६ आश्विन २०७७ मंगलबार
समाज

रोग प्रतिरोधात्मक क्षमता बढाउन घरघरमा गुर्जाे

चिंगाड गाउँपालिका–३, की रत्नकला खत्रीले गुर्जाेलाई घाँस दाउरा बाध्ने साधनका रूपमा मात्र लिइन्। कहिले कसो बस्तुभाउ (भैंसी, गोरु) लाई पीठोमा मिसाएर खुवाउने गर्थिन्। गुर्जाेको महत्व थाहा नपाएकी उनलाई औषधिजन्य गुणका बारेमा ज्ञान थिएन। विश्वभरि फैलिएको कोरोना भाइरसको जोखिम बढ्दै गएपछि रोग प्रतिरोधात्मक क्षमता बढाउन उनी अहिले आफैँ गुर्जाे प्रयोग गर्न थालेकी छिन्।  

वीरेन्द्रनगरका घनश्याम केसीले पनि यसभन्दा पहिला कहिले पनि गुर्जाे प्रयोग गरेनन्। महिना दिनअघि जंगलमा गएर गुर्जाे संकलन गरेर ल्याएका छन्। उनीहरू मात्र होइन अहिले सहर, बजारदेखि गाउँसम्म गुर्जाेको प्रयोग बढ्दै गएको छ।

गुर्जाेको लहरा डोरीको रूपमा प्रयोग गर्ने र बस्तुभाउलाई दिने गरिए पनि पछिल्लो समय मानिस आफैँले औषधिको रूपमा प्रयोग गर्न थालेका छन्। कोरोना भाइरससँगको लडाइँमा रोग प्रतिरोधात्मक क्षमता बढाउन घरघरमा गुर्जाे प्रयोग हुने गरेको छ। वैज्ञानिकरूपमा गुर्जाेले रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रमाणित भएको र कोरोनाको प्रकोप बढ्दै गएपछि यसको प्रयोग बढेको प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका प्रमुख डा. शंकरप्रसाद रिजालले बताए।  

‘पहिला गुर्जाे थोरैमात्रामा प्रयोग हुन्थ्यो,’ उनले भने, ‘अहिले त घरघरमा गुर्जाे प्रयोग हुन्छ।’ करिब दुई ईन्च लम्बाइको बुढी औँला नापको परिपक्व गुड्चीको टुक्राको काढा÷क्वाथ पकाई बिहान बेलुका खाने अथवा गुड्चि पूर्ण एक चिया चम्चा अथवा पाँच सयदेखि एक हजार मिलिग्राम गुड्ची सत्व पानीमा घोलेर गुर्जाे सेवन गर्न डा. रिजालले सुझाव दिए।

‘मेटाबोलिज्म सिस्टम बढाउने, ज्वरो, खोकी, रुघा र ग्यास्ट्रोइन्टसटाइनल जस्ता समस्या हल गर्छ,’ उनी भन्छन्, ‘यसका साथै अन्य ठूला रोगबाट पनि रक्षा गर्छ।’ अहिले यसको खेतीसमेत हुन थालेको उनको भनाइ छ।  

गुर्जाे एउटा लहरेदार पतझर बिरुवा हो। हाँगाको कलमीबाटः डाँठका कलमीबाट नै यसका बिरुवाहरू तयार गरिन्छन्। यसका आँख्लासहितका करिब एकफिट जति लामा हाँगा काटेर माटो र बालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा बिरुवा तयार गर्न सकिन्छ।

यसको लहरा मोटो र गुदीदार हुन्छ। यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ। यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्।  

पातहरू मुटु आकारका सात÷आठवटा नशाहरू भएका करिब १० सेन्टिमिटर लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फूलहरू एक्लाएक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।

यसको उपयोगी अंग लहरा (डाँठ) भएको डा. रिजालले बताए। प्रदेश आयुर्वेद अस्पतालमा यसका बिरुवा लिनेहरू आउने गरेको उनको भनाइ छ। डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेंगी, तथा बाथ आदि रोगहरूमा उपयोग गरिने उनले जनाए। यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ। खासगरी गर्मी ठाउँहरूमा राम्ररी हुर्कन्छ। गुर्जाेलाई विज्ञानले समेत आयुर्वेदिक उपचारको रूपमा स्वीकार गरेको छ।

कोरोना संक्रमणको डर भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जाे प्रयोग गर्ने गरिएको नागरिक समाजका खेम रेग्मीले जनाए। ‘कोरोनाको औषधि बनिसकेको छैन,’ उनले भने, ‘कोरोनाको संक्रमणबाट बच्न आत्मबल बढाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउनु हो। त्यसैले पनि गुर्जाेको प्रयोग बढेको छ।’ यसलाई उमालेर तातो पानी, जुस, काडा चिया वा कफि जस्ता पेयपदार्थ बनाएर पिउन सकिने उनले बताए। कमै मात्रामा बिक्री वितरण हुने गुर्जाेको मूल्य अहिले प्रति केजी दुई सय रूयैपाँ छ।

पहेँले रोग लागेमा समेत गुर्जोको पात निकै फाइदाजनक हुने चिकित्सकहरू बताउँछन्। कसैले यसको पातलाई पानीमा उमालेर पिउन गर्छन्। साथै गुर्जोेको पातलाई पिसेर महमा मिसाएर खान पनि सकिने प्रदेश आयुर्वेद अस्पतालले जनाएको छ। गुर्जाेले कब्जियत, ग्यास र अपच जस्ता समस्यालाई समेत समाधान गर्ने बताइएको छ। गुर्जोको प्रयोग रुघाखोकी र चिसो कम गर्न र धेरैदिनसम्म लागेको ज्वरो र तापक्रम कम गर्न फाइदाजनक हुन्छ।

प्रकाशित: ३१ भाद्र २०७७ १६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App