कोरोना महामारीको जोखिम समुुदायमा बढ्न थालेपछि संक्रमण रोकथामको लागि स्थानीयलाई सरसफाइ सामग्री वितरण गरिएको छ। मेलौली नगरपालिका–८, ९ र पञ्चेश्वर गाउँपालिका–१ का समुदायलाई सरससफाइ सामग्री वितरण गर्न थालिएको हो।
नेपाल रेडक्रस सोसाइटीको समन्वयमा अमेरिकन रेडक्रसको साझेदारीमा सञ्चालित पश्चिम विपद् पूर्वतयारी परियोजना मार्फत् समुदायमा कोरोना भाइरसको संक्रमण रोकथाम र स्वच्छता प्रवर्धनको लागि सरसफाइ सामग्री वितरण गरिएको परियोजनाका फिल्ड संयोजक गोविन्दवल्लभ पन्तले बताए।
कोरोना संक्रमणबाट जोगिन सरसफाइमा विशेष ध्यान दिन आवश्यक भएकाले हातधुने स्टेशन बनाउन परियोजना लागू भएका करिब १ हजार २ सय घरधुरीलाई प्रतिघर २० लिटरको बाल्टी र ४ वटा साबुन वितरण गर्न थालिएको हो। मेलौली नगरपालिका–८, ९ को ६ वटा समुदाय पञ्चेश्वर गाउँपालिकाको–१ को ६ वटा समुदायमा सामुदायिक विपद् तथा जलवायू उत्थानशील समिति मार्फत् सरसफाइ सामग्री वितरण गर्न थालिएको बताइएको छ। विद्यालय, सहकारी र स्थानीय बासीलाई सेनिटाइजर र मास्कसमेत वितरण गरिएको हो।
यस अघि बैतडी जिल्लाका १० वटै स्थानीय तहका क्वारेन्टिनमा कम्मल, पानी ट्यांकी लगायतका सामग्रीसमेत वितरण गरिएको थियो। परियोजना लागू भएका वडाका कोरोना संक्रमितलाई सरसफाइ सामग्री संक्रमित र स्थानीयलाई स्वच्छता प्रवर्धन सम्बन्धी जानकारी र मनोवैज्ञानिक प्राथमिक उपचार सहयोग पनि गर्दै आएको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए।
कोरोना संक्रमण रोकथाममा लागि घरघरमै गएर सामाजिक परिचालक तथा स्वयंसेवकले कोरोना भाइरसबारे सचेतना र बच्ने उपायबारे जानकारी गराउँदै आएको फिल्ड संयोजक पन्तले जानकारी दिए।
प्रकाशित: ४ आश्विन २०७७ ०९:०७ आइतबार