७ वैशाख २०८१ शुक्रबार
समाज

ओभर लोडले भासिँदै सडक

१० टन क्षमता सडकमा ३५ टनका मालबाहक सवारी

घोराही लमही सडक खण्डमा भासिएको सडक । तस्बिर सौजन्य : प्रिया स्मृति गजमेर

घोराही लमही सडकखण्डको जंगल क्षेत्रमा आइतबार सडक भासियो। सडकको आधा भाग भासिएपछि आइतबारदेखि उक्त सडक एकतर्फी मात्रै खुल्ला छ। सडक डिभिजन कार्यालयका अनुसार उक्त सडक नालामा माटो हालेर सामान्य मर्मत मात्रै गरिएको छ। तर बलियो मर्मत कहिले हुने भन्ने अनिश्चित छ।  

सडक डिभिजन भन्छ, ‘बलियो मर्मतका लागि पैसाको जोहो भएकै छैन।’ सडक डिभिजन कार्यालयका प्रमुख निरोज शाक्यले सडक मर्मतका लगि विभागमा रकमका लागि पत्राचार भएको र रकम आउने नआउने ग्यारेण्टि नभएको बताए। कारण यो सडकलाई फोरलेन बनाउने योजना सरकारको रहेकाले मर्मतका लागि मात्रै हाल बजेट विनियोजन भएको छैन। ‘यो सडक फोरलेनको योजना हो, यसर्थ यो सडक मर्मतका लागि बजेट विनियोजन भएको छैैन,’ शाक्यले भने ‘तर पनि हामीहरुले पत्राचार गरेका छौँ, हेरौँ के हुन्छ ? विभागबाट बजेट आएन भने यसको मर्मत हुने सम्भावना रहन्न।’

यो सडक एक स्थानमा मात्रै हैन, ठाउँठाउँमा भत्कने जोखिम बढेको छ। सडक ठाउँठाउँमा दबेको छ। अनि घुम्तीहरुमा पीच उप्किएर सडक जिर्ण बनेको छ। दाङ जोड्ने मुख्य सडकको यो अवस्था हुनुको प्रमुख कारण सडक क्षेमता र सवारी साधनको भार हो। यो सडकको भार क्षमता जम्मा १०.२ टन मात्रै हो। तर यो सडकमा ४० टनसम्म लोड बोकेका सवारी कुद्छन्। फलतः तीव्र लोडका कारण सडक ठाउँठाउँमा दब्दै गएको छ भने ठाउँठाउँमा उप्किएर जिर्ण बनेको छ।

‘दाङ सिमेन्ट उद्योगको हब बन्दै गएको छ, उद्योगका टिप्परहरु सडकको भार क्षमता भन्दा बढी लोड बोकेर कुदिरहेका छन्,’ सडक डिभिजन कार्यालयका प्रमुख शाक्यले भने, ‘यो ओभरलोडका कारण सडक दब्ने र उप्किने समस्या बढी नै देखिँदै गएको छ।’ आइतबार सडक भासिनुको कारण पनि यहि ओभरलोड रहेको उनले बताए। ओभरलोडका कारण सडक दब्दै गएको र आइतबार सामान्य झरीले पनि सडक भत्काईदिएको शाक्ले बताए।  

लामो समयदेखि सडकको मर्मत नहुनु। भैहाले पनि  मापदण्ड अनुसारको मर्मत हुँदैन। अनि त्यहि सडकमाथि ओभरलोडका सवारी साधन कुद्छन्। यि ओभरलोड हालेर कुद्ने सवारी साधनलाई नियमन गर्ने निकाय राज्यले नै यस्ता सवारी साधनलाई कुद्नका लागि अनुमति दिईरहेको छ। राज्यबाटै रुट परमिट लिएरै कुद्ने सवारी साधनलाई ओभरलोड बोकेको भनेर राज्यको अर्को कुन नियकाले रोक्न सक्ने? जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक प्रेम रेग्मीले भने, ‘सडकको भार क्षमता भन्दा तेब्बर बढी लोड बोकेर कुद्ने सवारी साधनलाई रुट परमिट दिईएको हुन्छ,अनि ओभरलोड भनेर हामीहरुले कसरी रोक्ने? जब उसले चल्न पाउने अनुुमति पाएको हुन्छ।’ उनका अनुसार सडक भार क्षमता भन्दा तीन गुणा बढी भारका गाडीहरु कुद्नुनै सडक जिर्ण हुनुको पहिलो कारण हो।  

यो सडकमा मुख्यतयाः ओभरलोडसहितका देउखुरीस्थित सिमेन्ट उद्योगका टिप्पहरु चुनढुंगा बोकेर कुद्ने गर्छन् भने घोराही, तुलसीपुर क्षेत्रमा रहेका सिमेन्ट उद्योगका ट्रकहरु ओभरलोड हालेर चल्ने गर्छन्। ‘सडक बीचबीचमा उप्किएर जिर्ण बनिरहेको छ, अनि भासिँदै जान थालेको छ,’ जिल्ला ट्रफक प्रहरी कार्यालयका प्रमुख रेग्मीले भने ‘सडकको क्षति एकातिर छ भने अर्कोतिर सवारी दुर्घटनाको जोखिम जिर्ण बन्दै गएको यो सडकमा उत्तिकै छ।’

उप्किए पुल पनि  

जिल्लाको लमही तुलसीपुर सडक खण्डमा बनेका अधिकांश पुलहरु निर्माण पुरा भएलगत्तै जिर्ण बन्दै गएका छन्। पुलमाथि गरिएको पीच उप्किएर ठूल्ठूला खाल्डा परेका छन्। फलतः साना सवारी साधन दुर्घटनाको जोखिम यि पुलहरु बनेका छन्। सडक डिभिजन कार्यालयका अनुसार यि पुलको पीचमा पानी जम्ने समस्या कारण चाँडै पुलमाथिको पीच उप्किएर जिर्ण बनेको हुन्।

‘पुलको पीचमै पानी जम्ने समस्या भयो फलतः पीच उप्किएर खाल्डा पर्न थाले,’ सडक डिभिजन कार्यालयका प्रमुख निरोज शाक्ले भने ‘त्यसमाथि पुल र सडक जोड्ने ठाउँमा पीच गरिएका छैनन्, फलतः माटो पनि पुलको पिचमा आउने भयो, अनि पानी पनि जम्ने भएकाले त्यसको असर पीचमा पर्न गएको हो।’

उनका अनुसार पुल निर्माण कम्पनीहरुलाई पुलमा देखिएको उक्त समस्या तत्काल हटाउन सडकले भनिसकेको छ। हाल पानी परिरहेकाले पुलको मर्मत गर्न नसकिकएको शाक्ले बताए। ‘पुलमा पीच उप्किएको समस्या चाँडै समाधान हुन्छ, हामीहरुले निर्माण कम्पनीहरुलाई मर्मतका लागि भनिसकेका छौँ,’ शाक्यले भने।

प्रकाशित: ३० भाद्र २०७७ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App