coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोको डरैडरमा केराबारीबासी : न बस्ने घर, न सर्ने भर

रात पर्नासाथ सुरक्षित बासको खोजी

उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नं ३ केराबारी टोलमा गएको पहिरो । तस्बिर : सरिता/नागरिक

जब हावाहुरीसहित पानी पर्न सुरु हुन्छ, तब खनियाबास गाउँपालिका वडा नं ३ सिंगङगाउँको केराबारी टोलका ७२ वर्षीय थर्चिन तामाङको मुटु काप्न थाल्छ। चिराचिरा परेको जमिन तलबाट भासिदै बस्तीमा पुगेपछि दुई महिनादेखि उनको परिवार विचल्लीमा परेको छ। भएको जग्गाजमिनमा लगाएको धानखेती, कोदोबाली पनि पहिरोले पुरेपछि सुकुम्बासी जस्तै बनेको छ। पहिरोले एकातिर बस्ने बास खोसेको छ भने अर्कोतिर लगाएका अन्नपात पनि पुरेपछि परिवार धान्न धौधौ परेको छ।  

२०७२ सालमा गएको भूकम्पले उनको घर बस्नै नमिल्ने गरि भत्कियो। सरकारले दिएकोे अनुदानले बल्ल घर ठड्याए तर पहिरोको त्रासले गर्दा बनाएको घरमा धेरै समय बस्न पाएनन्। ‘तलबाट खस्दै गरेको पहिरोले भएका सबै जग्गाजमिन पुरियो, घर पनि कुन दिन बगाउन हो पत्तो छैन’, उनले भने, ‘दुई महिनादेखि नौ जनाको परिवार त्रिपालको भरमा डराईडराई रात बिताउनु परेको छ।’ बेलाबेलामा झर्ने पहिरोले उनको परिवार दुर्इ महिनादेखि अर्काको जग्गामा तीन हजार भाडा तिरेर त्रिपालको भरमा रात कटाइरहेका छन्।  

गतवर्षको पहिरोले धानसहितको खेत, यसपाली कोदोबाली बगाएको छ। भएका जग्गाजमिन पूरिएपछि परिवार धान्न मुस्किल परेको उनले सुनाए। ‘जोखिम मोलेर घरमै बसौँ भने पहिरोले लैजाला भन्ने डर छ, अरुको जग्गामा भाडा तिर्न पनि सक्ने अवस्था छैन’, उनले भने, ‘खाने अन्न छैन, कमाई पनि केही छैन कसरी गुजारा चलाउनु?’ पहिरोको जोखिमबारे सम्बन्धित निकायमा गुनासो राख्यो त्रिपाल र केही राहत दिएर टारिदिने गरेको उनले सुनाए।  

यता बमबहादुर तामाङको पनि अवस्था उस्तै छ। घर चिराचिरा बनाएको छ, शौचालय, कुखुराको खोर पनि चर्किएर भासिएको छ। जब आकाश मडारिएर पानी पर्न थाल्छ अनि सुरक्षित बासको खोजी गर्नुपर्छ। भूकम्पपछि जमिन चिराचिरा परेको छ भने बस्ती तलबाट पहिरो खस्ने र माथिबाट ढुङगा खस्ने समस्या झेल्दै आइरहेका छन्। दिनमा घरमा नै बस्ने र रात पर्ने बित्तिकै स–परिवार अन्यन्त्रै बस्न जाने गरेको तामाङले बताए।  

पहिरोको जोखिमका कारण बमबहादुरको आठ जनाको परिवार साँझ पर्ने बित्तिकै खाना खाएर बस्ने बासको जोहो गर्छन्। ‘पहिरोको डरले रातमा आफन्तको घरमा बास हुन्छ, दिनमा चाहि आफ्नै घरमा आएर बस्छौँ,’ उनले भने, ‘पानी परेको बेला झनै डर हुन्छ, रातभर निदाउन सकिन्न।’ पहिरोले लगाएको अन्नपात पनि पूरिदियो, कमाउने ठाउँ पनि छैन, रातमा निन्द्रा लाग्दैन, दिनमा भोक नलाग्ने गरेको उनले बताए।    

चारैतिरबाट पहिरोले घेरेपछि केराबारी टोलका १० घरधुरीका ६७ जना विस्थापित बनेका छन्। ती मध्ये पाँच वर्ष मूनिका चार बालबालिका र १० जना वृद्धवृद्धाहरु छन्। भूकम्पपछि चिराचिरा बनेको जमिन बिस्तारै पहिरिन थालेपछि झन जोखिम बढेको छ। चारैतिर पहिरोले घेरेपछि सुरक्षित स्थानमा सर्न पनि समस्या भएको स्थानीयले बताएका छन्। सुरक्षित बस्ने घर पनि छैन, सुरक्षित ठाउँमा सर्ने भर पनि छैन। बालबालिका र वृद्धवृद्धाहरुलाई झनै समस्या हुने गरेको छ। हिड्न नसक्ने भएका कारण जोखिम मोलेरै असुरक्षित रुपमा बस्न बाँध्य छन्।  

केही भाडाको जग्गामा त्रिपाल टागेर बसिरहेका छन् भने केही जोखिम मोलेर असुरक्षित ठाउँमा नै बस्न बाँध्य छन्। ‘घर जग्गा जमिन सबै पहिरोको जोखिममा छ, दुई वटा भैसी त्यहि जोखिमै बाँधिदिन्छौँ,’ स्थानीय परशुराम तामाङले भने ‘हामी सपरिवार भने दुई महिना भयो घर छाडेर त्रिपालको भरमा रात बिताउँदै आइरहेका छौँ।’ घाम लागे खुसी हुने र पानी पर्न थालेपछि भागाभाग चल्ने गरेको उनले बताए।  

केराबारी टोल जस्तै भूकम्पका कारण भत्किएका उत्तरी धादिङका विभिन्न बस्तीहरु पहिरोको उच्च जोखिममा छन्। भूगर्भविदहरुले नै ती स्थानमा बस्नु उपयुक्त छैन, बस्ती स्थानान्तरण गर्नुपर्छ भनेर सिफारिस गरेको वर्षौ बितिसकेको छ। तर जोखिमयुक्त बस्तीहरू सार्न सम्बन्धित निकायबाट पहल नहुँदा ज्यानको बाजी लगाएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ।  

हरेक वर्षको वर्षा सुरु भएपछि बस्ती माथिको पहिरो हेरेर ज्यानलाई जोगाउनुपर्ने अवस्था रहेको स्थानीयले बताए। यसपाली पनि वर्षायाम सुरु भएदेखि नै पहिरोको जोखिम निम्तिएको छ।

प्रकाशित: ३१ भाद्र २०७७ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App