coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमाल चढ्न काठमाडौं आइपुगे बहराइनका राजकुमार, २ महिना यतै बस्ने

हिमाल आरोहणका लागि बहराइनइनका राजकुमार नासिर बिन हामिद अल खलिफा बिहीबार नेपाल आइपुगेका छन्।  

खुम्बुकाे लोबुचे र उत्तरी गोरखाको मनास्लु हिमाल चढ्न आफूसमेत १८ जनाको टोली लिएर उनी जहाजमार्फत काठमाडौं ओर्लिएका हुन्।  

शेख इशा एयरवेजकाे विशेष विमानमार्फत बिहान ११ बजो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।  

टोलीमा बहराइन रोयल गार्ड (डिभेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन बेलायती छन्।  

बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइन अधिराज्यबाट राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि मंगलबार राति नेपाल प्रस्थान गरेको थियो।  

टोलीलाई प्रस्थानका बेला बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए।  

राजदूत सुन्दासले नेपाल र बहराइनबीचको मित्रवत् सम्बन्धमा आरोहणले आयाम थप्ने विश्वास व्यक्त गरे।

मन्त्रिपरिषद्को यही भदौ १४ गतेको बैठकले बहराइनी राजकुमारसहितको टोलीलाई नेपालको हिमाल आरोहणका लागि अनुमति दिएको थियो।  

करिब दुई महिनाको कार्यक्रमसहित नेपाल आएको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीका रूपमा लिँदै सन् २०२१ मा सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको दूतावासले जनाएको छ।  

क्वारेन्टिनपछि आरोहण अनुमति हिमाल आरोहणका लागि आएको टोलीले पर्यटन विभागबाट अनुमति लिनुपर्ने हुन्छ। विभागका निर्देशक मीरा आचार्यका अनुसार आरोहणका लागि नेपाल आएको राजकुमारसहितको टोलीले हवाई उड्डयन मापदण्डअनुरूप क्वारेन्टिनमा बस्ने र पिसिआर परीक्षण नेगेटिभ आएपछि मात्रै विभागबाट आरोहण अनुमति पाउनेछ।  

सरकारले शरद् ऋतुका लागि हिमाल आरोहण खुला गरेको छ। अहिले एक नेपाली आरोही टोलीले खुम्बु क्षेत्रमा पर्ने ७ हजार १२९ मिटर उचाइको बरुन्से हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ।  

विभागका निर्देशक आचार्यका अनुसार अहिलेसम्म एउटा मात्र टोलीले हिमाल आरोहणका लागि अनुमति लिएको छ। बहराइनका राजकुमारसहितको आरोहण टोलीले अनुमति लिँदा दोस्रो टोली हुनेछ।

प्रकाशित: ३१ भाद्र २०७७ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App