८ वैशाख २०८१ शनिबार
समाज

चेतना अभाव र गरीबीले महिलाहरु प्रजनन स्वास्थ्य पीडा भोग्न बाध्य

अशिक्षा र जनचेतना अभाव तथा गरीबीका कारण प्रजनन स्वास्थ्यबाट उदयपुरका महिलाहरु पीडित हुँदै आउनुपरेको यहाँका सरोकारवालाहरुले बताएका छन्। उदयपुरको बेलका नगरपालिकामा आयोजित ‘महिला प्रजनन स्वास्थ्यसम्बन्धी १ दिने अन्र्तक्रिया कार्यक्रम’का सहभागी सरोकारवालाहरुले आवश्यक जनचेतना अभाव, अशिक्षा र गरीबीका कारण प्रजनन स्वास्थ्यबाट महिलाहरु पीडित हुँदै आउनुपरेको तथ्य उजागर गरेका हुन्।  

मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) द्वारा नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले प्रजनन स्वास्थ्य, अनिच्छित गर्भ धारण, गर्भपतन र यसका लागि कानुनी मान्यता तथा प्रक्रियाबारे धेरै महिलालाई जानकारीसम्म नपाउनु नै पीडित हुनुको मुख्य कारण भएको बताए। स्वैच्छिक गर्भधारण र गर्भपतन, बिवाह गर्ने उमेर, गर्भधारण गर्ने उपयुक्त उमेर र गर्भपतनको प्रक्रिया वा कानुनी व्यवस्थाबारे अधिकतर महिलाहरु जानकार नरहेकोमा सरोकारवालाहरुको एकमत थियो।  

कार्यक्रममा बेलका नगरप्रमुख दुर्गाकुमार थापाले अशिक्षा र चेतना अभावकै कारण धेरै महिलाहरु पीडित हुने गरेको बताए। उनका अनुसार चेतना अभाव र प्रजनन स्वास्थ्यबारे जानकारी नहुँदा किशोरी महिलाहरु अनिच्छुक गर्भधारण गर्न बाध्य हुने र असुरक्षित गर्भपतन गराउनुपर्ने अवस्था सिर्जना भएको पाइएको छ। मेयर थापाले असुरक्षित गर्भपतनका कारण नेपालमा ७ प्रतिशत महिलाको अकालमा ज्यान जाने गरेको तथ्यांक प्रस्तुत गरे।  

उनका अनुसार ७६ प्रतिशत महिला गर्भपतन अपराधमा पक्राउ परी कारागारमा कैदीबन्दी भएर दुःखद जीवन बिताउन बाध्य भएका छन्। गर्भपतनबाट ज्यान गुमाउनु र जेल बस्नुजस्तो अप्रिय अवस्थाको अन्त्य गर्न राज्यस्तरबाटै पहल हुनुपर्ने उनको सुझाव छ। स्थानीयतह, प्रदेश र संघीय तीनै तहका सरकारबाट महिला प्रजननबारे सामूहिक सचेतना अभियानको खाँचो मेयर थापाले औंल्याएका छन्। प्रजनन स्वास्थ्यबारे महिलाहरुलाई जानकार नबनाएसम्म धेरै महिलाहरु गर्भधारण र गर्भपतनबाट पीडित हुने क्रम नरोकिने मेयर थापाको आँकलन छ।  

अहिलेसम्म अनिच्छित गर्भ बसेपछि गर्भपतन गराउन बाध्य हुने र गर्भपतन गराउँदा असुरक्षित तवरले गर्नु नै महिलाहरु पक्राउ, कैद सजाय र मृत्युसम्मको अवस्था भोग्न बाध्य हुनुपर्ने स्थिति रहेको मेयर थापा बताउँछन्। मेयर थापाले चेतना अभावमा सरकारी अस्पताल र स्वास्थ्य संस्थामा निःशुल्क हुने गर्भपतन गराउन महिलाहरु स्थानीय निजी मेडिकल र क्लिनिक धाउने गरेको र आर्थिक शोषणमा पर्ने गरेको तथ्य पनि औंल्याएका छन्। निजी क्लिनिक र स्वास्थ्य संस्थाले गर्भपतन गराउन प्रतिव्यक्ति ७ हजारदेखि १५ हजारसम्म शुल्क लिने गरेको जानकारी आएको उनले बताए।  

गर्भपतन गराउँदा निजी क्लिनीकहरुले कति रकम लिन्छन् भनेर गोप्यरुपमा भोलन्टिएर (स्वयंसेवक) परिचालन गरि अनुसन्धान गर्दा यस्तो तथ्य पत्ता लागेको उनको भनाई थियो।  

उनको अनुसन्धानले गर्भपतनमा प्रयोग हुने औषधि सामान्य ४ सय २० रुपैयाँमा पाइनेमा तीन गुणाभन्दा बढीसम्म चर्को मूल्य लिने गरेको तथ्य पनि पत्ता लागेको छ। महिलाहरुको यस्तो अवस्था आउनुमा प्रजनन स्वास्थ्यसेवाबारे जनचेतनामा कमी, सामाजिक लज्वाबोध र अशिक्षा नै रहेको प्रमुख कारण रहेको उनले बताए। त्यसैले महिला प्रजनन स्वास्थ्यबारे सामाजिक रुपमा सचेतना अभियान चलाउनुपर्ने खाँचो उनले देखेका छन्। बिपन्न र गरिव परिवारका सुत्केरीलाई बेलका नगरपालिकाले स्वास्थ्य सुरक्षाका लागि खाद्यान्न, स्वास्थ्य सामग्री र २ हजार ८ सय रुपैयाँ दिँदै आएको पनि उनले बताए। हरेक गरिव तथा बिपन्न सुत्केरी महिलाको अवस्था हेरेर सो सहयोग दिँदै आएको मेयर थापाले बताए।  

हुरेन्डेकका व्यवस्थापक ओमनारायण झाले महिला प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभियान चलाउनुपर्ने खाँचो देखिएकाले सार्बजनिक स्थलहरुमा होडिङ बोर्ड राख्ने, रेडियोबाट चेतनामूलक सूचना प्रशारण गर्ने, भेला, जमघट आयोजना गर्न सकिने उपाय सुझाए। बेलका नगर प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गौतमले महिला प्रजनन स्वास्थ्यबारे हुरेन्डेकसँग साझेदारी गरेर छिट्टै सचेतना अभियान चलाउनुपर्ने खाँचो देखिएको बताए। 

संस्थाका कार्यक्रम अधिकृत लक्ष्मी आचार्य र फिल्ड संयोजक सुमित्रा पौडेल तथा इलाका स्वास्थ्य केन्द्र प्रमुख कमल चौधरीलगायत अगुवा महिलाहरुले प्रजनन स्वास्थ्यकै कारण महिलाहरु पीडा भोग्न बाध्य हुने अवस्थाको अन्त्य गर्न सामूहिक प्रयास हुनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: ३१ भाद्र २०७७ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App