coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेवास्ताले निम्तिएको विपत्ति

घुम्थाङको भिरखर्क पहाडबाट प्रायःजसो सानाठूला ढुंगा खसिरहन्थे। ढुंगा छल्दै बाँच्ने स्थानीयलाई बानी नै परेको थियो। गएको हिउँदमा त भिरखर्कबाट सुक्खा पहिरो नै खसेको थियो। पहिरोको मुखैमा रहेका केही घरपरिवार असुरक्षित महसुस गर्दै आसपास सुरक्षित स्थलमा सरे। पहिरोले क्षति नपु¥याएकाले धेरैले सर्न जरुरी ठानेनन्।  

हिउँदको सुक्खा पहिरोलाई बेवास्ता गर्दा आइतबार बिहानै बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित भिरखर्क, भिरथाप्लो र नागपुजे बस्ती मसानघाटमा परिणत भए। भिरखर्क पहाडबाटै वर्षाले गलेको ढिस्को खसेर ‘असाधारण पहिरो’ आउँदा ठूलो जनधनको क्षति भयो।  

घुम्थाङको भिरखर्क पहाडबाट प्रायःजसो सानाठूला ढुंगा खसिरहन्थे। ढुंगा छल्दै बाँच्ने स्थानीयलाई बानी नै परेको थियो। गएको हिउँदमा त भिरखर्कबाट सुक्खा पहिरो नै खसेको थियो। पहिरोको मुखैमा रहेका केही घरपरिवार असुरक्षित महसुस गर्दै आसपास सुरक्षित स्थलमा सरे। पहिरोले क्षति नपु¥याएकाले धेरैले सर्न जरुरी ठानेनन्।  

हिउँदको सुक्खा पहिरोलाई बेवास्ता गर्दा आइतबार बिहानै बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित भिरखर्क, भिरथाप्लो र नागपुजे बस्ती मसानघाटमा परिणत भए। भिरखर्क पहाडबाटै वर्षाले गलेको ढिस्को खसेर ‘असाधारण पहिरो’ आउँदा ठूलो जनधनको क्षति भयो।  

‘अहिले त्यही ठाउँबाट ढिस्को खसेर पहिरो झरेको हो,’ घुम्थाङका वडाध्यक्ष मीनबहादुर श्रेष्ठले भने, ‘भिरखर्कमा पहिरो जानसक्ने अनुमान गरिए पनि यति तलसम्म पहिरो आएर समथर जमिनमा रहेको बस्ती नै बगाउँछ भन्ने कल्पनै गरेका थिएनौँ।’ उनका अनुसार पहिरो प्रभावित स्थल सुक्खाग्रस्त क्षेत्र हो। हिउँद त के अहिले वर्षामै पनि खानेपानी अभाव छ।  

घटनास्थल पुगेर फर्केका जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले झट्ट हेर्दा अविरल वर्षापछि गलेको ढिस्को खसेर पहिरो निम्तिएको देखिने बताए। ‘पहिरोले चर्चेको क्षेत्र र क्षति हेर्दा यो असामान्य पहिरो हो,’ उनले भने। भिरखर्कबाट खस्न सुरु गरेको पहिरो त्यसपछिका तीन बस्ती लछार्दै झन्डै एक किलोमिटर तल भोटेकोसी नदीमा पुगेको थियो।  

लेदो माटोसहित खसेको ढिस्कोले क्षेत्र विस्तार गर्दै क्रमशः पहिरोको रूप लिएको स्थानीय अगुवा रेशम प्रधान बताउँछन्। ‘खसेको ढिस्को केही बेर स्थिर हुँदै पुनः बग्दै, जमिन र बस्ती सोहोर्दै अघि बढ्दा असमान्य पहिरो निम्तिएको देखिन्छ,’ उनले भने। ढिस्कोमुनि ५८ घरपरिवारको भिरखर्क बस्ती छ। केही भिरालो यो बस्तीमा नेवार र विक टोल छन्। अलि पर सानो टोल भिरथाप्लो छ।  

भिरखर्कको झण्डै ८ सय मिटर तल रहेको नागपुजे बस्तीमा पहिराले सबैभन्दा बढी जनधनको क्षति गरेको स्थानीय बताउँछन्। तामाङ, शेर्पा, क्षेत्रीलगायत समुदाय बस्ने नागपुजेको नौ घरपरिवारको हगामे टोल नै बगाएको प्रधानले जानकारी दिए। ‘यो टोलका मात्रै २० जना पहिरोमा परे,’ उनले भने। प्रहरीका अनुसार पहिरोले बगाउँदा यी तीन बस्तीका २२ घरको नामोनिसान छैन। बस्न नमिल्नेगरी अरू ५० भन्दा बढी घर क्षतिग्रस्त छन्।  

पहिरो जाँदा स्थानीय निद्रामा थिए। भागेर बाँचेका घाइतेबाहेक पूर्ण क्षतिग्रस्त घरका सबै पहिरोमा परेका हुन्। पाँच–देखि सात घरका सिंगो परिवार पहिरोमा परेको प्रधान बताउँछन्। ‘उनीहरूको रोइदिनेसम्म कोही छैन,’ उनले भने। उनका अनुसार एकै परिवारका ६ सदस्यसम्म पहिरोमा परेका छन्। बाक्लो बस्ती रहेको नागपुजे भने समथर भूभागमा छ।  

सुक्खा पहिरो खसेको लामो समयसम्म सम्भावित विपद्बारे कसैको ध्यान गएन। जब असारदेखि जिल्लामा अनुमान नै नगरेको स्थलमा एकपछि अर्को गर्दै बाढीपहिरोको प्रकोप निम्तियो, तब मात्रै सबैको मन चिसो भयो। नगरले जोखिमयुक्त बस्ती पहिचान गर्न वडालाई पत्राचार ग¥यो। वडाले दुई साताअघि मात्रै सुक्खा पहिरो खसेको क्षेत्र भिरखर्कका १४ घर जोखिममा रहेको भन्दै सुरक्षितस्थलमा सार्न नगरलाई आग्रह गरेको थियो।  

तर यतिञ्जेल निकै ढिला भइसकेको थियो। ‘जोखिममा परेका घर परिवालाई सुरक्षितस्थलमा सार्न प्रक्रिया थालिरहँदा अकल्पनीय पहिरोले झुक्यायो,’ वडाध्यक्ष श्रेष्ठले भने। उनका अनुसार भिरखर्कमा ५८ घरपरिवारको बस्ती छ। जोखिमका भिरखर्कका १४ घरलाई नागपुजे र टङसर बस्तीलाई चिप्लेडाँडामा सार्न वडाले नगरलाई पत्रचार गरेको श्रेष्ठले बताए। १३–१४ दिनअघि वडाको पत्रपछि नगरले एकपटक भूगर्भविद्बाट अध्ययन गराएपछि बस्ती स्थानान्तरणबारे निर्णय गर्ने आश्वासन दिएको बताउँदै उनले भने, ‘विज्ञभन्दा पहिलो पहिरो आयो।’  

पहिरोमा जोखिमयुक्त पहिचान गरिएका बस्तीका चार जनाले ज्यान गुमाएका छन्। केही घर क्षतिग्रस्त छन्। वडाध्यक्ष श्रेष्ठका अनुसार नापपुजे गाउँ बाह्रबिसे नगरमै सबैभन्दा सुरक्षित मानिएको थियो।  

समयमै सुक्खा पहिरो खसेको भिरखर्कका स्थानीयलाई सुरक्षितस्थलमा सारेर त्यहाँ संरक्षणको काम गरिएको भए अहिले हरोले यति धेरै क्षति नपु¥याउने स्थानीयको बुझाइ छ।  

आफ्नो निर्वाचन क्षेत्रको पहिरोस्थलको अवलोकनपछि प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले घुम्थाङ पहिरो ‘असाधारण पहिरो’ भएको प्रतिक्रिया दिए। ‘यो सामान्य खालको पहिरो नभएर असामान्य नै हो,’ उनले भने, ‘थप जनधनको क्षति हुन नदिन तत्काल यस क्षेत्रको भौगर्भिक अध्ययन गरिनुपर्छ।’ भूकम्पको असरका कारण घुम्थाङ पहिरो निम्तिन सघाएको हो कि होइन भन्ने यकिन भइसकेको छैन। २०७२ वैशाख १२ गतेको भूकम्पपछि पुनर्निर्माण प्राधिकरण भौगर्भिक अध्ययन तथा जग्गा व्यवस्थापन शाखाले जिल्लाका २ सय ४२ स्थलको अध्ययन गरेको थियो। विज्ञले ७१ बस्ती जोखिममा रहेको पहिचान गरेको थियो। प्राधिकरणले घुम्थाङको पहिरोस्थल क्षेत्रको अध्ययन गरेको भने पाइएन।  

भूगर्भविद् श्रीमकल द्धिवेदी स्थानीयको हेलचेक्र्याइँ र मुलुकको प्रणालीले काम नगर्दा बर्सेनि विपद्ले ठूलो जनधनको क्षति पु¥याइरहेको बताउँछन्। सुक्खा पहिरो गइसकेपछि अध्ययन नगरिनुलाई उनी ठूलो कमजोरी ठान्छन्। ‘सुक्खा पहिरो संकेत थियो। त्यसलाई बुझ्न र बुझाउँन नसक्दा बिडम्बना भयो,’ विपद्को मात्र काम गर्ने छुट्टै संरचनाको आवश्यकता औँल्याँदै  उनले भने।

मृतक १४ पुगे, १७ अझै बेपत्ता

घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये सोमबार थप तीनको शव भेटिएको छ। योसँगै उक्त पहिरोमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। पहिरोमा अझै १७ हराइरहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले २२ वर्षीय कुमार विक, २१ वर्षीया सोनिया विक र ५३ वर्षीय सिंहबहादुर प्रधानको शव फेला परेको बताए। योसँगै पहिरोमा ७ महिला, ५ पुरुष र १÷१ बालक तथा बालिकाले ज्यान गुमाएका छन्।  

यसअघि आइतबार ५ वर्षीया बालिका सरस्वती विक, करणबहादुर श्रेष्ठ (२५), भक्तिमाया श्रेष्ठ (६३), ट्याक्सी शेर्पा (९८), ज्ञानीमाया प्रधान (४२), जुनु विक (२३), सुकुलाल विक (२४), सन्देश विक, सर्किनी नेवार (६०), धनलाल नेवार (६५) र हिरामाया श्रेष्ठ (४२) को शव भेटिएको थियो। प्रहरीका अनुसार पहिरोमा रसबहादुर नेवार (४८), दिलमाया श्रेष्ठ (१८), रीता श्रेष्ठ (३७), डालियल श्रेष्ठ (५), नादान श्रेष्ठ (४), अमृत श्रेष्ठ (२५), मनिता श्रेष्ठ (२५), रविना श्रेष्ठ (२७), रेयुशा श्रेष्ठ (८), पदमकुमारी श्रेष्ठ (६०), रामकुमारी श्रेष्ठ (४२), लालबहादुर श्रेष्ठ (५१), बुद्धलक्ष्मी श्रेष्ठ (५०), लक्ष्मी श्रेष्ठ (११) र रूपा बिक (१०) बेपत्ता छन्। बेपत्ता पाहुना आएकी एक महिला र दुई महिने एक बालकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

‘पहिरोमा भोटेकोसी नदीमा जोडिएका बस्तीका धेरै बेपत्ता छन्। उनीहरूको खोजीमा जटिलता थपिएको छ,’ डिएसपी सापकोटाले भने। बेपत्ताको मंगलबार एस्काभेटरको सहायताले खोजी गरिने उनले जनाए। उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली बेपत्ताको खोजीमा परिचालित छ।

अबिरल वर्षासँगै आइतबार बिहान साढे दुई बजेतिर बाह्रविसे नगरपालिका–७ घुम्थाङमा बाक्लो बस्तीमाथिको भिरखर्कको ढिस्को खसेर पहिरो निम्तिदा भिरखर्क, भरिथाप्लो र नागपुजे गाउँका २२ घर बगाएको थियो। अरू झण्डै ५० घर बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेको छ। पहिरोमा घाइते भएका आठ उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।  

१ सय ७८ परिवारले घर छोडे  

पहिरोपछि उच्च जोखिममा रहेका भिरखर्क, भिरथाप्लो र नागपुजे बस्तीका एक सय ७८ परिवारले घर छोडेका छन्। उनीहरूलाई नागपुजेकै सुरक्षित महसुस गरिएको फराकिलो चौरमा राखिएको छ। उनीहरूलाई बस्न त्यहाँ बाह्रबिसे नगरले उपलब्ध गराएको ४५ टेन्ट गाडिएको छ।  

‘सोमबार साँझ र मंगलबारसमेत थप त्रिपाल, टेन्ट, खाद्यन्न लगायत राहत सामग्री पठाएका छौँ,’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने। बेपत्ताको खोजी तथा विस्थापितको राहत तथा उद्धारमा कुनै कसर बाँकी नराख्ने उनले दाबी गरे।  

घुम्थाङसहित सिन्धुपाल्चोकमा पछिल्लो दुई महिनामा बाढीपहिरोका ८ घटनामा परी मृत्यु हुनेको संख्या ७१ पुगेको छ। पहिरोमा अझै ३८ बेपत्ता छन्। ती पहिरोमा ४१ घाइते भएका थिए।

प्रकाशित: ३० भाद्र २०७७ ०१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App