coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि

विपद् व्यवस्थापन कार्यक्रममा सहभागी सिगास गाउँपालिकाका जनप्रतिनिधि । तस्बिरः बिरा/नागरिक

विपद् पूर्व तयारी नहुँदा जिल्लामा विपद्का घटना बढन थालेपछि स्थानीय जनप्रतिनिधि जागरुक हुन थालेका छन्। बाढी, पहिरो आगलागी लगायतका विपद्ले बर्सेनि धनजनको क्षति गर्न थालेपछि विपद् व्यवस्थापन योजना बनाउन थालेका हुन्। विपद् व्यवस्थापन, संरक्षण, आपतकालिन स्वास्थ्य र कोभिड–१९ बारे स्थानीयलाई जागरुक गराउन आवश्यक भएकाले स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी अग्रसर हुन थालेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए।

जनप्रतिनिधिले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई मुख्य सरोकारको रुपमा अघि बढाउनुु पर्ने दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापाले बताए। नगरपालिकाले विपद् व्यवस्थापन योजना बनाएर विपद् न्यूनीकरणका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ। विपद् व्यवस्थापनका लागि नगरस्तरीय विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समितिलाई समेत सक्रिय बनाइएको मेयर थापाले बताए।

विपद् जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत् सञ्चालित बालविवाह अन्त्यको लागि रुपान्तर कार्यक्रमले स्थानीय विपद् व्यवस्थापन समितिलाई एक दिने अभिमुखीकरण कार्यक्रम दिएपछि विपद् व्यवस्थापन योजना बनाउन अग्रसर भएको सिगास गाउँपालिकाका अध्यक्ष धामीले बताए। व्यवस्थापनको योजना नहुँदा विपद् न्यूनीकरणका क्रियाकलाप प्रभावित भएकाले योजना बनाएर अघि बढने उनले जानकारी दिए। दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिकाका र शिवनाथ गाउँपालिकाका विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण दिन लागिएको कार्यक्रम संयोजक कमलापति भट्टले बताए।

बस्ती व्यवस्थापन, वडावडामा बहुप्रकोप नक्सांकन, आपतकालीन कोष, पूर्वसूचना प्रणाली व्यवस्थापन, ग्रामीण अर्थिङ प्रणाली तथा सडक निर्माण मापदण्डलगायतका योजना बनाउन आवश्यक भएको दशरथचन्द नगरपालिकाका विपद् फोकल व्यक्ति बिनोदबहादुर चन्दले बताए। ‘यस नगपालिकामा पटकपटक विपद्ले क्षति पुर्‍याउने गरेकाले हामी यस विषयमा गम्भीर छौं,’ उनले भने, ‘त्यस क्षतिलाई न्यूनीकरण गर्न विभिन्न योजना बनाएर अघि बढेका छौं।’                                     

प्रकाशित: ६ आश्विन २०७७ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App