१६ चैत्र २०८० शुक्रबार
समाज

एक सय घरधुरी अन्धकारमा बस्न बाध्य

व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत् सेवा सञ्चालन नहुँदा व्यास नगरपालिका–१४ का ५० र बन्दीपुर गाउँपालिका–६ का ६३ घरधुरी बिगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका हुन्। विद्युत् नहुँदा मोबाइल चार्ज गर्न समस्या हुनुका साथै विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ।

सदरमुकाम दमौलीदेखि करिब १५ किलोमिटर दूरीमा रहेका व्यास नगरपालिका–१४ मास्दीघाट क्षेत्रका ५० घरधुरीमा विद्युत् पुर्‍याउन पोल गाडिएको भएपनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण तार झुण्ड्याउने कार्य अघि बढाउन नसकिएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए। उनले भने, “गत मङ्सिर महिनामा पोल गाडेर असार मसान्तसम्म विद्युत् जडान सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि मुलुकमा जारी बन्दाबन्दीका कारण काम रोकिएकाले विद्युत् पुर्‍याउन सकिएको छैन।” मास्दीघाट आसपासका बजार क्षेत्रमा नौ वटा सोलार बत्ती जडान गरेर उज्यालो बनाइए पनि अन्य क्षेत्रका बासिन्दा अन्धकारमय जीवन बिताउँदै आएको उनको भनाइ छ।

त्यसैगरी, बन्दीपुर गाउँपालिका–६ का खहरे, थुमथुमे र ढाब लगायतका बासिन्दा पनि वर्षौदेखि अन्धकारमा बस्न बाध्य छन्। दमौली हुँदै चितवन जोडिने बुद्धसिंमार्ग नजिक बसोबास गर्दै आएका बासिन्दाको घरमा बत्ती जडान कार्य नभपछि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन्। उक्त क्षेत्रमा पनि विद्युत् पोल गाडिएको तर तार झुण्ड्याउने कार्य बाँकी रहेकाले विद्युत् पुर्‍याउन नसकिएको वडाध्यक्ष सन्तबहादुर गुरुङले बताए। उनले अब छिट्टै तार झुण्ड्याउने कार्य अगाडि बढाउने बताए।  

तनहुँ जलविद्युत् आयोजनाले उक्त क्षेत्रमा विद्युत् जडानको जिम्मा पाएको र ठेक्का प्रक्रिया समेत पूरा भइसकेकाले छिट्टै काम शुरु हुने विश्वास गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाको छ। “बन्दाबन्दीका कारणले पनि काममा ढिलाइ भएको हुन सक्छ”, उनले भने, “चालु आर्थिक वर्ष भित्रै बत्ती बाल्ने गरी काम गर्न आयोजनासँग पटक पटक आग्रह गर्दै आएका छौं।” उक्त क्षेत्रमा विद्युत् सेवा पुर्‍याउन सकिए गाउँपालिकालाई अन्धकारमुक्त पालिका घोषणा गर्न सकिने उनको भनाइ छ।

प्रकाशित: २ आश्विन २०७७ १२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App