coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विपन्न परिवारलाई एसओएसको राहत

बराहताल गाउँपालिका–८ बगालेकी बलु सुनारको छ जनाको परिवार छ। उब्जाउने जमिन छैन्। श्रीमान रामबहादुर कालापहाड (भारत) जान्थे। कालापहाडमा बगाएको पसिनाले बलुको बगालेस्थित घरको चुल्हो बल्थ्यो। कोरोना संक्रमणसँगै चैतमा रामबहादुर कालापहाडबाट फर्के। गाउँघरमा कमाउनका लागि काम पाइँदैन्। उधारोमा पेट भर्न थालेको छ महिना पुग्न लागिसक्यो। कोरोना लगत्तै स्थानीय सरकार र विभिन्न संघ–संस्था राहत बोकेर गाउँ पुगे। बालुको परिवारले राहत पाएन्। ‘राहत पाउन पनि पहुँच र भनसुन गर्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘चैतयता गाउँमा पटक–पटक राहत पुग्यो, हामीले पाएनौं।’

बुधबार एसओएस बालग्राम र एसओएस सामाजिक सेवा केन्द्र सुर्खेतले बराहताल– ५ र ८ का एक सय परिवारलाई खाद्यान्न वितरण ग¥यो। ‘अव केही दिनलाई ढुक्कसँग भेट भर्न पाइने भयो,’ राहत पाएपछि बलुले भनिन्, ‘मजस्तै राहत पाउनुपर्ने गाउँमा अझै धेरै छन्।’

एसओएसले हरेक वर्ष ‘बालबालिकाका लागि बालबालिकालाई सहयोग’ अन्र्तगत दुर्गम क्षेत्रका बालबालिकाहरुलाई शिक्षा क्षेत्रमा सहयोग गर्दै आएकोमा यो वर्ष  कोरोना संक्रमणका कारण समस्यामा रहेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण ग¥यो।  

बराहतालको धुलिचौरका सुशील ताम्राकार तामाका भाँडा बनाएर चार जनाको परिवार पाल्थे। कोरोनाका कारण उनको आरन नचलेको छ महिना हुन लाग्यो। ‘आम्दानीको अरु स्रोत छैन्,’ तामाका गाग्री र ताउला बनाउने सुशीलले भने, ‘परम्परागत पेशाबाटै पलायन हुने अवस्था आइसक्यो।’ पुख्र्यौली पेशा बन्द भएपछि उनलाई अहिले परिवार पाल्न सकस छ। ‘साहुको पसलबाट उधारोमा खाद्यान्न ल्याएकै ३० हजार पुगिसक्यो,’ उनले भने, ‘दैनिक गुजारा चलाउनै समस्या छ, यस्तोमा कसरी ऋण तिर्ने भन्ने चिन्ता पनि थपिएको छ।’

एसओएसले बराहतालका विपन्न परिवारलाई चामल, तेल, दाल र चना वितरण ग¥यो। एसओएस बालग्रामका निर्देशन मुकुन्दकुमार गिरीले स्थानीय तहको सिफारिसका आधारमा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको बताए। ‘विहान–बेलुकाको छाक टार्न समस्या भएका परिवारको तथ्याङ्क संकलन गरेर आवश्यक खाद्यान्न सहयोग गरेका हौं,’ उनले भने, ‘हाम्रो सहयोगले केही दिनका लागि भएपनि राहत महशुस हुने अपेक्षा गरेका छौं।’ एसओएसले स्थानीय तहले राहत पाउनका लागि सिफारिस गरेकाहरुको घरघरमै पुगेर उनीहरुको अवस्था अध्ययन गरेको थियो।

‘कोरोना संक्रमणका कारण आफ्नो पेशा गुमाएका, भारतबाट फर्केका र उब्जनीका लागि जमिन नभएका परिवार छनोट गरेर राहत वितरण गरेका हौं,’ निर्देशक गिरीले भने, ‘आगामी दिनहरुमा पनि अति विपन्न परिवारलाई आवश्यक सहयोग गर्नेछौं।’

बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले कोरोनाका कारण रोजगारी गुमाएका परिवारहरु खाद्यान्नको संकटमा रहेको बताए। ‘यहाँका अधिकांस नागरिकहरुको कामका लागि भारत जानुहुन्छ, कोरोना संक्रमणका कारण भारतको रोजगारी अहिले गुमेको छ,’ उनले भने, ‘त्यस्ता परिवारलाई अहिले विहान बेलुकाको छाक टार्न समस्या भइरहेको छ।’ अध्यक्ष बस्नेतले भारतबाट फर्केकाहरुको तथ्याङ्क र उनीहरुको सीपको विवरण संकलन गरिएको र सोही अनुसारको रोजगारी दिने तयारी गाउँपालिकाले गरिरहेको बताए।

प्रकाशित: १ आश्विन २०७७ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App