coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागमती प्रदेशका स्थानीय तहमा राखियो सुझाव संकलन पेटीका

धादिङको नीलकण्ठ नगरपालिकामा सुझाब संकलन पेटिका राख्दै नगरपालिकाका मेयर भीम ढुङगाना र धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी सेवालाई थप प्रभावकारी बनाउन स्थानीय तहहरुमा गुनासो तथा सुझाव संकलन पेटीका राखेका छन्। बागमती प्रदेश अन्तर्गतका ३१ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटीका राखिएको हो।  

प्रदेश प्रहरी अन्तर्गतका १० वटा जिल्लाहरुमा रहेका एक महानगरपालिका, एक उपमहानगरपालिका, २५ वटा नगरपालिका र सदरमुकाम रहेको गाउँपालिका एउटा र राजमार्ग क्षेत्रमा रहेको तीन वटा गाउँपालिका गरी ३१ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको हो।  

नागरिकबाट प्राप्त हुने गुनासो तथा सुझावलाई तत्कालै सम्बोधन गरी प्रहरी सेवालाई प्रभावकारी एवं जवाफदेही बनाउने उद्देश्यले राखिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताए। ‘तीन चरणमा विभाजन गरेर महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका हुँदै वडा वडामा पनि सुझाब संकलन पेटिका राख्ने हाम्रो लक्ष्य छ’ गिरीले भने, ‘नागरिकबाट प्राप्त सुझाब तथा गुनासोलाई हरेक महिना सम्बोधन गर्ने छौँ।’  

प्रहरीले पहिलो चरणमा २८ वटा स्थानीय तहमा राख्ने कार्यक्रम तय भएपछि राजमार्ग क्षेत्रका तीन स्थानीय तहहरुले पनि राखी ३१ स्थानीय तहहरुमा सुझाव संकलन पेटिका राखिएको गिरीले बताए। दोस्रो चरणमा ७० वटा गाउँपालिका र तेस्रो चरणमा प्रदेश भरीका आठ सय ७४ वटा वडा कार्यालयहरुमा समेत गुनासो तथा सुझाव संकलन पेटीका राखिने कार्यक्रम तय गरिएको छ।

अभियानले प्रहरी सेवा संचालनमा रहेका त्रृटी, कमी, कमजोरी पहिचान गर्दै सो कार्यमा आवश्यक्ता अनुसार सुधार गरी प्रहरी सेवालाई सुदृढ बनाउन सहयोग पुग्ने गिरीले बताए। प्रहरीप्रति हुने नकारात्मक, सकारात्मक धारण, सुझाव, सल्लाहले प्रभावकारी सम्पादनका लागि आगामी रणनीति तयार गर्न पृष्ठपोषण पनि प्राप्त हुनेछ, उनले भने, पत्र मार्फत प्राप्त हुन आएका गुनासो, सुझावहरुको उचित सम्बोधन र सुनुवाई बागमती प्रदेश प्रहरीले गर्नेछ भने परिचय गोप्य राखिनेछ।

उजुरी पेटीकामा प्रहरी कार्यालय र प्रहरी कर्मचारीको काम कार्बाहीका सम्बन्धमा गुनासो, सुझाव उजुरी पेटीमा राख्न सक्नेछन्। अन्य क्षेत्रसँग सम्बन्धित रहेका गुनासो तथा सुझाबहरुलाई पनि सम्बन्धित निकायमा पठाइने बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिए। नागरिकहरुले पेटीका मार्फत प्रदान गर्ने गुनासो तथा सुझावलाई प्रदेश प्रहरी कार्यालयले हरेक महिनाको १ गते संकलन गरी त्यस्ता गुनासो तथा सुझावको सम्बोधनको लागि प्रदेश प्रहरी कार्यालयमा उजुरी छानबिन शाखा समेत स्थापना गरेको छ।

धादिङको दुई वटा नगरपालिका नीलकण्ठ र धुनीबेसी तथा तीनवटा गाउँपालिका गल्छी, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा पनि राखिएको छ। राजमार्ग क्षेत्रमा रहेका तीन वटा गाउँपालिकामा पनि पहिलो चरणमा नै राखिएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। प्रहरी कर्मचारीको कार्य सम्पादन सम्बन्धी गुनासो तथा सुझाब संकलन पेटिका संचालन तथा व्यवस्थापन योजना २०७७ अन्तर्गत राखिएको रेग्मीले बताए।

प्रकाशित: २ आश्विन २०७७ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App