उदयपुरका प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई (हिमाल) ले आफ्नो निर्वाचन क्षेत्रका गरिव, दलित, बिपन्न तथा बिपतमा परेका नागरिकको घरमा छाना हाल्न जस्तापाताको व्यवस्था गरेका छन्। प्रत्यक्षतर्फ निर्वाचिन सांसद राईले संघीय बजेटमार्फत आफ्नो निर्वाचन क्षेत्र २ का १ नगरपालिका र ४ गाउँपालिक हरियो जस्ता पाताको छानो हाल्ने कार्यक्रम अघि सारेका हुन्।
जस अनुसार चालुवर्ष कटारी नगरपालिकाका ४ सय ४३ परिवारको घरमा हरिया जस्ता पाताको छानो हालिने भएको छ। त्यस्तै, उदयपुरगढी गाउँपालिकाका ३ सय ८३ परिवार, ताप्ली गाउँपालिकाका २ सय ९१, रौतामाई गाउँपालिकाका ३ सय ४४ र लिमचुङबुङ गाउँपालिकाका २ सय ७६ परिवारको घरमा जस्ताको छाना हाल्ने कार्यक्रम तय भएको छ।
नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिवसमेत रहेका सांसद राईले गरिव, दलित, बिपन्न र बाढी पहिरो तथा आगलागीबाट घर गुमाउन पुगेका परिवारलाई लक्षित गरी यो कार्यक्रम अघि सारेको बताए। त्यस्ता वर्गका नागरिकलाई दीगो बसोबास गराउने उद्देश्यले हरिया जस्ता पाताको छानो हाल्न संघीय सरकारमार्फत बजेट विनियोजन गरिएको उनले बताए। अघिल्लो वर्ष पनि सांसद राईले आफ्नो निर्वाचन क्षेत्रको सबैभन्दा बिकट गाउँपालिका लिमचुङबुङका २५ परिवारलार्य परीक्षणस्वरुप हरियो जस्ता पाताको छानो हाल्ने कार्यक्रम सञ्चालन गरेको बताए।
सो कार्यक्रम प्रभावकारी देखिएको र सफल भएको पाइएपछि यसको निरन्तरताका लागि चालुवर्ष आप्mनो निर्वाचन क्षेत्रमा पर्ने ५ वटै स्थानीयतहमा छानो हाल्ने कार्यक्रम गर्न आवश्यक बजेट व्यवस्था गरेको राईले बताए। सांसद राईले जस्ताको छाना हाल्ने कार्यक्रममा स्थानीय तहहरुसँग समन्वय र साझेदारी गर्न समन्वय गरिने बताए। स्थानीय तहहरुकै समन्वय र साझेदारीमा गरिने काम प्रभावकारी र फलदायी हुने भएकाले संघीय सरकारको बजेट परिचालनमा उनीहरुको साझेदारी आवश्यक देखिएको राईको भनाई छ।
राईको निर्वाचन क्षेत्र उदयपुर २ मा पर्ने कटारी नगरपालिकाबाहेक बाँकी ४ स्थानीय तहको भूगोल बिकट र पहाडी भेगमा पर्छ। कटारी नगरपालिकाकै पनि १० मध्ये केही सीमित वडाबाहेक बाँकी अनकन्टार, विकट र विकास पूर्वाधारबाट वञ्चित रहँदै आएको पहाडी भेगले समेटिएको छ। जसमध्ये लिमचुङबुङ गाउँपालिका ‘कर्णाली’कै नामले परिचित छ भने ताप्ली गाउँपालिका पनि बिकटमै पर्छ। सदरमुकामसँग सहज पहुँचभन्दा बाहिरै रहेका यी दुई गाउँपालिका पहाडै पहाड र विकट भू-भागले समेटिएकाले सदरमुकामसँग कच्ची सडकले मात्र जोडिएका छन्। तर, वर्षायाममा हिलो र पहिरोले सडक बिगार्ने हुँदा वर्षेनी ६ महिनाभन्दा बढी समय यातायात आउजाउ रोकिने गरेको छ।
गतवर्ष साउन पहिलो साताको अविरल वर्षाले सबै सडक भत्काएपछि दुवै गाउँपालिकामा प्राकृतिक नाकाबन्दी भएर ३ महिनासम्म सदरमुकाम र यातायात सम्पर्क हुनबाट विच्छेद भएका थिए। वर्षा र बाढी पहिरोले प्राकृतिक नाकाबन्दीमा परेपछि ती गाउँपालिकाका जनतालाई उपभोग्य सामग्रीको जोहो गर्न प्रदेश सरकारले हेलिकोप्टरमार्फत चामल, दाललगायत राहत सामग्री सहयोग गर्नु परेको थियो।
प्रकाशित: ६ आश्विन २०७७ ०९:४५ मंगलबार