६ वैशाख २०८१ बिहीबार
समाज

अस्ताए हिमचितुवा

कृत्रिम अक्सिजनबिना १० पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर ‘हिमचितुवा’ उपनाम पाएका आरोही आङ्रिता शेर्पाको निधन भएको छ । राजधानीको जोरपाटीस्थित छोरीको निवासमा ७२ वर्षको उमेरमा सोमबार उनको निधन भएको हो । उनी दुई दशकदेखि कलेजो र केहीवर्षदेखि मस्तिष्कको रोगबाट ग्रसित थिए । ‘नेपालमात्र नभएर विश्व पर्वतारोहण जगत्ले ठूलो पर्वतारोही गुमाएको छ,’ विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य आङ्छिरिङ शेर्पाले भने, ‘पर्वतारोहण र हिमाली क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदान अविस्मरणीय छ । उहाँको निधन हिमाली क्षेत्रका लागि ठूलो क्षति हो ।’

स मा सोलुखुम्बुको थामेमा जन्मिएका आङ्रिता पुख्र्यौली चौंरीपालन पेसा छाडेर हिमाल आरोहणमा लागेका थिए । १५ वर्षको उमेरमा भरियाका रूपमा पर्वतारोहण पेसा थालेका उनले पहिलोपटक २० वर्षको उमेरमा चोयु हिमालको सफल आरोहण गरेका थिए । त्यसलगत्तै उनी अक्सिजनबिना सगरमाथा आरोहण गर्नेतर्फ केन्द्रित भएका थिए । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्षसमेत रहेका आङ्छिरिङका अनुसार आङरिताले ३७ वर्षअघि सन् १९८३ मा नेपाली भेग (दक्षिणपूर्वी धार) बाट पहिलोपटक कृत्रिम अक्सिजनबिना सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । ‘उहाँमा रेकर्ड राख्ने सोच थिएन,’ आङ्छिरिङले भने, ‘उहाँले सुरुआती दिनमा मलाई अक्सिजन लगाउन आवश्यकता छैन । कुनै समस्या छैन भन्नुहुन्थ्यो । अक्सिजन भारी हुन्छ र मैले मेरो साथमा जाने अरू आरोहीलाई पनि सघाउनुपर्छ भन्ने गर्नुहुन्थ्यो ।’

त्यसपछि पनि उनले नौपटक अक्सिजनबिना सगरमाथाको सफल आरोहण गरे । उनले नेपाली भेगबाट सन् १९८४, १९८५, १९८७, १९८८, १९९०, १९९२, १९९३ र १९९६ मा तथा सन् तिब्बती भेगबाट १९९५ मा बिनाअक्सिजन सगरमाथा आरोहण गरेका थिए । सन् १९९६ को सगरमाथा आरोहण नै उनका लागि अन्तिम पर्वतारोहण बन्न पुग्यो । नेपाल पर्वतारोहण संघका मानार्थ निर्देशकसमेत रहेका आरोही आङ्रिताले सगरमाथामा नयाँ विश्व कीर्तिमान कायम गरेपछि पर्वतारोहण क्षेत्रले उनलाई ‘हिमचितुवा’ उपनाम दिएको थियो । उनले विश्वको सर्वोच्च शिखर सगरमाथाबाहेक धौलागिरि, चोयु, मनास्लु, ल्होत्से र पाकिस्तानको माउन्ट केटुलगायत हिमालको समेत सफल आरोहण गरेका थिए ।

‘उहाँ असाध्यै मिलनसार, बलिया र फुर्तिला पर्वतारोही हुनुहुन्थ्यो,’ आङ्छिरिङले स्मरण गरे, ‘बाल्यकालदेखि सहकार्य गर्ने अवसर पाएको हुँदा उहाँबाट धेरै कुरा सिक्ने अवसरसमेत पाएको थिएँ । उहाँ मेरो टाढाको नातेदारसमेत हुनुहुथ्यो । सन् १९८२ मा उमेरले केही वर्ष जेठा उहाँ र मैले धौलागिरि हिमालको सफल आरोहण गरेका थियौं ।’ आङ्छिरिङका अनुसार २० वर्षअघि कलजोसम्बन्धी रोग (लिभर सिरोसिस) देखिएपछि आङ्रिताले पर्वतारोहणलाई निरन्तरता दिन सकेनन् । ‘करिब २० वर्षअघि मेरो आरोहण दलका सदस्यहरूले सोलुमा आफन्तले उहाँको खुन्दे अस्पतालमा उपचार गराएर घर लग्दै गरेको बेला भेटेका रहेछन्,’ उनले भने, ‘काठमाडौं आएर उनीहरूले मलाई सुनाउनेबित्तिकै आफैं जहाजमा म लुक्ला पुगेर उहाँलाई सँगै ल्याई त्रिवि शिक्षण अस्पतालमा तीन महिना उपचार गराएँ । त्यस्तो अवस्थामा समेत उहाँ फेरि हिमाल आरोहणमा जाने कुरा गर्नुहुन्थ्यो ।’

उनका अनुसार साढे चार वर्षअघि आरोही आङ्रितालाई ब्रेन ट्युमर देखिएपछि राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा राखेर उपचार गरिएको थियो । ‘साढे चार वर्षअघि डा. उपेन्द्र देवकोटाले उहाँको मस्तिष्कको शल्यक्रियाका निम्ति ४३ लाख रुपैयाँ खर्च लाग्छ भनेपछि हामी रकम जोहो गर्न लागिपरेका थियौं,’ उनले स्मरण गरे, ‘पछि उहाँको मस्तिष्कमा जमेको पानी सुक्दै गएपछि अस्पतालले शल्यक्रिया गर्नुनपर्ने बताएसँगै घरमा आराम गरिरहनुभएको थियो । लकडाउनअघिसम्म कुराकानी हुँदा उहाँ सामान्य अवस्थामा हुनुहुन्थ्यो ।’

उनको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका आरोही आङ्रिताको निधनले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताएका छन् । प्रधानमन्त्री ओलीले ट्विटरमार्फत दिवंगत आरोही आङ्रितालाई श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका आङ्रिता शेर्पाको निधनले अत्यन्त दुःखित तुल्याएको छ । यस दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदास्मरणीय रहनेछ ।’

आङ्रिताले अक्सिजनबिना लगातार धेरै १० पटक सगरमाथा शिखरमा पुग्ने विश्व कीर्तिमान बनाएका थिए । पछि उनको यो कीर्तिमान तोड्दै आपा शेर्पाले २१ पटकसम्मको कीर्तिमान बनाए । हाल सबैभन्दा बढी २४ पटकसम्म लगातार धेरैपटक सगरमाथा शिखरमा पुग्ने विश्व कीर्तिमान कामिरिता शेर्पाले राखेका छन् । आङरिताले सन् १९८५ मा पहिलो नर्वेली आरोहण दलका टोली नेतालाई आँधी आइरहेको समयमा सगरमाथाको शिखरमा पु¥याएका थिए । त्यस्तै सन् १९८७ र १९८८ को हिउँदमा सगरमाथा आरोहण गर्ने क्रममा उनले एउटा दक्षिण कोरियाली समूहलाई सघाएका थिए । सन् १९९० मा नेपाली सेनाका सदस्य सम्मिलित टोलीलाई सगरमाथा आरोहण गर्न सघाएका उनले सन् १९९९ मा आफ्नो पर्वतारोहण करिअर अन्त्य गर्ने बेलासम्म पुग्दा उनले आठ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण अक्सिजनबिना १८ पटक गरेको बताइन्छ ।

नेपाल पर्वतारोहण संघले आङ्रिताको निधनलाई नेपालको पर्वतारोहण क्षेत्रमा भएको ठूलो क्षति भनेको छ । ‘हिमचितुवा’ का नामबाट परिचित उहाँ हामी सबैको अभिभावक पनि रहँदै आउनुभएको थियो,’ संघका अध्यक्ष सन्तवीर लामाले भने, ‘हामीले नेपालको पर्वतारोहण क्षेत्रका एक नक्षत्रलाई गुमाएका छौं ।’ आरोहीकी छोरी डोमा शेर्पाका अनुसार उपचारका लागि नेपाल पर्वतारोहण संघले मासिक १५ हजार रुपैयाँ सहयोग गर्दै आएको थियो । अन्तिम सम्मान व्यक्त गर्न उनको शव दुई दिन बौद्धस्थित टुसालमा रहेको शेर्पा सेवा केन्द्रको गुम्बामा राख्ने र त्यसपछि बुधबार दाहसंस्कार गर्ने जनाइएको छ । उनका दुई छोरा र एक छोरी छन् । सात वर्षअघि पत्नीको निधन भएपछि उनी छोरीसँग राजधानीमा बस्दै आएका थिए ।

प्रकाशित: ६ आश्विन २०७७ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App