coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हाइड्रोको पाइपबाट पानी चुहिँदा बस्ती जोखिममा

इलामको माबुस्थित अप्परमाई जलविद्युत् आयोजनाको पावर हाउस। तस्बिर: भीम/नागरिक

जलविद्युत्को पावर हाउससम्म पानी ल्याइएको पेनस्टक पाइप फुटेपछि सन्दकपुर गाउँपालिका–४, माबुको एउटा बस्ती नै जोखिममा परेको छ। अप्परमाई जलविद्युत् आयोजनाको पाइप फुटेर पानी बाहिर आएपछि यहाँको करिब सय मिटर दूरीको भू–भाग नै तल सरिसकेको छ।  

जमिन धाँजा फाटेर सरेपछि स्थानीय ५ घर परिवार विस्थापित हुने अवस्था रहेको सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले बताए। स्थलगत अनुगमन गरेर फर्केका अध्यक्ष राईले तत्काल पाइप मर्मत नभए वडाको करिब आधा संख्याका घरहरू रहेको सोमबारे बजार नै जोखिममा पर्ने बताए। ‘अहिले नै जोखिममा परेका ५ घर–परिवारलाई चाहिँ सुरक्षित रहन भनिसकेका छौं,’ अध्यक्ष राईले भने, ‘पाइपबाट चुहिएको पानीका कारण जमिन नै करिब १० फिट तल सरिसकेछ।’  

जोखिममा रहेका परिवारलाई कसरी सुरक्षित गर्ने भन्नेबारे जिल्ला विपद् व्यवस्थापन समितिसँग पनि छलफल गरिएको अध्यक्ष राईले बताए। ‘थप क्षति हुनुअघि नै स्थानीयलाई सुरक्षित गर्न गाउँपालिकाले आफ्नो जिम्मेवारी निर्वाह गर्छ। प्रमुख जिल्ला अधिकारीलाई पनि यसबारे जानकारी गराइएको छ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले जोखिमबाट स्थानीयलाई जोगाउने र जलविद्युत् आयोजनाको प्राविधिक रिपोर्टसमेत अध्ययन गर्ने बताए। ‘सुरुमा त स्थानीय विपद् व्यवस्थापन समितिसँगको समन्वयमा जोखिमबाट बचाउने काम नै हुन्छ,’ उनले भने, ‘तर, त्यहाँको भौगोलिक अवस्थाको कसरी अध्ययन गरिएकाले अहिले जोखिम बढेको हो भन्ने चाहिँ हामी खोजी गर्छाैं।’  

पञ्चकन्या हाइड्रो पावर प्रालिले प्रवद्र्धन गरेको १२ मेगावाटको अप्पर माईले २०७३ असार ९ र ६.२ मेगावाटको माथिल्लो माई सी आयोजनाले ०७४ साउन ९ देखि विद्युत् उत्पादन गरिरहेका छन्।  

प्रकाशित: ६ आश्विन २०७७ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App