coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कारीविरुद्ध उजुरी दिन खोज्दा गाउँलेले रोकेपछि किशोरीले गरिन् आत्महत्या

प्रतिकात्मक तस्बिर<br>

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छन्। बलात्कारीहरूविरुद्ध प्रहरीमा उजुरी गर्न गाउँलेले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका–७, ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ।  

सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीलाई सामूहिक बलात्कार गरिएको उनकी आमाले बताइन्। उनका अनुसार बलात्कारमा  संलग्न ४ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिन जान खोज्दा केही गाउँलेले आफूहरूलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन्।  

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय (सप्तरी) का प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन्।  

मण्डल समुदायका ८–१० जनाको छलफलले पीडित किशोरी र उनकी आमालाई प्रहरी कार्यालयमा जान रोक लगाउँदै आरोपितहरूबाट ५५ हजार क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीले जानकारी दिए।  

साना घटनामा प्रहरी कार्यालय आउने तर संवेदनशील घटना लुकाउन खोज्ने प्रवृत्तिले प्रहरीलाई घटना अनुसन्धान गर्न र अपराधी पक्राउ गर्न समस्या हुने गरेको प्रहरी निरीक्षक खडकाले बताए। खबर पाएलगत्तै प्रहरी निरीक्षक खड्काको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय (कल्याणपुर) को टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी (प्रवाहा) को टोली घटनास्थल पुगेर अनुसन्धान गरेका छन्।  

घटनास्थलमा पीडितले जोगिन धानबाली र आली समातेर गरेका सङ्घर्षका चिह्न, मडारिएको धानका बाला, फुटेका हातका चुरा र अन्य प्रमाण पाइएको प्रहरीले जनाएको छ।  

किशोरीको मृत्युपछि सामूहिक बलात्कारका चार आरोपित गाउँबाट फरार भएका छन्। घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ।  

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय (कल्याणपुर) को नियन्त्रणमा राखिएको छ। मृतकको शव मङ्गलबार राति राजविराज ल्याइएको छ।  

प्रहरी निरीक्षक खड्काले शवको परीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने जानकारी दिए।  

प्रकाशित: ३१ भाद्र २०७७ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App