१६ चैत्र २०८० शुक्रबार
समाज

अब लक्षण देखिएकाको मात्र पिसीआर परीक्षण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले अबदेखि कोरोनाको लक्षण देखिएकाहरुको मात्रै पिसीआर परीक्षण गर्ने भएको छ । प्रदेश स्तरिय एक मात्र सरकारी अस्पतालले अबदेखि लक्षण नदेखिएकाको पिसीआर परीक्षण नगर्ने भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सर्कुलर अनुसार नै आफूहरुले कोरोनाको लक्षण नदेखिएकाहरुको पिसीआर परीक्षण नगर्ने निर्णय गरेको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । उनले अबदेखि पिसीआर परिक्षणका लागि बहिरङ्ग विभाग र फिभर क्लिनिकमा खटिएका चिकित्सकले जाँच गर्दा कोरोनाको लक्षण देखिएको पाइएमा मात्र अस्पतालको प्रयोगशालामा पिसीआर जाँच गरिने बताए । 

'अब हामी पहिलेजस्तो शंका लागेका सबैको पिसीआर जाँच्दैनौं,‘उनले भने,‘फिभर क्लिनिकमा आएर जचाउँदा त्यहाँ खटिएका चिकित्सकले कोरोनाको लक्षण देखिएको प्रमाणित गरेपछि मात्रै पिसीआर परीक्षण गर्छौं ।’ अस्पतालको एकल निर्णय नभई मन्त्रालयले लक्षण नभएकाहरुको पिसीआर परीक्षण नगर्न भनेर सर्कुलर गरेअनुसारै आफूहरुले लक्षण भएकाहरुको मात्रै परीक्षण गर्न थालेको उनको भनाई छ ।

अस्पतालले लक्षण नभएकाहरुको पिसीआर परीक्षण आफ्नोमा नभएपनि अन्य ठाउँबाट हुने भएकाले त्यहाँ सम्पर्क गर्न नागरिकमा अनुरोध गरेको छ । अस्पतालले कन्ट्याक ट्रेसिङमा परेका, लक्षण नभएपनि होम आइसोलेसनमा बसेका, ट्राभल हिस्ट्री भएकाहरुले पिसीआर जाँचका लागि आफ्नो बसोबास रहेको पालिका तथा वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ । साथै स्वेच्छाले पिसीआर परीक्षण गर्न चाहेमा अस्पतालको फिभर क्लिनिकमा सम्पर्क गर्नसमेत अस्पतालले आम नागरिकमा आग्रह गरेको छ ।

गण्डकी प्रदेशमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहित प्रदेश सरकार मातहतको प्रदेश क्षयरोग उपचार केन्द्रमा पिसीआर परीक्षण गर्ने गरिएको छ ।

हालसम्म प्रदेशमा ६४ हवा १५९ जनाको नमूना परीक्षण गरिएकोमा ६० हजार ६ सय ३६ जनाको नतिजा नेगेटिभ आएको छ भने ३ हजार ५ सय २३ मा संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये २ हजार २ सय ६८ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने हाल १ हजार २ सय २३ जना सकृय संक्रमित छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोनाले ३२ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित: ६ आश्विन २०७७ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App