coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हवाइ उडान तथा यातायात सुरु हुने भएपछि ताप्लेजुङमा पूर्व तयारी

ताप्लेजुङमा असोज ५ गतेबाट सार्वजनिक यातायात र  आन्तरिक हवाई उडान सुरु हुने भएको छ। कोरोना संक्रमण जोखिम व्यवस्थापनको लागि ताप्लेजुङमा पूर्व तयारी थालिएको हो।  

मंगलवार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान सुरु भएसंगै कोरोना संक्रमण भित्रन सक्ने भएकोले त्यसबिरुद्ध प्रतिकार्य योजनाको खाँका तयार पार्ने निर्णय लिएको हो। प्रारम्भिक चरणमा थप स्वास्थ्य जनशक्ति व्यवस्थापनको कार्ययोजना बनाइने छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले ताप्लेजुङ जिल्ला अस्पताल र ९ वटै पालिकाका स्वास्थ्य संयोजक संगको समन्वयमा कम्तिमा थप १८ जनाको स्वास्थ्य जनशक्ति तयारी हालतमा राख्ने निर्णय भएको बताए।  

यसको संयोजन गर्ने जिम्मेवारी स्वास्थ्य कार्यालल ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलाई दिईएको छ। पोखरेलले ९ वटै पालिकामा स्थानीय स्वास्थ्य सेवा प्रभावमा कुनै असर नपर्ने गरी प्रत्येक पालिकाबाट पारामेडिक र नर्सिङ क्षेत्रका १–१ जना गरी २ जना स्वास्थ्य जनशक्ति तयारी हालमा राख्ने प्रकृयाको संयोजन गर्नेछन्। ‘ठूलो रुपले संक्रमण जोखिम परेको खण्डमा त्यसबिरुद्ध प्रयोग हुने गरी यो टिम तयारी अवस्थामा राखिने छ’ कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले भने। स्वयंसेवकसहितको थप कार्यरत जनशक्तिको खाना,आवास र थोरै मात्रामा प्रोत्साहन रकमको व्यवस्थापनसमेतको  पक्रियाका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले कार्य योजना बनाउने भएको छ।  

अब कोरोना संक्रमित फेला परे १० जना सम्मलाई जिल्ला अस्पतालको आइसोलेनमा राखिने छ। तर,अहिले ताप्लेजुङमा अहिले कोरोना संक्रमित छैनन्। यसअघि ८ जनामा कोरोना संक्रमण देखा परेपनि ति सबै संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। यस अर्थमा ताप्लेजुङ शून्य संक्रमित जिल्ला हो। संक्रमणको लक्षण देखिएका वा संक्रमणका कारण थप समस्यामा रहेका बिरामीलाई मात्र जिल्ला बाहिरको कोरोना संक्रमण उपचार केन्द्रमा पठाइने छ।  

१० जना भन्दा बढी संक्रमण भएको अवस्थामा भने फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनसहित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले प्राथमिकता तोकेर निर्धारण गरेका केन्द्रहरुमा राखिने छ। संक्रमणको कुनै लक्षण नदेखिएकाहरुका लागि १४ दिन अनिवार्य होम आइसोलेसनमा बस्नुपर्ने र होम आइसोलेसनमा बसेकाहरुको नियमित अनुगमनका लागि सबै स्थानीय तहहरुसंगको समन्वयमा सुक्ष्म अनुगमन गर्ने योजना बारे पनि छलफल सुरु भएको छ।

 सो अवधिमा संक्रमणसंग मिल्लोजुल्दो लक्षण देखा परे पीसीआर परीक्षण गरी निजलाई आइसोलेसनमा राखिने र यस्तो अवस्था नभए थप सर्तकताका साथ बस्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नेगरी योजनाका बारेमा छलफल सुरु भएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ। यसबाहेक सवारी र यात्रुले व्यक्तिगत सुरक्षाका न्यूनतम् मापदण्ड पालना गरे÷नगरेको समेतको प्रभावकारी अनुगमन गर्ने,चाडवाडका बेला हुने अनावश्यक भिडभाड नियन्त्रण गर्ने लगायतका बिषयमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले सरोकारवालालाई आ–आफ्नो कार्ययोजना तयार पार्न अनुरोध समेत गरेको छ।  

प्रकाशित: ३० भाद्र २०७७ १०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App