६ वैशाख २०८१ बिहीबार
समाज

विद्यार्थी नेता नै अपराधिक गिरोहका नाइके

धाकधम्की दिएर रकम असुल्ने गिरोह ।

विराटनगरमा लामो समयदेखि धाक धम्की दिएर लुटपाट र असुलीका घटनामा सत्तारुढ दलकै विद्यार्थी नेताहरू संलग्न रहेको पाइएको छ। अनेरास्ववियुका नेताहरू विराटनगरका व्यापारीहरूलाई धाकधम्की दिएर लुटपाटमा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको हो।  

गत साउन १३ गते विराटनगरका व्यापारी रतन पारखलाई ज्यान मार्ने धम्कीसहित एउटा समूहले फोन गरेर १० लाख रुपैयाँ माग्यो। उनले प्रहरीमा उजुरी दिए। प्रहरीले अनुसन्धान अघि बढायो। अनुसन्धनका क्रममा व्यापारीलाई धाक धम्की दिएर असुली धन्दा चलाउने गिरोहका ५ जनालाई  प्रहरीले हतियारसहित पक्राउ गर्‍यो। गिरोह पक्राउ परेपछि सो गिरोहका नाइके सत्तारुढ नेकपाका विद्यार्थी नेता नै भएको खुल्यो।  

पक्राउ पर्नेहरूमा भारत बिहार सितामडी घर भएका २७ वर्षीय राजु साह, मोरङको कटहरी गाउँपालिका–२ आदर्श नगरका २७ वर्षीय अभिषेक राय २६ वर्षीय किसन साह, २८ वर्षीय एलेक्स भनिने रविन शर्मा र सप्तरीको बोदेवसाइन नगरपालिका–८ का २७ वर्षीय नन्दु भनिने नन्दकिशोर साह छन्।  

यस्तै सो समूहलाई हतियार उपलब्ध गराउने विराटनगर १२ का विकास महतोलाई पनि प्रहरीले पक्राउ गर्‍यो। विकासले भारतबाट हतियार खरिद गरेर अपराधिक गिरोहलाई बिक्री गर्दै आएको प्रहरीको अनुसन्धनबाट खुलेको छ। अपराधिक गिरोहको नाइके अभिषेक राय रहेको मोरङ प्रहरीले जनाएको छ। अभिषेक अनेरास्ववियुको विराटनगर महानगर कमिटीका उपाध्यक्ष हुन्। विकास अनेरास्ववियुका जिल्ला कमिटी सचिवालय सदस्य, पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कमिटी सदस्य र विराटनगरको पुसेट क्याम्पस कमिटीका अध्यक्ष हुन्।  

सत्तारुढदल नेकपा निकटका विद्यार्थी नेता भएकाले उनीहरूले राजनीतिको आडमा अपराधिक गतिविधि बढाउँदै लगेका थिए। यतिमात्रै हैन लकडाउनका कारण समस्यामा परेकाहरूलाई खाना खुवाउने अभियानमा समेत उनीहरू संलग्न थिए। विराटनगरमा सञ्चालन गरिएको खाना खुवाउने अभियानमा उनीहरूले  सहयोग गर्दै आएका थिए। बाहिरिरुपमा एकातर्फ विद्यार्थी नेता, अर्कोतर्फ समाजसेवामा समेत सक्रिय रहेका उनीहरू राजनीति र समाजसेवाकै आडमा भित्रभित्रै अपराधिक गिरोह चलाइरहेका थिए।  

व्यापारीलाई पैसा मागेपछि मनोवैज्ञानिक रुपमा त्रसित पार्न व्यापारीको घरको पर्खालमा पेस्तोलसमेत पड्काउने गरेका थिए। पक्राउ परेको गिरोहले विराटनगरका विवेक मालपानीलाई पनि  धाक धम्की देखाएर १० लाख रुपैयाँ माग गरेको थियो। यस्तै विराटनगर स्थित चाइना बजारका सञ्चाालक रामनरेश साहको घरबाट ११ लाख रुपैयाँसमेत चोरेर लगेको थियो। व्यापारीलाई धम्की दिएर पैसा असुल्ने गिरोहले उनीहरूको कम्पाउण्डमा पेस्तोल पड्काएको प्रमाण फेला परिसकेको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले बताए। उनका अनुसार दुबै व्यापारीको कम्पाउण्ड वालमा गोली लागेको दाग फेला परेको छ।  

यस्तै अभिषेकले खरिद गरेको पेस्तोल र छ राउण्ड गोलीमध्ये तीन राउण्ड पड्काइसकेको पाइएको उनको भनाइ छ। तीन राउण्ड गोली र पेस्तोल प्रहरीले नियन्त्रणमा लिएको खड्काले जानकारी दिए।  

२०६७ साल चैत १८ गते सार्वजनिक अपराध र २०७१ मंसिर ८ गते ज्यान मार्ने उद्योग गरेर दुईवटा मुद्दामा अभिषेकविरुद्ध प्रहरीले कारबाही अघि बढाएको थियो। उनलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले २०७१ पुस ४ गते पुर्पक्षका लागि थुनामा पठायो। अदालतको फैसलाबाट दोषी ठहर भएसँगै जेल बसेर छुटेका उनले त्यसपछि पनि निरन्तर अपराधिक गतिविधी गरिरहेको खुलेको प्रहरीले जनाएको छ।  

पक्राउ परेकाविरुद्ध हातहतियार खरखजना, अपराधिक लाभ र चोरी तथा संगठित अपराधमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको एसपी खड्काले जानकारी दिए।

प्रकाशित: २ आश्विन २०७७ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App