coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निमुखाको भरोसा बन्दै डा. केसी

दुई दशकअघि डा. गोविन्द केसी पहिलो पटक दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवा गर्ने उद्देश्यले जुम्ला आएका थिए । त्यति बेला उनी दुई साता जुम्ला बसे । उनले दुर्गममा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा र उपचारबारे पनि सिकाए । जुम्ला, मुगु र कालिकोटका स्वास्थ्यकर्मीसँग सीप र अनुभव आदानप्रदान गरे ।

त्यो बेला कर्णालीमा विशेषज्ञ चिकित्सकको त कुरै छोडौं, एमबिबिएस उत्तीर्ण पनि पाउन कठिन थियो । कार्यालय सहयोगीले स्वास्थ्य संस्था चलाउँथे । जिल्ला अस्पताल पनि एचए र स्टाफनर्सको भरमा हुन्थे । गाउँमा औषधि र दक्ष स्वास्थ्य जनशक्ति नहुँदा सामान्य रोगलेसमेत मानिसको मृत्यु हुन्थ्यो । त्यो बेला केसी जुम्ला आउँदा जुम्लीले उनलाई भगवान् जस्तै ठानेका थिए ।

केसी फरकफरक समयमा तीन पटक जुम्ला आइसकेका छन् । पहिलोचोटी स्वास्थ्य सेवा दिन जुम्ला आएका केसी पछिल्ला दुई पटक कर्णालीमा एमबिबिएस तहको पढाइ हुनुपर्ने मागसहित सत्याग्रह बस्न आएका हुन् । उनी भन्छन्, ‘म देशका ७७ वटै जिल्ला पुगेको छु । जिल्ला–जिल्लाको स्वास्थ्य सेवा र शिक्षाको अवस्थाबारे जानकारी राख्छु । जहाँ पुग्यो त्यहाँ लथालिंग र भताभुंग अवस्था देखिन्छ । व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिएन । अवस्था फेर्न मेरो सत्याग्रह हो ।’

रामेछाप जिल्लाको खड्कदेवी गाउँपालिकामा जन्मिएका केसी सानैदेखि अन्याय नसहने र हुन नदिने स्वभावका थिए । आफू पनि अन्याय नगर्ने र कसैले त्यस्तो गरे नसहने स्वभावका उनी पछिल्लो समयमा स्वास्थ्य र शिक्षा क्षेत्रमा मौलाएको नाफाखोरी, शोषण, अन्याय र विभेदविरुद्ध संघर्षरत छन् । ‘म पनि दुर्गम ठाउँमा जन्में, त्यहीं गाउँमा हुर्कें । पढेपछि देशका सबै जिल्ला पुगें । सबै जिल्लाको स्वास्थ्य र शिक्षाको अवस्था बुझें,’ केसी भन्छन्, ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा भइरहेको अन्याय टुलुटुलु हेरेर बस्न सक्दिनँ ।’

केसीले एमबिबिएस, एमडी, एमएस र फेलोसिप विदेशमै गरे । एमबिबिएस पढेर आइसकेपछि उनी निरन्तर स्वास्थ्य सेवामा छन् । उनलाई स्वास्थ्य क्षेत्रमा के हुनुपथ्र्यो ? के भइरहेको छ ? सबै थाहा छ । नेपालमा कुल जनसंख्याको ८० प्रतिशत मानिस ग्रामीण भेकमा बस्छन् । 

आफूले पाउने तलबका भरमा विपन्न बिरामी भेट्न गाउँगाउँ पुगे उनी । उनले भेटे र देखेजति बिरामीलाई सहयोग गरे । उनी दुर्गम क्षेत्रमा पैदल हिँडेरै कुनाकन्दरा पुगे । उनी स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने भन्दै सरकारसँग लडिरहेका छन् । 

केसी भन्छन्, ‘गाउँमा भोक, रोग, बेरोजगारी र अशिक्षा छ । सिटामोल पनि नपाएर बिरामी छटपटाउँछन् । यो सबै राज्यले उपेक्षा गरेर भएको हो । अहिले पनि सर्वसाधारणले उपचार पाउँदैनन् । उपचार महँगो छ । सेवा पनि गुणस्तरीय छैन । ठूला अस्पताल र शिक्षण संस्था सबै निजी छन् । ती पनि सहरमै छन् । शिक्षा र स्वास्थ्यमा सरकारले ब्यापार गरिरहेको छ, गर्न दिइरहेको छ ।’ केसीका अनुसार चिकित्सा शिक्षा र सेवा माफियाहरूको पोल्टामा पुगेको छ, सेवामुखी बन्नुपर्ने शिक्षा र स्वास्थ्य क्षेत्रमा नाफाखोरी मौलाएको छ । उनी शिक्षा र स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने भन्दै सरकारसँग लडिरहेका छन् । जनताको भोट पाएर सत्तामा पुगेका नेताले इमानदार नबन्दा सबै क्षेत्र तहसनहस बन्दै गएको उनी बताउँँछन् । डा. केसी सरकारी सेवामा छँदा र अवकाश पाएपछि पनि पटकपटक दुर्गमका जनता स्वास्थ्य अवस्था बुझ्न र सक्दो सेवा गर्ने घरदैलोमा पुगेका छन् । उनी भन्छन्, ‘जनताको स्वास्थ्य अवस्था नाजुक छ । यस विषयमा मैले नबोले कसले बोल्छ ? सामाजिक न्यायका लागि लडाइँ लडिरहेको छु ।’ डा. केसी स्वास्थ्य क्षेत्रमा सुधारको माग राखे नौ वर्षमा १८ पटक अनशन (सत्याग्रह) बसिसकेका छन् । अहिले उनी जुम्लामा १९औं सत्याग्रहमा छन् । उनले सरकारी सेवाअवधिमा न कुनै पद मागे न सम्मान खोजे । आफूले पाउने तलबका भरमा विपन्न बिरामी भेट्न गाउँगाउँ पुगे उनी । उनले भेटे र देखेजति बिरामीलाई सहयोग गरे । उनी दुर्गम क्षेत्रमा पैदल हिँडेरै कुनाकन्दरा पुगे । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत भन्छन्, ‘डा. गोविन्द केसी निमुखा, गरिब, दुखी र पीडितका भरोसा हुनुहुन्छ । यो भरोसालाई गल्न दिनु हुँदैन् ।’

प्रकाशित: २ आश्विन २०७७ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App