१६ चैत्र २०८० शुक्रबार
समाज

संक्रमणबाट जोगाउन ताप्लेजुङमा ‘टोल निगरानी समूह’को प्रस्ताव

सार्वजनिक यातायात तथा आन्तरिक हवाइ उडान खुल्ला भएसंगै कोरोना संक्रमणको सम्भावित जोखिम नियन्त्रणका क्रममा ताप्लेजुङमा लागि अब ‘टोल निगरानी समूह’को प्रस्ताव गरिएको छ।  

अब टोल–टोलमा निगारानी समूह बनाइ जिल्ला प्रबेश गर्नेहरुलाई कम्तिमा १४ दिन होम आइसोलेसनमा रहन दबाब दिइने छ भने जिल्लामै रहेकाहरुले उनीहरुको भेटघाट तथा सम्पर्कका लागि कम्तिमा २ हप्ता पर्खनु पर्ने छ। ‘टोल निगरानी समूहमार्फत कोरोना संक्रमण फैलन नदिने प्रकृयाको सुरुआत गरौं भन्ने प्रस्ताव आएको छ’ कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एमव् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले भने।  

उनले टोल निगरानी समूहमार्फत सरकारी निर्णय र नियमको परिधिमा रही संक्रमण जोखिम न्यूनीकरणका लागि निगरानी समूह आफैंले आचार संहिता बनाई प्रयोग गर्न सक्ने अवस्थाका बारेमा पनि छलफल सुरु भएको बताए। बहसको रुपमा रहेको यो प्रस्ताव कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका बहुमत सदस्यको रोजाइमा परेको छ। ताप्लेजुङमा अहिले कोरोना संक्रमण छैन। करिव महिना दिन यताबाट संक्रमण शुन्य जिल्ला बनेको ताप्लेजुङमा सार्वजनिक यातायात तथा आन्तरिक हवाइ उडान खुल्ला भएसंगै संक्रमण प्रबेश हुने आशंका निवारणका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिमा यस्तो प्रस्ताव आएको हो।  

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले सबैखाले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर ताप्लेजुङमा संक्रमण फैलनबाट रोक्ने प्रयासका लागि आवहन समेत गरेका छन्। ‘संक्रमण एक्लो प्रयासले रोकिने वा छेकिने सम्भावना छैन, मादेनले भने‘अब व्यक्ति–व्यक्तिले सुरक्षित रहने प्रयास गर्ने हो।’ उनले आ–आफ्नो टोलमा संक्रमण फैलन नदिन टोलवासी सबैले व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायको प्रयोग र कार्यान्वयनका लागि योगदान दिन सके संक्रमण समुदायस्तरमा नपुग्ने दावी गरे।  

संक्रमित जिल्ला वा क्षेत्रबाट फर्किएकाहरुले कम्तिमा १४ दिन पूर्ण रुपले होम आइसोलेसनमा बस्ने, सो अवधिमा संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिए नजिकको स्वास्थ्य संस्था वा कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिमा सम्पर्क गर्ने र १४ दिनसम्म परिवारका सदस्यहरुसंग समेत सामाजिक दूरीको मापदण्ड पालना गरेर छुट्टै दैनिकी बिताउने हो भने संक्रमण अन्यत्र फैलनबाट रोकिने आम मान्यता रहेको छ। जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले निगरानी समितिले यसकार्यका लागि सहजीकरण गर्ने र स्थानीय पालिकाका जनप्रतिनिधिले निगरानी समितिका अगुवालाई सम्वन्धित कार्यका लागि समन्वय गरिदिने हो भने ताप्लेजुङमा संक्रमण थपिन वा बढ्न नपाउने अवस्था देखेका छन्।  

तर, उनले यसका लागि संक्रमित जिल्ला वा क्षेत्रबाट फर्किएकाहरुले अपनाउने स्वास्थ्य सुरक्षाका उपाय महत्वपूर्ण पक्षको रुपमा लिएका छन्। संक्रमित जिल्ला वा क्षेत्रबाट फर्किएकाहरुले आफूलाई सम्भावित जोखिम पक्षमा राखेर कम्तिमा १४ दिन कडा रुपको होम आइसोलेसन केन्द्रित गर्ने हो भने समस्याको धेरै पक्ष त्यहिँ समाधान हुने श्रेष्ठले बताए।

प्रकाशित: २ आश्विन २०७७ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App