८ वैशाख २०८१ शनिबार
समाज

विश्वभरका इलामे 'भर्चुअल'मा जोडिँदै

विश्वभर छरिएका इलामेको भर्चुअल भेला आयोजक समिति संयोजक तथा इलामका जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल (सबैभन्दा बायाँ) भेलाबारे पत्रकार सम्मेलनमा जानकारी दिँदै । तस्बिर : भीम/नागरिक

जिल्लाको समृद्धि र आपसमा भाइचारा स्थापित गर्न विश्वभर छरिएका इलामे एकजुट हुँदैछन्। इलाम घर भइ विभिन्न मुलुकमा बसोबास गरिरहेका फरक पेसा, व्यवसाय र सेवामा आबद्ध व्यक्तिबीच ‘भर्चुअल’ भेला आयोजना गरिँदै।  

विश्वभर छरिएका इलामेको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै स्रोत परिचालन गर्न भर्चुअल माध्यमबाट भेला आयोजना गर्न लागिएको हो। आउँदो असोज ३ गते साँझ साढे ५ बजेका लागि भेला आयोजना गर्ने निश्चित भएको जिल्ला समन्वय समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। समन्वय समिति प्रमुख एवं भेला आयोजक समिति संयोजक गणेशप्रसाद बरालले जिल्लाको समृद्धि र विकासमा विश्वभर छरिएका इलामेको साथ जुटाउन यो प्रयास थालिएको हो।  

भेलामा गृहजिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ, पूर्वमन्त्री कुलबहादुर गुरुङ, प्रदेशका मन्त्री, राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरूलगायत सबै क्षेत्रका व्यक्तिको सहभागिता रहनेछ। विश्वका विभिन्न क्षेत्रमा कहलिएका, माथिल्लो ओहोदामा पुगेका इलामेसमेत भेलामा सहभागी हुने आयोजकले जनाएको छ। भेलामा खेमराज नेपाल र नरेन्द्र गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन्। भर्चुअल माध्यममा प्राविधिक हिसाबले निश्चित संख्याका सदस्यमात्र जोडिन सक्ने भएकाले प्रतिनिधिमूलक रूपमा सहभागिता रहनेछ।

इलामको विभिन्न क्षेत्रमा लगानी भित्र्याउन, पर्यटन प्रवद्र्धन र आपसी भाइचारा स्थापित गर्न भेलाले सहयोग पुर्‍याउने विश्वास राखिएको उनले बताए। ‘महामारीका रूपमा फैलिएको कोभिड १९ ले विश्वभरका इलामेमा पारेको कठिनाई जानकारी लेनदेन गर्दै त्यसविरुद्ध एकजुट हुन पनि यो अन्तरक्रियाले सघाउनेछ,’ प्रमुख बरालले भने, ‘इलाम, विराटनगर, धरान, काठमाडौंलगायत धेरैतिर बसोबास गर्ने इलामे नागरिक भेला आयोजक समितिमा हुनुहुन्छ।’  

कोभिड १९ लगायत बेला–बेला आइपर्ने विभिन्नखाले समस्या समाधान गर्न भेलाले निजीस्तरको एक स्थायी संयन्त्रसमेत गठन गर्नेछ। यसरी बन्ने संयन्त्रले जिल्लाको समृद्धिमा सघाउन विश्वभरका इलामेबीच समन्वय पनि गर्ने प्रमुख बरालले बताए। ‘समितिले अहिले विशेषगरी कोभिड १९ नियन्त्रण, रोकथामका लागि समन्वय र सहयोग गर्नेछ,’ उनले भने, ‘त्यतिमात्र होइन, इलामको हरेक क्षेत्रमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई प्रेरित गर्नेछ।’  

भेला र त्यसपछि बन्ने संयन्त्रले इलामको लगानी सम्भावनाका क्षेत्र पहिल्याउँदै लगानीकर्ता आकर्षित गर्न पहल गर्ने पनि आयोजकले जनाएको छ। ‘इलाममा लगानी गर्न सकिने उच्च सम्भावना भएका क्षेत्र अनगिन्ती छन् तर तिनको प्रचार हुन सकेको छैन,’ प्रमुख बरालले भने, ‘ती क्षेत्रको प्रचार गरी लगानीकर्ता आकर्षित गर्ने भेलाको लक्ष्य हो।’ 

भेला आयोजनाका लागि जिसस प्रमुख बरालको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको छ। सचिवालयमा अर्जुन भट्टराई सदस्य–सचिव छन् भने कृष्ण शाह, मोहन सुवेदी, तिलोत्तमा खत्री, सरस्वती कर्माचार्य, यशोदा कायस्थ, राधेश्याम लेकाली, अर्जुन श्रेष्ठ, प्रदीप घिमिरे सदस्य छन्।

प्रकाशित: १ आश्विन २०७७ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App