१२ कार्तिक २०७७ बुधबार
समाज

जग्गा प्राप्ति नहुँदा ल्याण्डफिल साईट बनाउन सकस

पोखरा–१४ बाच्छेबुडुवास्थित ल्याण्डफिल साईट । तस्बिर फाईल

पोखरामा दैनिक १५० टनसम्म फोहोरजन्य बस्तु उत्पादन हुन्छ। बजारसँगै जनघनत्व बढ्दै गएको छ। १६ वर्षअघि बनाइएको ल्याण्डफिल साईटको आयु सिद्धिएको छ। १५ वर्षलाई लक्षित गरी बनाइएको ल्याण्डफिल साईटले नै पोखराको फोहोर थेग्दै आएको छ। निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि  भईरहेको ल्याण्डफिल साईट पोखरा–१४ बाच्छेबुडुवामा फोहोर फाल्न रोकिन्छ। तर बैकल्पिक ल्याण्डफिल साईट भने अझै बनाउन सकिएको छैन।

एक वर्षपछि विमानस्थल सञ्चालनमा आउने छ। विमानस्थल सञ्चालनमा आएपछि ल्याण्डफिल साईट सम्भवत पूर्णरुपमा बन्द हुने छ। पोखरा महानगरपालिकाले ल्याण्डफिल साईट बनाउन पोखरा–३३ मा आवश्यक जग्गासहित अध्ययन समेत गरेको थियो। तर स्थानीयबासीसँगको छलफलमा अवरोध हुँदै आएको छ। ‘एयरपोर्ट अपरेशनमा आईसकेपछि बैकल्पिक ल्याण्डफिल साईट बनाउनै पर्छ। ल्याण्डफिल साईट बनाउन उपयुक्त ठाउँमा स्थानीयको अवरोध छ।’ पोखरा महानगरपालिकाका वातावरणीय इन्जिनियर भुवनेश्वर तिमिल्सिनाले भने, ‘जग्गा प्राप्त नहुँदा गाह्रो भएको छ।’  

पोखरा–३३ मा झण्डै १ हजार रोपनी क्षेत्रफल छ। तर स्थानीय सरोकारवालासँगको छलफल अवरोध हुँदै आएको छ। ल्याण्डफिल साईट व्यवस्थित नहुँदा त्यसले वातावरणीय असर गर्ने उनको भनाई थियो। फालिएको फोहोरबाट हुने लिकेजले तल्लो तटीय क्षेत्रमा बस्ने मानिसलाई हानी पुर्‍याउने उनले बताए। उनका अनुसार ल्याण्डफिल साईटबाट बग्ने पानी ट्रिटमेन्ट गरेर मात्रै खोलामा मिसाउनुपर्छ।

ल्याण्डफिल साईट एयरपोर्टदेखि ४ किलोमिटर दूरीमा बनाउनुपर्छ। जग्गा प्राप्ती नहुँदा ल्याण्डफिल साईट बनाउने सम्भावना कमजोर हुँदै गएको छ। ‘अध्ययनमै छौं तर स्थानीयको अवरोध छदैंछ’ उनले भने। ईन्जिनियर तिमिल्सिनाका अनुसार फोहोर डम्पिङ गर्नुमात्रै समाधान नहुने भन्दै त्यसलाई कालान्तरसम्म बातावरण असर नपर्ने गरी बनाउनुपर्नेमा ध्यान दिनुपर्ने खाँचो औंल्याए। घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने छुट्टाएर राख्नुपर्छ। कुहिने बस्तु घरमै कम्पोष्ट मल बनाउन सकिन्छ। नकुहिनेलाई एक ठाँउमा डम्पिङ गर्न सकिन्छ।  

ल्याण्डफिल साईट विशेष गरी मेकानिकल र बायोलोजिकल हुने भन्दै मेकानिकल खर्चिलो हुने उनले बताए। मेकानिकलमा अक्सिजनसँग कन्ट्याक्ट गरेर फोहोर निस्कने लिक्विड(झोल)लाई ट्रिटमेन्ट गरेर खोलामा मिसाउनुपर्छ। बायोलोजिकलमा विरुवा रोप्नुपर्छ। पानीमा रहेको व्याक्टेरिया सोस्ने बिरुवा लगाउनुपर्छ। विरुवा बढेको अवस्थामा काट्नुपर्छ। डम्पिङ साईट आफैंमा ग्यास च्याम्बर हो। आगजनीको खतरा समेत हुन्छ। त्यसको लागि पाईप ठाँउ ठाँउमा राखेर व्यवस्थित गर्नुपर्ने सुझाव इन्जिनियर तिमिल्सिनाको थियो। डम्पिङसाईटबाटै उत्पादित ग्यासलाई स्थानीयलाई वितरण गर्नेतर्फ ध्यान दिनुपर्छ।  

ल्याण्डफिल साईट निर्माण गर्न ५० करोड रुपैयाँ खर्च हुन्छ। १६ वर्षअघि निर्माण गरिएको ल्याण्डफिल साईटको लागि पोखरा महानगरपालिकाले १४ करोड रुपैयाँ खर्च गरेको थियो। महानगर तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत एक दर्जन सवारी साधनबाट महानगरपालिकाको ३३ वटै वडामा फोहोर संकलन हुँदै आएको छ। पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीका अनुसार ल्याण्डफिल साईटको लागि अध्ययन भईरहेको स्पष्ट पारे। उनले अध्ययनको लागि महानगरपालिकाले २५ लाख रुपैयाँ समेत छुट्टाइएको जानकारी दिए।  

महानगरपालिकाले ल्याण्डफिल साईटको अध्ययनकै लागि रातो किताबमा बजेट छुट्टाएको छ। फोहोर व्यवस्थापन गर्न महानगरपालिकाले वडा नं ३२ र ३३ को तल्लो तटीय क्षेत्रमा अध्ययन गरिएको उनको भनाई थियो। महानगरपालिकाले फोहोर फाल्न ३३ वटा सवारी साधन प्रयोग गर्दै आएको छ। फोहोर उठाउन महानगरपालिकाले विभिन्न ७ वटा निजी कम्पनीसँग साझेदारी गर्दै आएको पोखरा महानगरपालिकाका सरसफाई शाखाका अनुसार ७ वटा कम्पनीका सवारी साधनले दैनिक फोहोर उठाउँदै आएका छन्। 

लेखनाथ क्षेत्रमा हेर्ने कम्पनीले ८ वटा वडाको फोहोर उठाउँछ। बजार क्षेत्रका वडाहरुमा भने एउटा कम्पनीले २ देखि ४ वटा वडाको फोहोर उठाउने गरेका छन्।

प्रकाशित: २ आश्विन २०७७ १५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App