७ वैशाख २०८१ शुक्रबार
समाज

लठ्याउने औषधि खुवाई बलात्कार गर्न खोज्ने धामी पक्राउ

बैवाहिक जीवनमा बाँधिएको धेरै समयसम्म सन्तान नहुँदा विवाहित दम्पतिलाई कति पीडा हुन्छ अरुले कल्पना पनि गर्न सक्दैनन्। एकातिर पारिवारिक तनाव त झेल्नु पर्ने नै हुन्छ अर्कोतर्फ हाम्रो समाजको संकुचित सोचको तनावले झन् पीडा थप्ने गर्छ।  

त्यही पीडालाई कम गर्न कोही लाखौं खर्च गरेर डाक्टर कहाँ जान्छन्, त कोही धामीझाँक्री कहाँ जाने गरेका छन्। सहर बजारका शिक्षित भनिएका मानिसले धामीझाँक्रीलाई विश्वास गर्छन् भने ग्रामीण क्षेत्र अशिक्षितका लागि ठूलो विश्वास नै धामीझाँक्री हो। अहिले पनि धेरै जसो मानिस डाक्टरको दबाइसँगै झारफुक गर्न धामी कहाँ पुग्ने गर्छन्। केही वर्ष पहिलेसम्म सुरुआती उपचार नै धामीझाँक्रीबाट हुने र पछि वैद्यको जाने चलन रहेको थियो। पछिल्लो समय परिवर्तन हुँदै जाँदा धामीझाँक्री कहाँ जाने चलन हराउँदै गएको छ।

कसैलाई विपद् परेको समयमा सहयोग गर्छु भनेर विश्वासघात गर्छ भन्ने कसैले पनि कल्पना गर्दैनन्। धामीले झारफुक गरिदिए सन्तान हुने बताइएपछि विराटनगरकी एक महिला भदौ २५ गते धामी कहाँ गइन्। ती, महिलाको बिहे गरेको लामो समय भए पनि सन्तान हुन सकेको थिएन। तर, झारफुकबाट सन्तान प्राप्ती हुने आशामा महिला धामी कहाँ गएको प्रहरीले बताएको छ। धामीले झारफुकको बाहना बनाउँदै महिलालाई बलात्कारको प्रयास गरेको घटना बाहिरिएको हो।

गाउँघरमा धामीझाँक्रीको काम गर्दै हिँड्ने विराटनगर–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले बलात्कारको प्रयास आरोपमा पक्राउ गरेको जनाएको छ। झारफुक गरेर सन्तान हुने बनाई दिन्छुभन्दै विवाहित महिलालाई रामकै घरमा बलात्कार गर्न खोजेको बताइएको छ।  

‘बिहे गरेको छ वर्षसम्म पनि सन्तान नभएपछि निराश भएकी एक महिलालाई झरफुकबाट ठीक बनाई दिनेभन्दै धामीझाँक्रीको काम गर्ने बौना रामले आफ्नै घरमा बलात्कार प्रयास गरेको खुलेको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘सन्तानको आशमा महिला धामी (राम) कहाँ गएको मौका छोप्न खोजेको पाइयो।’  

झारफुक गर्दै सन्तान हुने बनाई दिन्छन् भनेर आफन्तले भनेपछि महिलाले श्रीमानलाई लिएर धामी रामको घर गएकी थिइन्। त्यसपछि एक लिटर दूधमा खीर पकाउन धामीले भनेपछि महिला आफैले खीर पकाएकी र पाकेपछि श्रीमानलाई खानलाई भनेर खीर दिएर बाहिर पठाइए। आफूलाई पूजा कोठामा लगेर विभिन्न कुरा मिसाएर बनाएको खीर खान दिएसँगै आफ्नो शरीर आलसतालस भएर सबै कुरा राम्ररी थाहा नपाउने अवस्थामा पुगेको र पछि अँगालो हाल्दै आफैले कपडा खोलेर बलात्कार गर्न खोजकोे जानकारी पीडित महिलाले प्रहरीलाई दिएकी छन्।  

धामीको कुकर्म श्रीमानले देखेपछि छरछिमेकीलाई बोलाएका थिए। घटनापछि पीडितले धामी बौना रामविरुद्ध जाहेरी दिएकी छन्। प्रहरीका अनुसार जाहेरीका आधारमा रामलाई पक्राउ गर्दै थालेको प्रारम्भिक अनुसन्धानबाट बलात्कार प्रयास भएको देखिन्छ। पक्राउ परेका रामविरुद्ध जवरजस्ती करणी उद्योगको मुद्दा चलाउन शुक्रबार प्रहरीले म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: ३ आश्विन २०७७ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App