७ वैशाख २०८१ शुक्रबार
समाज

बढ्दो बलात्कार ग्राफ: उन्मुक्तिले अपराधीको मनोबल बढायो

गत सोमबार सप्तरी डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया किशोरी खेतमा जमेको पानी बगाउन जाँदा गाउँकै चार युवकबाट सामूहिक बलात्कारको सिकार भइन् । रगत लतपतिएको लुगा खेतको पानीले पखालेर घर फर्केकी किशोरीले आमालाई घटनाबारे बेलिविस्तार लाइन् । पिताको चार वर्षअघि नै मृत्यु भइसकेकाले आमाले नै निसाफका लागि जातीय मान्यजन गुहारिन् ।

जातीय मान्यजनले पञ्चायत डाके । पञ्चायतमा किशोरीले रुँदै घटना बयान गरिन् । उनका अनुसार खेतको पानी बगाउन कोदालाले आली काटिरहेको बेला उनलाई पछाडिबाट चारजनाले समातेर धानखेतको पानीमा लडाए । सुनसान चौरीमा बचाउबचाउको चित्कार कसैले सुनेनन् । चिच्याउन नछाडेपछि मुखमा कपडा कोचेर आवाज बन्द गरिदिए र पालैपालो बलात्कार गरे । बेहोस भएपछि उनीहरू भागे । होस खुलेपछि उठ्न खोज्दा सकिनन् । चुरा फुटेको, कपाल फुकेको, कपडामा हिलो लागेको अवस्थामा उनी घर आइपुगिन् । उनी पीडाले छटपटाइरहेकी थिइन् ।

किशोरीकी आमाले रुँदै बिन्ती गरिन्, ‘मेरी छोरीलाई निसाफ दिलाउनुस् ।’ भेलामा सहभागी पञ्चहरूले घटना सत्य भएको ठहरसहित आरोपितहरूबाट जनही २५ हजारका दरले जरिवाना भराउने निर्णय सुनाए । पञ्चायतको यस निर्णयमा असहमति जनाउँदै पीडित पक्षले कानुनी दण्डको माग ग-यो । समाजमा बस्ने भए पञ्चायतको निर्णय मान्नुपर्ने फरमान जारी भयो । कानुनी कारबाहीमा गए गाउँको बदनामी हुने भन्दै पञ्चायतले प्रहरीमा जान रोक लगायो ।

आफ्नो सर्वस्व हरण गर्नेलाई पञ्चायतले कारबाहीबाट उम्काएकोप्रति असन्तुष्टिसहित घर फर्केकी किशोरी बेचैन थिइन् । सोही रात उनले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरिन् । आत्महत्याको अनुसन्धानका क्रममा मात्र प्रहरीलाई बलात्कारको घटनाबारे थाहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष ख्डकाले बताए । पञ्चायतको गलत निर्णयबाट थप पीडित भएर युवती आत्महत्या गर्न बाध्य भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । बलात्कारजस्तो घटनालाई ढाकछोप गरिएको आरोपमा सोही गाउँका जयकान्त मण्डल, सत्यनारायण मण्डल र वासुदेव मण्डललाई प्रहरीले पक्राउ गरी कारबाही चलाएको छ । बलात्कार आरोपित चारैजना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दोषीले विभिन्न बहानामा उन्मुक्ति पाउँदा सर्वत्र बलात्कार घटना बढिरहेका छन् । अधिकांश घटना बेइज्जत हुने डरले सार्वजनिक नै हुँदैनन् । भएकालाई पनि परिवार र गाउँका पञ्चभलाद्मीले मिलापत्रका नाउँमा टुंग्याइदिन्छन् ।

‘बलात्कारजस्तो जघन्य अपराधलाई पञ्चायत भनेर ढाकछोप गर्न खोज्नु पनि अपराध हो,’ प्रहरी निरीक्षक खड्काले भने, ‘पञ्चहरूकै कारण प्रहरीसम्म समयमा सूचना नै आएन । पीडित किशोरीले आत्महत्या गरिसकेपछि मात्र सूचना आयो ।’ घटनास्थलबाट बलात्कारका संकेत चिह्नहरू, फुटेका चुरा, रगतका टाटा, मडारिएको धानखेतको दृश्य संकलन गरिएको उनले बताए ।  

बलात्कारको घटना ढाकछोप गर्न गाउँमा घन्टौं पञ्चायती हुँदा पनि वडाध्यक्ष रामनारायण चौधरीले सुइँको पाएनन् । ‘मलाई कसैले जानकारी नै गराएनन् । पीडितको र मेरो घरको दूरी मुस्किलले ५ सय मिटरमात्र छ,’ उनले भने, ‘उनीहरूको जातीय मान्यजनले गरेको पञ्चायतमा अरू जातिका मान्छे सहभागी गराइएको थिएन,’ उनले भने, ‘पीडक र पीडित एउटै जातिका भएकाले जातीय मान्यजनले पञ्चायतीबाट घटना मिलाउन खोजेका थिए ।’ भदौ १८ गते सिरहाको मिर्चैया नगरपालिका–७ की युवती दुई युवक साथीसँग घुम्न चुरे जंगलतर्फ गएकी थिइन् । उनीहरू आपसमा गफिइरहेका बेला पाँच युवक त्यहीं आइपुगे । उनीहरूले युवतीलाई तानेर जंगलतिर लग्न खोज्दा दुई युवतीले प्रतिकार गरे । पाँचजनाको समूहसामु उनीहरूको जोर चलेन । दुवैलाई रूखमा बाँधेर युवतीलाई जंगलतिर लगे । युवती जति चिच्याए पनि सुन्ने कोही थिएनन् । एकान्त जंगलका बीचमा ती युवतीलाई पाँचैजनाले पालैपालो बलात्कार गरे । बलात्कृत युवती बेहोस भइन् । होस खुलेपछि रगतले लतपतिएको लुगासहित रूखमा बाँधिएका साथीनजिक पुगिन् । पीडित युवतीले साथीको डोरी खोलिदिइन् । तिनै साथीले युवतीलाई घरसम्म पु¥याइदिए ।

पीडाले छटपटाइरहँदा पनि युवतीले घरमा घटना सुनाउन सकिनन् । कारण, बुवाले थाहा पाए उल्टै दण्डित हुनुपर्ने डर । सौतेनी आमासँग पनि उनले पीडा व्यक्त गर्न सकिनन् । घटनाको सूचना सिरहा प्रहरीसमक्ष चुहियो । प्रहरी पीडित युवतीसम्म पुग्यो । ‘सूचना आएलगत्तै महिला प्रहरीलाई युवतीको घर पठायौं,’ सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर पन्जियारले भने, ‘युवतीले सम्पूर्ण घटना महिला प्रहरीसँग बयान गरिन् ।’ तर पीडकमाथि कानुनी कदम अघि बढाउन उनी हच्किरहेकी थिइन् । बदनाम पो हुने हो कि ? पीडकमाथि कारबाही होला नहोला ? परिवारमाथि जोखिम पो बढ्ने हो कि ? यी र यस्ता प्रश्नले उनी व्याकुल बनिरहेकी थिइन् । पीडा सहेर चुपचाप बस्दा अपराधीको मनोबल बढ्ने र जाहेरी दिए दोषीहरू कानुनी कारबाहीको भागीदार बन्ने विश्वास प्रहरीले दिलाएपछि युवती जाहेरी दिन तयार भइन् । प्रहरीले बलात्कारमा संलग्न पाँच प्रतिवादीमध्ये गोलबजार नगरपालिका–७ र १० का दीपेन्द्र मुखिया र दिनेश यादवलाई पक्राउ गरी कारबाही अघि बढाएको पन्जियारले बताए । पहिचान भइसकेका बाँकी तीन प्रतिवादीको खोजी जारी छ ।

पछिल्ला दुई सातायता सप्तरी र सिरहामा घटेका यी दुई घटना प्रतिनिधिमूलक दृष्टान्त हुन् । साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये ६ जना पक्राउ परे, पाँच फरार छन् । सप्तरीमा बलात्कारका घटनाका नौ प्रतिवादीमध्ये चारजना पक्राउ परेका छन् भने पाँचजना फरार छन् । धनुषामा बलात्कारका १० घटनाका १५ प्रतिवादीमध्ये १४ पक्राउ परेका छन् भने एकजना फरार छन् । महोत्तरीमा भएका १२ बलात्कार घटनाका १४ प्रतिवादीमध्ये ६ जना पक्राउ परेका छन् भने आठजना फरार छन् । सर्लाहीमा बलात्कारका आठ घटनाका १० प्रतिवादीमध्ये सातजना पक्राउ परेका छन् भने तीनजना फरार छन् । रौतहटमा आठवटा बलात्कार घटनाका १० प्रतिवादीमध्ये पाँचजना पक्राउ परेका छन् भने पाँचजना फरार छन् । बारामा ६ वटा बलात्कार घटनाका ६ प्रतिवादीमध्ये दुईजना पक्राउ परेका छन् भने चार फरार छन् । पर्सामा सातवटा बलात्कार घटनाका सात प्रतिवादीमध्ये पाँचजना पक्राउ परेका छन् भने दुई फरार छन् ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ मा यस प्रदेशमा साउनमा ३९ र भदौमा ३१ वटा बलात्कार घटना दर्ता भएको छ । ‘बेटी पढाओ, बेटी बचाओ’ नारा बोकेको यस प्रदेशमा बलात्कारको त्रिवर्षीय तथ्यांकले बेटी (छोरी) कतिसम्म असुरक्षित छन् भने दर्साउँछ । तथ्यांकअनुसार विगत वर्षहरूको तुलनामा यस वर्ष बलात्कार घटना ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७४÷७५ मा १ सय ७० वटा बलात्कार घटना दर्ता भएकोमा २०७५÷७६ मा २ सय ९६ घटना दर्ता भए । आर्थिक वर्ष २०७६÷७७ मा २ सय ९२ वटा बलात्कार घटना भएकोमा चालु आर्थिक वर्षको दुई महिनामै ७० वटा घटना दर्ता भइसकेका छन् ।

दोषीले विभिन्न बहानामा उन्मुक्ति पाउँदा सर्वत्र बलात्कार घटना बढिरहेका छन् । अधिकांश घटना बेइज्जत हुने डरले सार्वजनिक नै हुँदैनन् । भएकालाई पनि परिवार र गाउँका पञ्चभलाद्मीले मिलापत्रका नाउँमा टुंग्याइदिन्छन् । केही प्रहरीमा पुग्छन् । प्रहरीले दर्ता लिएका घटनाका पनि थोरै प्रतिवादी मात्र पक्राउ पर्छन् । पक्रिएका पनि प्रमाण अपुग भन्दै चाँडै छाडिन्छन्, महिला अधिकारकर्मी श्यामकुमारी साहले भनिन् । पीडितलाई न्यायको सट्टा आहत बनाउने यस्तै सामाजिक र कानुनी रवैयाले दिनहुँ बलात्कार घटना बढिरहेको उनको भनाइ छ । सिरहाका एसपी उमाशंकर पन्जियारका अनुसार बलात्कार घटनाको जानकारी ढिलो आउने भएकाले केही केसमा तत्काल अभियुक्त पक्राउ गर्न नसकिएको हुन सक्छ ।’ प्रहरीमा खबर आइपुग्दासम्म अभियुक्त भागिसकेका हुन्छन्,’ उनले भने, ‘तत्काल जानकारी आएको घटनाका प्रदिवादी पक्राउ गर्न प्रहरी सफल भएका छन् ।’ ‘तराई–मधेसको समाजमा महिला सुरक्षाको सवाल चुनौतीपूर्ण बन्दैछ,’ प्राध्यापक चक्रपाणि दाहालले भने, ‘महिला सुरक्षामा यौनिकता गम्भीर समस्या बनेको छ ।’ विकृत मानसिकताका कारण उमेर हदलाई पनि पार गरेर बलात्कारमा उद्यत हुनु डरलाग्दो अवस्था देखा परेको बताउँछन् ।’ पीडकले राजनीतिक र प्रशासनिक संरक्षण पाइरहँदासम्म पीडितका लागि निसाफ सहज नहुने उनको बुझाइ छ ।

प्रकाशित: २ आश्विन २०७७ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App