१६ चैत्र २०८० शुक्रबार
समाज

सर्वोच्चका दोस्रो प्रधानन्यायाधीश सिंहको निधन

सर्वोच्च अदालतका दोस्रो प्रधानन्यायाधीश अनिरुद्ध्र्रप्रसाद सिंहको १०१ वर्षको उमेरमा निधन भएको छ। तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्त, लोकसेवा आयोगको अध्यक्षदेखि मन्त्रीसम्म भएका सिंहको बुधबार राति निधन भएको हो। सिंह १९७६ साल माघ २० गते सप्तरीमा जन्मिएका थिए। सर्वोच्च अदालतमा २०१३ देखि २०१६ सालसम्म प्रधानन्यायाधीश बनेका सिंहको काठमाडौं बत्तीसपुतलीस्थित घरमा निधन भएको सर्वोच्च अदालतले जनाएको छ।

उनले न्यायलयको नेतृत्व सम्हालेपछि मुख्य काम सर्वोच्च अदालतमा नजिरहरूको अभिलेखीकरण सुरु गरेका थिए। २०१५ सालदेखि नेपाल कानुन पत्रिका प्रकाशन थाल्नुमा उनको महत्वपूर्ण भूमिका रहेको छ। सर्वोच्चका नजिरहरूको सँगालो कानुन पत्रिका निरन्तर प्रकाशित छ। सिंह प्रधानन्यायाधीश हुँदा उनको इजलासमा बहस गर्ने मौका पाएका वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले सिंह न्यायलयकै सर्वोच्च नेतृत्वका लागि योग्य इमानदार न्यायाधीश रहेको बताए। ‘उहाँमा अन्तर मनदेखि न्याय गरौं, न्याय परोस् भन्ने अठोट थियो,’ ढुंगानाले नागरिकसँग भने, ‘उहाँ मृदुभाषी र साँच्चै भद्र हुनुहुन्थ्यो। न्याय जगतको प्रतिष्ठा बढाउने एक समर्पित न्यायाधीशका रूपमा उहाँलाई राष्ट्रले सम्झनेछ।’ आफूले उनको इजलासमा बहस गरेको सम्झँदै उनले थपे, ‘बहस गर्ने सौभाग्य पाएको हुँ। थोरै बोल्ने ध्यानपूर्वक सुन्ने गर्नुहुन्थ्यो। ओभर पोज गर्ने उहाँको स्वभाव थिएन।’

उनले २००३ सालमा झापाको गोश्वारा हुलाकमा बडाहाकिम पदबाट सरकारी सेवा सुरु गरेका थिए। २००४ देखि २०११ सालसम्म झापा हुँदै दाङ, कपिलवस्तु, पाल्पामा बडाहाकिम भएर काम गरेका थिए। सिंहले २०१२ सालमा शाही सल्लाहकारमा समेत मनोनीत भई काम गरेका थिए। उनी २०१६ सालमा लोकसेवा आयोगको अध्यक्ष भएका थिए। २०१८ सालमा राजा महेन्द्रले नारायणहिटी राजदरबारमा विशेष जाहेरी विभाग गठन गरी प्रमुखमा नियुक्त गरेका थिए। त्यसैगरी उनी तत्कालीन कानुन, वनलगायत मन्त्री पनि भएका थिए।

२०३२ सालमा उनलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो। उनले अख्तियारमा २०३४ पुस १३ देखि २०४२ वैशाख ३० सम्म पहिलो प्रमुख आयुक्त बनेर काम गरेका थिए। त्यसपछि उनी राजसभा स्थायी समिति सभापति बने। ‘प्रधान न्यायाधीशको रूपमा रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्यमान्यतालाई स्थापित गर्न, न्याय र कानुन क्षेत्रको विकासका लागि पु¥याउनुभएको योगदान अतुलनीय छ,’ सर्वोच्चले बुधबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘उहाँकै कार्यकालमा भएको नेपाल कानुन पत्रिकाको प्रकाशनले निरन्तरता पाइरहेको छ।’

संविधान र कानुनमा दक्खल राख्ने निर्भीक, सरल, अत्यन्त मिलनसार, विवेकशील, सहृदयी, मृदुभाषी, न्यायका मर्मज्ञ स्वर्गीय सिंह आदर्श व्यक्ति रहेको सर्वोच्चद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ। शोक मनाउन बिहीबार एक दिन सर्वोच्च, उच्च, जिल्ला, विशेष अदालत र न्यायाधीकरणहरू शोक बिदाको रुपमा बन्द गर्ने बुधबार बसेको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको छ। बुधबार सर्वोच्च अदालतमा पेसी तोकिएका कुनै पनि मुद्दामा इजलास बसेन। पूर्व प्रधानन्यायाधीशको निधनका कारण बेन्च नबसेको सर्वोच्चले जनाएको छ।

प्रकाशित: १ आश्विन २०७७ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App