६ आश्विन २०७७ मंगलबार
समाज

एक द्वन्द्वपीडितको प्रेरणादायक संघर्षको कथा

सशस्त्र द्वन्द्वका घाइते कवीराम ह्वीलचेयरमा बसेर मिलमा काम गर्दै । तस्बिर : नगेन्द्र/नागरिक

भेरीगंगा नगरपालिका–६ घारीवनका कवीराम खड्काको सेनामा भर्ती भएर देशको सेवा गर्ने लक्ष्य थियो। २१ वर्षको उमेरमै उनी सेनामा भर्ना हुन तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर पुगे। 

सेनामा भर्ती हुनका लागि उनी वीरेन्द्रनगरस्थित इत्राम चोकमा आवेदन फारम भर्दै थिए, गोलीको वर्षा सुरु भयो। सेनामा भर्ती हुने सपना देखेका उनका तीन जना साथीले ज्यान गुमाए। कवीराम जीवनभरलाई अपाङ्ग भए।

‘सुरुमा कहाँबाट कस्ले गोली चलायो थाहा नै भएन,’ कवीरामले भने, ‘होसमा आउँदा तत्कालिन विद्रोही माओवादीले गोली चलाएको थाहा भयो।’ माओवादीको गोलीबाट घाइते भएका कवीरामलाई सेनाले सुर्खेत अस्पताल पुर्‍यायो। त्यहाँबाट थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके हुँदै तीन महिना त्रिभुवन शिक्षण अस्पताल काठमाडौंको बेडमा बस्नुप¥यो। डाक्टरले शरीरमा भएका गोली निकाल्दा ज्यान जान सक्ने बताएकाले उनी अहिले पनि शरीरमा गोली बोकेरै बाँचिरहेका छन्।

उपचारका लागि गाउँबाट चन्दा उठाएर सहयोग मागेको उनले बताए। ‘गाउँमा आएर सबैबाट चन्दा उठाउन थाले, सबैले सहयोग गरे,’ उनले भने, ‘सामुदायिक वनले तीस हजार सहयोग गर्‍यो, एक लाखमा घरबारी बेचेर शरीरमा भएका गोली निकाले, रकम अभावभएपछि शरीरका टाँका छिन्चुमा काटेको हो।’ ‘रकम अभावका कारण सुरुमा हामीले निजीमा गएर उपचार गराउन सकेनौँ,’ उनले भने, ‘केही रकमको जोहो गरेर लखनउ गई उपचार गरे, करिब साढे ३ लाखमा शरीरमा भएका सबै गोलि निकाले, अस्पताललाई दिने चार हजार नभएर पछि दिने अनुरोध गरी फर्कियौँ।’ डाक्टरले चार महिना बेड रेष्टको लागि भन्नुभो, तर रकम अभावमा उनी फर्किए।

उनको तल्लो शरीरले काम गर्दैन। ह्वीलचेयरमै बसेर उनी महिनाको ४० हजार बढी कमाउँछन्। घरमै खुद्रा तथा खाद्यान्न पसल छ। कुटानी–पिसानी मिल छ। ६ हजारबाट सुरु गरेको व्यवसाय अहिले ५० लाखमाथिको छ। ‘५ हजार ७ सयबाट व्यापार सुरु गरेको हुँ,’ उनले भने, ‘अहिले पुँजीनै ५० लाखभन्दा धेरै छ।’  

नेपाली सेना हुन नपाएपनि देशप्रतिको मायामा कहिल्यै कमि भएन। खाटकै खुट्टामा पांग्रा जोडेर उनी पसल चलाउँछन्। ह्वीलचेयरको सहायताबाट मिल सञ्चालन गर्छन्। मिलबाट मात्र मासिक १५ हजार रुपैयाँ बढी आम्दानी भइरहेको छ। ‘गाउँमा रहेका ८०/९० घरपरिवारको अन्न पिस्ने, पेल्ने र कुट्ने गरिरहेको छु,’ उनले भने, ‘गाउँको सेवा पनि हुने, आम्दानी पनि हुने भएकोले यो बहुउपयोगी माध्यम बनेको छ।’ उनको खड्का पशुपंक्षी फर्ममासमेत यसैबाट चारो तथा दानाहरु उत्पादन गर्दछन्।  

उनको सबै कारोबार मात्र करिव अढाई लाख हुन्छ। ‘पसलबाट मात्र मैले एक लाख बराबरको कारोबार गर्छु,’ उनले भने, ‘परिवारको खर्चदेखि छोराछोरीलाई भेटेरीनरी पढाउने सबै आम्दानी यसैबाट भइरहेको छ।’ घरका सदस्यको सहयोगमा उनी मिल मात्र हैन, आफूले पालेका कुखुराको पनि संभार गर्ने गरेका छन्।  

भेरीगंगा नगरपालिका पशु विकास शाखामा कार्यरत प्राविधिक विष्णु ढकालको सल्लाहमा पालेका बट्टाई, कुखुरा, बाख्रा तथा अन्य पशुहरुको उपचार गर्छन् । ‘विष्णु सरले राम्रो सल्लाह दिनुहुन्छ, फोनबाटै सल्लाह लिन्छु,’ उनले भने, ‘हालसम्म पशु प्राविधिकहरु घरमै आउन परेको छैन।’ पालेका पशुपंक्षी घरबाटै बिक्री हुन्छन्। उनले बट्टाई र कुखुराको माग अत्याधिक भएपनि पु¥याउन नसकिएको बताए। ‘दुई सयको माग आएमा एक सय मात्र दिईरहेको छु, माग बमोजिम बजारमा सप्लाई गर्न सकिएको छैन,’ उनले भने, ‘बजारलाई स्थानीय उत्पादननै पुर्‍याउने कोशिष जारी छ।’

अहिले उनको घरमा पाँच सयबढी कुखुरा, चार सय बढी बट्टाई छन्। करिव एक हजारको संख्यामा बट्टाईका चल्लाहरु उत्पादन भइरहेका छन्। उनको घरबाटै बधिया भालेप्रति किलो एक हजार रुपैयाँका दरले बिक्री वितरण भइरहेको छ। अन्यलाई सात सय रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको हुन्छ। उनले बाख्रापालन कार्य विस्तार गर्ने प्रयोजनले विभिन्न घाँसबालीहरु विस्तार गरिरहेका छन्। हाल उनले अण्डा ह्याचरिङ्ग गर्ने मेसिनसमेत ल्याएका छन्। जसबाट हप्तामा करिव एक सय हाराहारीमा चल्लामात्र विक्री गर्दछन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले २०७३ बैशाख २० मा उनको मुद्धा लियो। अहिलेसम्म कुनै राहत, क्षतिपूर्ति भने पाएनन्। ‘राज्यले द्वन्द्वकालका घाइते तथा अपाङ्गहरुका लागि क्षतिपूर्ति दिने भनेपछि विवरण लेखायौं,’ उनले भने, ‘अहिले त आयोग पनि छ/छैन, पत्तो छैन।’

प्रकाशित: ३१ भाद्र २०७७ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App