coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

'सम्पदा जोगाऔ' महाअभियानमा युवाहरु

भक्तपुरको चाँंगुनारायण नगरपलिका वडा नं १० बाचामारीमा अवस्थित युवाले सफा गरेको ऐतिहासिक पाटी पहिले र अहिले ।

युवाहरुको एक समूह काठमाडौंका ऐतिहासिक सम्पदाहरु जोगाउने महाअभियानमा जुटेका छन्। सम्पदा जोगाऔं महाअभियान नाम राखी उनीहरु सम्पदा जोगाउन लागिपरेका हुन्। त्यसको नेतृत्व काठमाडौका रैथाने यादवलाल कायस्थले गरिरहेका छन्।  

महाअभियानका संयोजक कायस्थ सामाजिक सञ्जाल फेसबुकको प्रयोयबाट आफूहरु सहयोगी हातहरुको सहयोगमा सम्पदा जोगाउने महाअभियानमा लागिपरेको बताउँंछन्। 'हाम्रो कुनै निश्चित समूह छैन, सामाजिक सञ्जाल फेसबुकको आह्वानबाट जो जो हामीसँंग हात जोड्न आउँंछन् तिनै हाम्रो समूह हो, उनले भने, त्यसकारण हामीले संयोजक बाहेक अरु कुनै पदाधिकारी पनि बनाएका छैनौं।'

महाअभियानका संयोजक कायस्थ घरबाट विद्यालयसम्म हिँड्दै जाँदा बाटोमा धेरै सार्वजनिक धारा देख्थे। त्यस बेलासम्म प्रायः सार्वजनिक धाराहरुमा पानी बगिरहन्थ्यो। मनमोहक लाग्यो उनलाई त्यो दृश्य। साथै घरबाहिर निस्कने बित्तिकै देखिने सम्पदाले उनलाई यस क्षेत्रको संरक्षणका लागि प्रेरणा दियो।

विशेष गरी ती युवाहरु सार्वजनिक पाटी, ढुंगेधारा, इनारलगायतका पानीको प्राकृतिक स्रोत संरक्षण र उत्खननमा लागिरहेका छन्। सरकारले मेलम्ची ल्याउँछु भनेर भनेर वर्षौँ बिताएको तर त्यति नै समय हिटी (ढुंगेधारा) संरक्षणमा लगाएको भए अहिलेको जस्तो पानीको हाहाकार नहुने मत उनीहरुको छ।

हिजोआज भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं १० को ऐतिहासिक सार्वजनिक पाटी अनि सूर्यविनायक नगरपालिका वडा नं ९ बाचामारीस्थित ऐतिहासिक ढुंगेधाराको उत्खननमा भेटिएका उनीहरुले यस्तो सम्पदाहरुको पुनर्निर्माण गर्न सके वास्तविक काठमाडौं उपत्यकाको पहिचान झल्किने बताउँंछन्। यहाँं बिकासका नाममा यस्ता ऐतिहासिक सम्पदाहरु धमाधम नष्ट गरिरहेका छन्, उनीहरुको एउटै आवाज थियो, यसले एकातिर काठमाडौं उपत्यकाका पहिचानलाई नष्ट गर्दै आएको छ भने अर्काेतिर विविध समस्या पैदा गर्दै आएको छ।  

उनीहरुको यो समूहले काठमाडौ, ललितपुर, भक्तपुरलगायतका दर्जनौं सार्वजनिक पाटी, ढुंगेधारा, इनार, मठमन्दिरलाई जोगाउने काम गरिरहेका छन्। यो समूहले पहिलो पटक  ललितपुरको लगनखेलबाट सातदोबाटो जाने बाटोको बायाँ भागतिर बटुक भैरवको मन्दिर जिर्णाेद्धार थालेका थिए। बाटो विस्तारको क्रममा मन्दिरको क्षेत्रलाई समेत भत्काउने तयारी गरिएकोमा उनीहरुको प्रयासले त्यो जोगिएको थियो। यहीबाट थालनी भएको उनीहरुको अभियानलाई कोरोनाले पनि रोक्न सकेको छैन।  

कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउन र हालको निषेधाज्ञामा पनि उनीहरु सम्पदा संरक्षणमा लागिरहेका छन्। उनीहरुलाई साथ दिइरहेका छन्, सम्पदाको महत्व बुझेका युवायुवतीले।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सडक विस्तारले काठमाडौँ उपत्यकामा रफ्तार लियो। धेरै घर भत्किए। सम्पदा मासियो। त्यसबेला सडक विस्तारविरुद्धको आन्दोलनमा उनीहरु पनि सामेल भएका थिए।

अभियानमा जोडिएकी भक्तपुरकी श्रीना प्रजापतिले यहाँंका एकजनाले सभाषद्ले विकास भनेको यस्ता ऐतिहासिक सम्पदालाई बेवास्ता गरेर भत्काई सडक विस्तार गर्नु मात्रै विकास बुझेको बताइन्। 'यो अल्पज्ञानी हो, विकासको अर्थ सयौं वर्ष पुरानो सम्पदा भत्काई सडक विस्तार गर्नु मात्रै होइन,' उनले भनिन्।  

उनीहरुको यो अभियानका लागि धेरै एनजीओ, आइएनजीओहरुले सहयोग गर्न आएपनि आफूहरुले नलिएको समूहले दावी गरेको छ। आफ्नै खल्तीबाट खर्च गरेर अभियान सञ्चालन गरिरहेको उनीहरुले बताए।

प्रकाशित: ६ आश्विन २०७७ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App