१२ कार्तिक २०७७ बुधबार
समाज

‘अन्तिम दिनबाट फर्केर आएँ’

डा. ध्रुव गैरे

चिकित्सा सेवामा १६ वर्ष बिताएका वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. ध्रुव गैरेले आफूलाई कोरोना संक्रमण होला भनेर सोचेका थिएनन्। एन ९५ मास्क, सेनिटाइजर सधैं लगाएकै हुन्थे। संक्रमण भइहाले पनि उमेरकै छु, के नै त होला भन्ने आत्मविश्वास थियो।

साउनको दोस्रो साता उपत्यकामा पहिलो पटक लकडाउन खुल्यो। डा. गैरै निर्धक्क बिरामीको सेवामा तल्लीन थिए। साउनको तेस्रो साता पखाला लाग्ने, बान्ता हुने, खानाको स्वाद नहुने लक्षण देखिए। साउनको २२ गते कडा ज्वरोमा आयो, जसले उनलाई शिथिल बनायो। आफैं फिजिसियन डाक्टर, लक्षण थपिँदै गएपछि उनलाई कोरोना लागेको शंका भयो। अनि उनले परिवारका सदस्यलाई आफ्नो नजिक नबस्न भने। चिकित्सक पेसामै रहेकी पत्नी डा. रश्मि बस्ताकोटीलाई आफू अस्पताल भर्ना हुनुपर्ने अवस्थामा रहेकाले दुईजोर लुगा पनि तयार पार्न भने। राति नै वीर अस्पतालको एम्बुलेन्स बोलाएर आकस्मिक कक्षमा पुगे। त्यहाँ जुनियर सहकर्मी चिकित्सकहरु थिए। पुग्नेबित्तिकै आफ्नो उपचार गर्दा शंकास्पद कोरोना संक्रमितको रुपमा व्यवहार गर्न सिकाए। ‘उनीहरु पनि सावधानीका साथ उभिए म पनि एन ९५ मास्क लगाएरै गएको थिएँ’, डा. गैरेले भने।

उनले पहिले रगत, पिसाबको परीक्षण र एक्सरे गर्न सुझाए। त्यही अनुसार परिक्षण भयो। ‘कोरोना, जन्डिस, डेंगी, मलेरिया भएजतिका सबै रोगको परिक्षण गर्न लगाएँ’, उनले भने। अस्पताल पुग्नेबित्तिकै हातमा क्यानुला लगाउने बेलामा बेहोस भए। उनी होसमा आउँदा चारैतिरबाट डाक्टरले घेरेका थिए। उनी आफैं उभिएर एक्सरे गर्न तयार भए।

कोरोनाको रिपोर्ट पोजेटिभ आयो। उपलब्ध सीमित उपचार विधि र परिवारको चिन्ताले उनको मनभरि प्रश्न भरिए। ‘कोरोनाको उपचार साँघुरो छ, अब के त ? परिवारका सदस्यलाई भयो भने कसले हेरचाह गर्छ ? म अनुत्तरित भएँ’, उनले त्यो दिन सम्झिँदै भने।

तत्कालै परिवारका सदस्यलाई वीरमा बोलाएर पिसिआर परीक्षण गरियो। सबैको नेगेटिभ रिपोर्ट आयो। यसले डा. गैरेलाई केही ढाडस मिल्यो। तर आफूमा पटकपटक सिटामोल खाँदा पनि ज्वरो घटेको थिएन। हुँदाहुँदै अक्सिजन घट्यो। भर्ना भएको दोस्रो दिन शरीरमा अक्सिजन कम हुँदै गयो। समस्या थपिएपछि टिचिङका क्रिटिकल केयर चिकित्सक डा. सुभाष आचार्यलाई फोन गरे। डा. सुभाषाले ९२ भन्दा कम अक्सिजन आएमा अक्सिजन लगाउन, पानी कम खान र घोप्टो परेर सुत्न सुझाए।‘ घोप्टो परेर सुत्दा अक्सिजन बढ्ने भएकाले घोप्टो परेर सुत्थें’, डा. गैरेले भने। तैपनि आँखा कमजोर हुने, स्वाँस्वाँ बढ्न थाल्यो। त्यति बेलासम्म वीर कोभिड अस्पताल बनेको थिएन। डा. गैरेले टिचिङ जाने सोच बनाए, डा. सुभाषलाई फोन गरे र टिचिङ अस्पताल पुगे।

डा. गैरेका अनुसार भाइरसले आफूलाई बचाउन स्वरुप परिवर्तन गर्ने भएकाले नेपालमा दोस्रो चरणमा देखिएको कोरोना भाइरस पहिलेको भन्दा भिन्न छ। यसले वृद्धमात्र नभई युवालाई पनि गम्भीर अवस्थामा पु-याएको देखिन्छ।

टिचिङका कोभिड चिकित्सकले कोरोनासहित निमोनिया भएको बताए। अक्सिजन घट्दै गयो। रक्तचाप घट्ने, निमोनिया, ज्वरो, श्वास फेर्न गाह्रो हुँदै बिस्तारै कान नसुन्ने र आँखा धमिलो देख्ने समस्या थपिँदै गए।

असह्य भएपछि एन्टिभाइरल औषधि रेमडिसिभिर चलाउने निधो भयो। नेपालमा यो औषधि आइसकेको थिएन। रातारात भारतको रक्सोलमा एमबुलेन्स पठाइयो। महँगो मूल्यमा औषधि पाइयो तर आधा डोजमात्र। शरीरमा निमोनिया बढ्दै गयो, अक्सिजन घट्दै गयो। त्यसपछि चिकित्सकले ननइन्भाजिभ भेन्टिलेटर (फोक्सोमा पाइप जडान गर्नुनपर्ने भेन्टिलेटर) बाट ६० लिटर प्रतिमिनेट अक्सिजिन दिए।

हुँदाहुँदै चारवटा अंगमा असर गरेको (मल्टिअर्गान डिस्फंक्सन) रिपोर्ट आयो। डा. गैरे शिथिल बन्दै गए। ‘नर्सले बेसुर हुनुभएको छ भनेको सुनें, मैले घरि खाटको पलङमा डिल छाम्थें, घरी अरु’, उनले भने। मिर्गौलाले काम गर्न छोडेर पिसाब तेलजस्तो हुन थालेको थियो। अक्सिजन घटेर ६२ पुग्यो, चिकित्सकले भेन्टिलेटरमा लैजाने तयारी गरे। डा. गैरेले प्लाज्मा थेरापी सम्झे। प्लाज्मा नपाए भेन्टिलेटरमा जाने सोच बनाए। उनलाई थाहा थियो, भेन्टिलेटरमा गएका बिरामीको १० प्रतिशतमात्र बाँच्ने सम्भावना हुन्छ। ‘म जीवनभन्दा पनि सजिलो के भन्ने रोज्ने स्थितिमा पुगेको थिएँ’, उनले रुँदै भने।

यही अवधिमा डा. रश्मिले दाता खोजेर प्लाज्मा जुटाइसकेकी थिइन्। नर्सले प्लाज्मा दिँदा चार घण्टा घोप्टो परेर सुत्नुपर्ने बताए। चार घण्टा लगाएर प्लाज्मा थेरापी गरेपछि श्वास फेर्न अलिक सजिलो भयो। डा. गैरेको मनमा आशा पलायो। भोलिपल्ट बिहान १० प्रतिशत समस्या कम भयो। भर्ना भएको दसौं दिन पुनः कोरोना परीक्षण भयो। रिपोर्टमा कोरोना नेगेटिभ आयो तर कोरानाले जन्माएका समस्या सकिएका थिएनन्। चिकित्सकले आइसियुबाट पोस्टअपरेटिभ वार्डमा सार्ने निधो गरे। १० दिनपछि आइसियुबाट बाहिर निस्कँदा गैरेले नयाँ संसार देखेको अनुभव गरे। ‘बाहिर हरियाली, संसारै अर्कै देखें’, उनले भने। पोस्टअपरेटिभ वार्डमा तीन दिन बितेपछि थप संक्रमण नहोस् भनेर डाक्टरले क्याबिनमा सारे।

पोस्टअपरेटिभ वार्डबाट क्याबिनमा जाने क्रममा फेरि बाहिर हेरे, नीलो आकाश थियो, शीतल हावा चलेको देखे। ‘मलाई दुनियाँ नै अर्कै लाग्यो, नीलो आकाश, शीतल हावा देख्दा यस्तो लाग्यो कि मैले नयाँ संसार देखिरहेछु’, उनले आँसु पुछ्दै भने। उनले नागरिकसित कोरोना उपचारको यात्रा सुनाइरहँदा नजिकै बसिरहेका वृद्ध बुवा–आमा पनि आँसु पुछिरहेका थिए। पेसाले आफैं चिकित्सक, शरीरमा केके हुँदैछ भन्ने सबै थाहा पाइरहेका हुन्थे। अन्य कोरोना बिरामीको भन्दा उनको अनुभूति फरक थियो। सबै कुरा आफैंले थाहा पाउँदा डरको रोग पनि थपियो।

क्याबिनमा बस्दै जाँदा अक्सिजन घट्ने समस्या कायमै थियो। १८ औं दिनमा चिकित्सकले सिटिस्क्यान गरे। फोक्सोमा कोरोनाको असर परेको रिपोर्ट आयो। यस अवधिमा उनलाई अक्सिजन दिइरहेका थिए। चिकित्सकले अस्पतालको लामो बसाइमा अन्य संक्रमण बढ्ने डरले १८ दिनपछि घर पठाउन निधो गरे। तर डाक्टर गैरै अक्सिजनबिना बस्ने अवस्था थिएन। घरमा पत्नी नै डाक्टर भएकोले अस्पतालले अक्सिजन र सुई घरमै लगाउने गरी डिस्चार्ज ग¥यो।

डिस्चार्जपछि उनी सीधै वीर असपताल पुगे, पुनः कोरोना परीक्षणका लागि आफ्नो र पत्नीको स्वाब दिए अनि घर गए। रिपोर्ट नेगेटिभ आएपछि मात्र परिवारका सदस्यको नजिक बस्न थाले। घरमा पुगेको एक सातापछि दिनमा अक्सिजन तीनतीन घण्टोका दरले घटाउँदै गए। दुई सातापछि दिनमा अक्सिजन लगाउन छोडे। डेढ महिना बित्यो, राति भने अक्सिजनबिना सुत्न सक्दैनन्।

फोक्सोको फिजियोथेरापी गर्ने, अन्य संक्रमण हुन नदिन स्ट्रोइड औषधि लिइरहेका छन्। दैनिक पोषिलो खानु, परिवारसँग कुरा गर्नु र फुर्सदमा इन्टरनेटमा कोरोना उपचारका बारेमा अध्ययन गर्नु उनको दैनिकी बनेको छ। आफन्तबाट आउने फोन र स्वास्थ्यलाभका कामनाले छुट्टै माया पाएको अनुभूति गरेका छन्। ‘म अस्पतालमा बस्दा बिरामीका हजारौं फोन र सन्देश आउँथे, जुन म्यासेज मेरा लागि बाँच्ने भरोसा बन्थे’, उनले भने, ‘म जीवनको अन्तिम दिनको मुखबाट फर्केर आएको हुँ।’

यति बेला उनमा कोरोनाबारेको धारणा परिवर्तन भएको छ। उनी भन्छन्, ‘कोरोनाले युवालाई केही गर्दैन भन्ने पनि हल्ला हो। हल्लाको पछि नलागौं। सरकारले भनेका तीनवटा मापदण्ड पालना गरे मात्र बाँच्न र बचाउन सकिन्छ।’

डा. गैरेका अनुसार भाइरसले आफूलाई बचाउन स्वरुप परिवर्तन गर्ने भएकाले नेपालमा दोस्रो चरणमा देखिएको कोरोना भाइरस पहिलेको भन्दा भिन्न छ। यसले वृद्धमात्र नभई युवालाई पनि नछोडेको देखिन्छ। यो भाइरसले कसलाई कति असर गर्छ भन्ने कुरा पहिला नै थाहा नहुने भएकाले रोग लागेर उपचारमा जानुभन्दा रोगै लाग्न नदिनु उनको सुझाव छ। तर कतैबाट संक्रमणको लक्षण देखिएमा ढिला नगरी अस्पताल जान उनले सुझाए। ‘छिटो उपचार गरेमा निको हुन सकिन्छ’, उनले भने।

प्रकाशित: ७ आश्विन २०७७ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App