउँछन ।  

सिरहासँगै प्रदेश २ का आठ वटै जिल्लाको सीमा भारतसँग जोडिएको छ। भारतमा संक्रमणको ग्राफ उकालो चढिरहेका बेला सीमामा भैरहेको सहज ओहोरदोहोरले यस प्रदेशमा पनि संक्रमणको ग्राफलाई माथी उचाल्न बल पुर्याइरहेको छ ।

प्रमुख जिल्ला अधिकारीले समन्वय नगरिदिँदा संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले लिएका कतिपय निर्णय कार्यान्वयनमा चुनौती देखिएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । सीमामा कडाइ गर्न संघ सरकार मातहतको प्रहरी प्रशासन चुक्दा यस प्रदेशमा कोरोना संक्रमणले भयावह रूप लिएको यादवको भनाइ छ । ‘यस प्रदेशमा संक्रमण भयावह हुनुमा अरू कारण पनि छन तर प्रमुख कारण सीमामा भएको चुक नै हो’, उनले भने ।  

प्रकाशित: ७ आश्विन २०७७ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App