१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भ्यागुते रोगको महारमारीले ४ दर्जन राँगा र भैंसी मरे

सिसौलीमा भेटिएका भ्यागुते रोगबाट संक्रमित भैंसी । तस्बिरः महेश्वर

उदयपुरको बेलका नगरपालिकामा भ्यागुते र चर्चरे रोगको महामारीले झण्डै ४ दर्जन राँगा भैंसी मरेका छन्। पशु चौपायामा एक्कासी फैलिएको महामारीले शुक्रबार साँझसम्म बेलका ८ सिसौली टप्पुक्षेत्रका किसानले पालेका ४० वटा भैंसी र राँगा मरेको स्थानीयले बताएका छन्। सुरुमा घाँटी सुन्निने, नाकबाट लगातार सेतो सिंगान बग्ने, र्‍याल काढ्ने तथा ज्वरों आउने  र घ्यारघ्यार गर्ने लक्षण देखिने भैंसी राँगा रोग लागेको तीनदेखि सातादिनभित्र मर्ने गरेको स्थानीय कृषक झलकमान राईले बताए।  

राईका अनुसार स्थानीय व्यवसायिक भैंसी पालक योगेन्द्रराम तामाङका १३ वटा भैंसी मरेका छन् भने अर्का किसान भरत यादवका ७ वटा र अन्य आधादर्जन कृषकका गोटागन्ती भैंसी राँगा मरेका छन्। किसानले रोगको लक्षण देखिएको सातादिनभित्र राँगा भैंसी मर्ने गरेपछि औषधि उपचारका लागि नगरपालिका गुहारेका छन्।  

रोग देखिएपछि सुरुमा नजिकका पशु औषधि पसल (भेटनरी) बाट प्राविधिक बोलाएर उपचार गराए पनि भैंसी मर्न नरोकिएपछि किसानले वडा कार्यालयमार्फत उपचारको माग गरे। गाउँभरीका राँगा भैंसी भकाभक मर्न थालेपछि बेलका ८ का वडाध्यक्ष जयकुमार राईलाई यसबारे जानकारी गराएको तामाङले बताए। किसानको समस्या सुनेलगत्तै वडाध्यक्ष राईले नगरपालिका पशु शाखामा सम्पर्क गरी उपचारार्थ कृषि प्राविधिक टोली खटाउँदा भ्यागुते र चर्चरे रोग पत्ता लागेको हो।  

नगर कृषि प्राविधिकले भ्यागुते र चर्चरे रोग सरुवा भएकाले भकाभक भैंसी राँगा मरेको जनाएको छ। सरुवा रोग भएकाले अन्य किसानलाई क्षति हुनबाट रोक्न भैंसी राँगा चरणमा नलान तथा अलग्गै गोठ बनाएर राख्न प्राविधिकले सुझाएको नगरपालिकाका प्रेस सल्लाहकार ललित राईले बताए। भ्यागुते र चर्चरे सरुवा रोग भएकाले चरणमा संक्रमितसँग हेलमेल भएमा सर्न सक्ने भएकाले चरणमा नलान सुझाइएको राईले बताए।  

बरु गोठमै बाँधेर राखे रोगले नभेट्ने सुझाव अनुसार अर्का किसान विशाल माझीले आफ्ना ८ वटा भैंसी चरणमा नलगेर कोसीको ठिक्री (कोसी बीचको टप्पु) मा लगेर घाँस पानी गर्न थालेको बताए। ‘गाउँभरीका राँगा भैंसी भकाभक मर्न थालेपछि वडाध्यक्षलाई बोलायौं, उहाँले भनेपछि नगरबाट प्राविधिक सरहरु आउनुभयो’ माझीले भने ‘सरहरुले रोग सरुवा भएकाले सर्न सक्छ भन्दै बस्तीभन्दा टाढा लानु भनेकाले ठिक्री लगेर राखेको छु, अहिलेसम्म मेरा भैंसी विरामी भएका छैनन्।’  

नगरपालिका पशु सेवा कार्यालयले घट्नाको पुष्टि गर्दै सरुवा रोग भएकाले सामूहिक चरणमा नलान र अलग्गै राख्न किसानलाई आग्रह गरेको छ। नगरपालिकाका पशुपंक्षी विज्ञ पुष्प बुढाथोकीले भ्यागुते र चर्चरे रोग फैलिएर यति धेरै संख्यामा भैंसी राँगा बेलकामा मरेको यो पहिलो घटना भएको बताउँदै सिसौली गाउँमा दर्जन हाराहारी संख्यामा रोगी भैंसी र पाडापाडीहरु अझै भएको बताए। उनले रोगी भैंसीको परीक्षण गर्दा भ्यागुते र चर्चरे रोग भन्ने पत्ता लागेको बताए।  

समयमै उपचार गर्न पाए बचाउन सकिनेमा नगरपालिकामा ढिलो सूचना आएर किसानलाई मार्का परेको बुढाथोकीले बताए। ‘समयमै खवर पाएको भए क्षतिबाट रोक्न सपकिन्थ्यो वा कम क्षति हुन्थ्यो’ बढुाथोकीले भने ‘जानकारी ढिला आयो, असोज २ गते खवर पाउनासाथ ६ जना पशु चिकित्सकको टोली फिल्ड पुग्दा धेरै भैंसी मरिसकेछन्।’ बाँकी संक्रमित राँगा भैंसी र पाडापाडीलाई औषधि उपचार गरिएकाले केहीदिनमै निको होलान्। संक्रमण पनि नियन्त्रणमा आउने अपेक्षा उनले गरे। प्राविधिक टोलीले स्थानीय पशुपालक किसानलाई भेला गरेर रोग नियन्त्रण र उपचार बिधिबारे आधारभूत जानकारी पनि दिएको छ।  

बेलका कृषक महासंघका अध्यक्ष तथा नगरप्रमुखका सल्लाहकार नारद निरौलाले कृषकलाई रोगबारे जानकारी गराउँदै समान्य उपचार विधि सिकाइएको बताएका छन्। सिसौली र आसपासका फराकिलो चरिचरण क्षेत्रमा बिभिन्न ठाउँवाट पशु चौपाया चराउन ल्याउने गरिएको भन्दै निरौलाले कतैबाट आएका संक्रमित पशुबाट सरेर महामारी फैलिएको हुनसक्ने अनुमान गरे। बेलकाका सिसौली टप्पु, सोमबारे क्षेत्र, रामपुरको तल्लो भेगका पशु चौपायामा पनि संक्रमण फैलिएको हुनसक्ने भएकाले सचेत हुन नगरपालिकाले किसानलाई आग्रह गरेको छ।

प्रकाशित: ३ आश्विन २०७७ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App