६ चैत्र २०८० मंगलबार
समाज

काठमाडौं जोड्ने वैकल्पिक मार्ग स्तरोन्नती सुरु

तस्बिर : ध्रुव/ नागरिक

जिल्ला सदरमुकाम चौतारादेखि राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दुरीको चौतारा–झ्याडीखोला–सिपाघाट–शालीनदी सडक स्त्तरोन्नति तथा कालोपत्रे सुरु गरिएको छ।  अरनिको राजमार्गको विकल्पसमेत ठानिएको यो सडक स्त्तरोन्नति गर्ने कामको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलालले संयुक्त रुपमा सुभारम्भ गरे। मन्त्री फुयाँलले साबेल र दुलालले एक्साभेटर चलाएर जिल्लाको मध्यभाग छिचोल्दै राजधानी जोड्ने सडक स्त्तरोन्नति सुरु गरेका थिए।  

५६ किलोमिटर लामो यो सडक प्रदेश सरकारको बजेटबाट कालोपत्रे तथा स्त्तरोन्नति थालिएको हो। सडकमध्ये जिल्लाभित्र पर्ने चौतारा–झ्याडीखोला–सिपाघाटमा तीन खण्डमा काम भइरहेको छ। चौतारा–झ्याडीखोला नौ किमी खण्ड स्त्तरोन्नति तथा कालोपत्रको काम डेढ वर्षदेखि भइरहेको छ। आगामी असारभित्र यो खडक खण्डको काम सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर राजु श्रेष्ठले बताए। उनका अनुसार २७ करोड रुपैयाँको ठेक्कामा सोवर्ण निर्माण सेवाले यो खण्डको काम गरिरहेको छ।  

झ्याडीखोलादेखि इन्द्रावती गाउँपालिकाको देउरालीसम्मको १२ किमी सडक कालोपत्रे तथा स्त्तरोन्नतिको काम गत असारदेखि सुरु भइसकेको छ। २९ करोड रुपैयाँ ठेक्कामा प्यासिफिक इन्जिनियरिङ प्रालिले यो खण्डमा काम गरिरहेको छ। आगामी दुई वर्षभित्र यो खण्डको काम सक्ने सम्झौता रहेको सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले जनाए। त्यस्तै देउरालीदेखि सिपाघाटसम्मको चार किमी खण्डमा सडक चौडा, नाला बनाउने तथा ग्राभेल बिछ्याउने काम सकिइसकेको छ। ६ करोड रुपैयाँ लागतमा यो खण्डमा काम भएको हो।  

यी तीनवटै खण्डको लागि आवश्यक बजेट प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले बिनियोजन गरेको हो। बहुवर्षीय योजना अन्तर्गत छोटो दुरीको सडकको काम अघि बढाइएको मन्त्री फुयाँलले बताए। ‘काठमाडौँ जोड्न बाँकी खण्डको कामका लागि अर्को वर्ष बजेट छुट्याउँछौँ,’ उनले भने। चौतारा–झ्याडीखोला–सिपाघाट सडक ट्र«याक २०५१÷५२ तिर खोलिएको थियो। ट्र«याक खोलिएको २५ वर्षपछि यो खण्डको कालोपत्रे तथा स्त्तरोन्नति थालिएको हो।

सिपाघाटदेखि १५ किमी सडक ट्र«याकले काठमाडौँको कात्तिके (शाली नदी) जोडिइसकेको छ। त्यहाँदेखि चावहिलसम्म फराकिलो कालोपत्रे सडक बनिसकेको छ। बाँकी सडक स्त्तरोन्नति तथा कालोपत्रे हुँदा ५६ किमी पार गरेर डेढ–दुई घण्टामै आरामले राजधानी पुग्न सकिन्छ। अहिलेको चौतारा–काठमाडौँ सडक ८१ किमी लामो छ। यो दुरी पार गर्न पूरै चार घण्टा लाग्छ। वैकल्पिक मार्ग सञ्चालनमा आउँदा २५ किमी दुरी छोटिने छ।  

मन्त्री दुलालले छोटो दुरीको यो सडकको काम आगामी प्रदेशसभा निर्वाचन अगावै सक्ने बागमती सरकारको लक्ष्य रहेको बताए। ‘यो सडकले सिन्धुपाल्चोक, काभ्रे र काठमाडौँका प्रदेश निर्वाचन क्षेत्रमा रहेका ग्रामीण बस्तीलाई सिधै जोड्छ,’ उनले भने, ‘बैकल्पिक मार्गका रुपमा यो सडकले धेरै लाभ दिने प्रदेश सरकारको विस्वास छ।’ सिन्धुपाल्चोकका सबैतिरका स्थानीयलाई लाभ दिने यो सडकलाई दोलखा र रामेछापका यात्रुले राजधानी पुग्ने बैकल्पिक मार्गको रुपमा उपभोग गर्न सक्ने मन्त्री दुलालले जानकारी दिए।

प्रकाशित: ५ आश्विन २०७७ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App