१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘सामान्य रहेनछ कोरोना भाइरस’

विजय लामा, क्याप्टेन, नेपाल वायुेवा निगम

कलाकार तथा नेपाल वायुसेना निगम (नेवानि) का वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्। कोरोना संक्रमणको उपचार गराइरहेका उनले सोमबार विजय लामा अफिसियल युट्युब च्यानलमार्फत आफ्नो अनुभव सुनाएका थिए। ‘पिसिआरको रिपोर्ट पोजेटिभ आएपछि उच्च मनोबलसहित मैले यसलाई सकारात्मक रूपमा लिइरहेको छु,’ करिब २८ मिनेट लामो भिडियोमा उनले भनेका छनर, ‘कोरोना भाइरस महामारीको अवस्थामा सेवा दिँदा संक्रमित भएको हुँदा दुःखीचाहिँ छैन। कोरोना भाइरसलाई जितेर फेरि नियमित उडानमा फर्कनेछु।’

दक्षिण सुडानका लागि भएको चार्टर्ड उडानबाट फर्केपछि गत साता उनलाई कोरोना संक्रणम पृष्टि भएको थियो। कोरोना भाइरस संक्रमण पुष्टि भएलगत्तै उनी सोल्टी होटलको आइसोलेसनमा बसिरहेका थिए। उनले शान्ति मिसनमा खटिएको नेपाली सेनाको एक टोलीलाई निगमको २७४ सिटको एक वाइडबडी जहाजमा लिई अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए। ज्वरो आएपछि होटलको आइसोलेसनमा उनलाई ललितपुरको स्टार अस्पताल लगिएको थियो। ‘ज्वरोसँगै टाउको दुखेको महसुस भएपछि औषधि सेवन गरिरहेको छु,’ भिडियोको सुरुमा उनले भनेका छन्, ‘जिउभरि एकदम पीडा महसुस भइरहेको छ। प्रशस्त पानी र फलफूल खाइरहेको छु। कोरोना भाइरस संक्रमण भयो भनेर डराएको चाहिँ छैन।’

उनले कोरोना भाइरसबाट बच्न सुरक्षित उपाय अपनाउँदाअपनाउँदै पनि संक्रमण सरेको तर्क गरे। ‘कोरोना भाइरसबाट बच्न सुरक्षित उपाय अपनाउँदा समेत संक्रमित भएँ,’ उनले स्मरण गरे, ‘पिसिआर पोजेटिभ भएसँगै खानाको स्वाद र सुँघ्ने शक्ति हराएको अनुभव हुने रहेछ। यसलाई गम्भीरतापूर्वक नलिए संक्रमण देखिन सक्छ।’ आइसोलेसनको बसाइका क्रममा जीवनको महत्वबारे बुझ्न पाइरहेको उनले बताए। ‘अहिले जीवनबारे बुझ्न समय पाइरहेको छु,’ भिडियोमा उनले भनेका थिए, ‘म बलियो भएर कोरोना भाइरस संक्रमणबाट निको भएर फर्कनेछु भन्ने मनोबलले मलाई प्रोत्साहित गरिरहेको छ। ज्वरो बढेर १०३ पुगेसँगै चिकित्सकको सल्लाहअनुसार स्टार अस्पतालमा उपचार गराइरहेको छु। कोरोना कहरको महसुस बल्ल हुँदैछ। अहिलेको परिस्थितिमा घुम्ने र पार्टी जानेलगायत गतिविधिलाई माया मार्दा राम्रो होला। कारण, जीवन अमूल्य छ।’

कोरोना कहरको महसुस बल्ल हुँदैछ। अहिलेको परिस्थितिमा घुम्ने र पार्टी जानेलगायत गतिविधिलाई माया मार्दा राम्रो होला। कारण, जीवन अमूल्य छ।

अस्पताल पुग्दा गम्भीर स्वास्थ्य अवस्थामा पुगेका उनी सामान्य अवस्थामा फर्कंदैछन्। बल्ल खानाको स्वाद थाहा पाउँदैछन्। ‘नियमित चिकित्सकहरूको निगरानीमा छु,’ उनले भिडियोमार्फत भनेका छन्, ‘उहाँहरूको सल्लाहअनुसार औषधि र खाना खाइरहेको छु। बल्ल स्वास्थ्यको अवस्था सुधिँ्रदै गएको महसुस हुँदैछ।’

हास्य टेलिसिरियल ‘जिरो खुर्सानी’ का पात्र ‘भोक लाग्यो’ (देवीराम पराजुली) पनि कोरोना भाइरस संक्रमणले थलिएका छन्। व्यक्तिगत कामका सिलसिलामा करिब ६ महिनाअघि अमेरिका पुगेका उनी कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै अमेरिकाको क्यालिफोर्नियामा रोकिएका थिए। त्यहाँ कोरोना भाइरस संक्रमणले विकराल स्थिति लिइरहँदा उनी त्यसको प्रत्यक्षदर्शी हुन पुगे। ‘वैशाखमा नेपाल फर्कने टिकट थियो,’ नागरिकसँग फेसबुकमा कुराकानी गर्दै उनले भने, ‘कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि बस्नुको विकल्प सोच्न सकिएन।’

नेपाल फर्कने अनिश्चितता बढेसँगै कोरोना भाइरस संक्रमणबाट जोगिँदै उनी दुई साथीसँग क्यालिर्फोनियाको एक अपार्टमेन्टमा बसिरहेका थिए। सो अपार्टमेन्ट रहेको भवनमा बसिरहेका अन्य ११ जनालाई पालैपाला ज्वरो आउने, शरीर दुख्ने समस्या देखियो। केही दिनपछि कलाकार पराजुलीले टाउको दुखेको महसुस गरेका थिए। त्यसको भोलिपल्ट ज्वरो आएको अनुभूति गरे। ‘अपार्टमेन्टमा हामी तीनजना बस्ने भएकाले सबैलाई उस्तै लक्षण एकसाथ देखिएपछि कोरोना संक्रमण भएको अनुमान ग-यौं,’ उनले भने, ‘उठ्नै नसकिनेगरी थलिएपछि कोरोना भाइरसको परीक्षण गर्न अस्पताल गएको थिएँ। यसअघि नराम्रोसँग शरीरमा पीडा भएको कहिल्यै महसुस गरेको थिइनँ।’

श्वासप्रश्वासमा कुनै समस्या नभएको अनुभव गरेका उनलाई सामान्य ज्वरो आउने, वाकवाकी लाग्ने र टाउको दुख्ने गरेको थियो। ‘साथी कोरोना भाइरस संक्रमणबाट थलिँदै गएका थिए,’ उनले स्मरण गरे, ‘केही दिनमा टाउको दुखेको र सामान्य ज्वरो आएको महसुस गरेपछि कोरोना भाइरस संक्रमण भएको आशंका गरें। सावधानी अपनाउँदाअपनाउँदै कोरोना भाइरस संक्रमण भएपछि यसलाई सामान्य रूपमा लिनुको विकल्प थिएन।’ उनले नाक र मुख सुक्खा मात्र नभएर एक साता खानाको बास्ना र स्वादसमेत थाहा पाएनन्।

‘किनमेलका लागि बाहिर निस्किरहने साथीबाट संक्रमण भएपछि मलाई पनि लाग्यो भन्ने भयो,’ उनले भने, ‘एक सातासम्म कोरोना भाइरस संक्रमणको पीडा अत्यधिक महसुस गरें। संघर्ष गरेर बेडबाट उठ्नैपर्ने हुन्थ्यो, कर गरेर अलिकति भए पनि खाना खाइन्थ्यो। गन्धको ज्ञान नहुनु कोरोना भाइरसको लक्षण एक साता बढी महसुस गरेको थिएँ। लक्षणहरू दिनप्रति दिन बढ्दै गए पनि ज्वरो, खोकी र टाइफाइटको मिश्रण भएको अनुभूति भइरहेको थियो।’

एक सातापछि स्वास्थ्यमा केही सुधार आएको महसुस गरेसँगै उनले कोरोना भाइरस संक्रमण परीक्षण गरेका थिए। रिपोर्ट पोजेटिभ आएपछि उनको अनुमान सही भएको थियो। ‘कोरोना भाइरस संक्रमण भएपछि नेपालमा फोन गरेर परिवारलाई सामान्य रूपमा लिन आग्रह गरें,’ उनले सुनाए, ‘योसँग डराएर घृणाको विषय बनाउनुपर्छ जस्तो लाग्दैन। यो भाइरस जसलाई पनि सर्न सक्छ भनेर परिवारलाई बुझाएँ। कमजोर मान्छेलाई अझ गाह्रो हुने रहेछ। मभन्दा गम्भीर प्रकृतिका संक्रमितको अवस्था सम्झेर उनीहरूले गरिरहेको संघर्षको अनुभवको कल्पना गर्न सक्छु। कोरोना भाइरस संक्रमणसँग जुध्न आत्मबल महत्वपूर्ण हुने रहेछ। मेरोजस्तो लक्षण देखिए अस्पताल जाँदा वा स्वास्थ्यकर्मीको सुझाव लिँदा राम्रो हुन्छ।’

कलाकार पराजुली अहिले साथीहरू क्वारेन्टाइनमा बसेर आराम गरिरहेका छन्। पूर्ण रूपमा निको भएर आगामी असोज १८ मा नेपाल फर्कनेमा उत्साहित छन्। पराजुलीजस्तै कलाकार तथा नेपाल वायुसेना निगमका क्याप्टेन विजय लामा पनि हाल आइसोलेसनमा बसिरहेका छन्। उनीहरू गायक प्रेमराजा महत, भोला रिजाल र अभिनेत्री निरिशा बस्नेतलगायत कलाकारलाई कोरोना भाइरस संक्रमण भएको थियो। त्यस्तै कोरोना भाइरस संक्रमण भएको आशंकामा केही कलाकार र प्राविधिकहरू सेल्फ आइसोलेसनमा बसिरहेका छन्।

प्रकाशित: ७ आश्विन २०७७ ०१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App