coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना अस्पतालले भर्ना नलिएका पाल्पाका संक्रमितको मृत्यु

क्याप्शन

पाल्पामा एक जना कोरोना संक्रमितको अस्पतालमा डुलाउदा डुलाउँदै उपचार नपाएर मृत्यु भएको छ। तानसेन नगरपालिका वडा न. ७ का ५२ वर्षीय पुरुषको बुटवलका विभिन्न अस्पतालमा लगिएपनि भर्ना नलिएपछि पुनः पाल्पा फर्किएर ज्यान गुमाएका हुन्।  

कलेजो र पेटका रोगी समेत रहेका उनी भदौ २१ गते पाल्पास्थित यूनाईटेड मिसन अस्पताल भर्ना गरिएको थियो। कोरोना शंका गरेपछि अस्पतालले भदौ २६ गते स्वाब संकलन गरि पिसिआर परीक्षण गरेको अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराइले बताए।  

२९ गते पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि भदौ ३० गते मंगलबार बुटवल कोरोना अस्पतालमा बिरामीलाई पठाइएको भट्टराईले बताए। ‘हाम्रो अस्पतालमा भेन्टिलेटर नभएकाले बुटवल पठाएका हौं, तर बुधबार फेरी यहि ल्याउनुभयो, आइसोलेसनमा राखेर उपचार भइरहेको थियो, बिहीबार विहान मृत्यु भयो’ अस्पतालका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने। 

पाल्पाबाट भदौ ३० गते बुटवलस्थित कोरोना अस्पतालमा ल्याएको भएपनि अस्पतालले बेड खाली नभएको भन्दै भर्ना लिएन। एम्बुलेन्समा राखेर पुनः उपचार पाउने आशमा भैरहवास्थित भिम अस्पताल पुर्‍याइएको थियो।

तर, त्यहाँ पनि भर्ना नलिएपछि पुनः पाल्पा फर्काउदा मृत्यु भएको आफन्तहरुले बताएका छन्। मृतकका परिवारले अस्पतालले भर्ना नलिएकै कारण मृत्यु भएको बताएका छन्। तानसेन नगरपालिकाले मिसन अस्पतालको चिकित्सकीय सेवासहित १२ बेडको आइसोलेसन सञ्चालन गरेको छ। बुटवलमा भर्ना नै नलिएपछि मृतक पुरुषलाई पनि त्यहि राखेर उपचार गरिएको थियो। पाल्पामा यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।  

यसअघि कोरोना संक्रमणबाट पूर्वखोला गाउँपालिकाका १ का ४५ वर्षीय पुरुष, तानसेन नगरपालिका ८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो। पाल्पामा अहिलेसम्म ६ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ। जिल्लाका विभिन्न आइसोलेसनमा ९९ जना संक्रमित उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।

प्रकाशित: १ आश्विन २०७७ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App