४ वैशाख २०८१ मंगलबार
समाज

वीपीको कोभिड अस्पतालमा कोरोनाबाट २ जनाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको निधन भएको छ।

निधन हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिकाका संक्रमित छन्। दुवै जना महिला भएको प्रतिष्ठानले जानकारी दिएको छ। यो सँगै प्रतिष्ठानमा उपचारको क्रममा निधन हुने संक्रमितहरुको संख्या ३० पुगेको छ। प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेचीनगर ८, झापाकी ७२ वर्षीया वृद्धाको हिजो आइतबार राती ९ बजेर २० मिनेटमा निधन भएको हो।  

श्वासप्रश्वासमा कठिन, छाती दुख्ने, न्युमोनियालगायत भएपछि उनलाई कन्काई अस्पताल झापाले वीपीमा रिफर गरेको थियो। उनलाई असोज ४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन वीपीको कोभिड अस्पतालमा भर्ना गरिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए।  

यसैगरि, इनरुवा ४ सुनसरीकी ४९ बर्षीया महिलाको पनि वीपीमा निधन भएको छ। प्रतिष्ठानका अनुसार उनको आज बिहान २ बजे निधन भएको हो। उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या भएपछि ती महिला प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएकी थिइन्। उनलाई मेडिसिन वार्डबाट भदौ ३० गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने असोज १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। दुवैको शव नियमअनुसार व्यवस्थापन गरिएको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए।

 

प्रकाशित: ५ आश्विन २०७७ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App