coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘अख्तियार नेतृत्वबाट संविधानलाई धोका’

मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय आफ्नो दायित्वबाट विचलित हुँदै गएको भन्दै आलोचना भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अवकाश हुनुभन्दा केही समयअघि नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितता फाइल तामेलीमा राखेपछि चौतर्फी विरोध भएको थियो। घिमिरेको नेतृत्वमा अन्य ठूला भ्रष्टाचारका मुद्दा नचलाई उन्मुक्ति दिएको आरोप छ। घिमिरे आइतबार बिदा भएका हुन्।

अख्तियार नेतृत्वले राजनीतिक र शक्ति दलाल समूहको प्रभावमा परेर संविधानले दिएको जिम्मेवारीबाट विचलित भई मुलुक र संविधानप्रति धोका दिएको पूर्वन्यायाधीशहरूले टिप्पणी गरेका छन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले अख्तियारको नेतृत्वले मुलुक, संविधान र जनताप्रति धोका दिएको टिप्पणी गरे। संविधानलाई धोका दिनेलाई कानुनले मिल्छ भने मुद्दा चलाउनुपर्ने केसीको तर्क छ। ‘आफूले लिएको शपथ र संविधानलाई बेइमानी गर्ने काम अख्तियार नेतृत्वबाट भएको छ,’ पूर्वन्यायाधीश केसीले नागरिकसँग भने, ‘कानुनले कतै दिन्छ भने उहाँ (घिमिरे) माथि मुद्दा चलाउनुपर्छ।’ अख्तियारको नेतृत्वले आफू अवकाश हुने बेला मुद्दा नचलाई तामेलीमा राख्ने प्रवृत्ति गलत भएको उनले बताए। ‘अख्तियारका पदाधिकारीले संविधानले दिएको जिम्मेवारी पूरा गर्न चुक्नुभयो,’ उनले भने, ‘जाने बेलामा भ्रष्टाचारका मुद्दा खासखुस गरेर टुंग्याउन मिल्दैन।’ राज्यले संवैधानिक निकायका पदाधिकारीलाई दिएको सम्मानप्रति धोका भएको उनले टिप्पणी गरे। संविधानले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने व्यक्ति आयोगमा जान नहुने उनको भनाइ छ।  

बलराम केसी,पूर्वन्यायाधीश, सर्वोच्च अदालत

‘व्यक्तिगत फाइदामा हिँड्ने हो भने कसरी भ्रष्टाचार नियन्त्रण हुन्छ,’ उनले भने, ‘जसले नियुक्त गरे पनि पदमा पुगेपछि संविधान र कानुनले दिएको जिम्मेवारी पूरा गर्नुपर्छ।’ संवैधानिक निकाय जागिर खान मात्र जाने ठाउँ नभएको पूर्वन्यायाधीश केसीले बताए। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की अख्तियार नेतृत्व आफ्नो भूमिकाबाट विचलित भएको बताउँछन्। अख्तियारको नेतृत्व गरिरहेका आयुक्तहरू आफूलाई नियुक्त गर्ने राजनीतिक नेतृत्वप्रति अनुगृहीत हुँदा समस्या सिर्जना भएको बताए। अख्तियार ठूला भ्रष्टाचारका मुद्दामा चुकेको कार्कीले टिप्पणी गरे। ‘अख्तियार नेतृत्वले संवैधानिक जिम्मेवारी निर्वाह गर्न सकेन,’ उनले नागरिकसँग भने, ‘अख्तियारमा कार्यकारीको छाया प¥यो।’ अख्तियार सरकारको आदेशअनुसार चलेको आरोप उनले लगाए। अख्तियारले ठूला भ्रष्टाचारमा मुद्दा नचलाउँदा संस्थाप्रति अविश्वास बढेको उनको ठहर छ। प्रधानमन्त्रीले फलानो ठाउँ, फलानो मन्त्रीले भ्रष्टाचार गरेको छैन भनेकै आधारमा मुद्दा नचलाउनु दुःखद भएको टिप्पणी उनले गरे। ‘अख्तियारले सरकारको आदेश मान्ने कि संविधानले दिएको जिम्मेवारी पूरा गर्ने’, कार्कीले प्र्र्रश्न गर्दै भने, ‘गरुडको छायामा सर्प परेजसरी अख्तियार कार्यकारीको छायामा प-यो।’

अख्तियार नेतृत्वबाट मुलुकको संविधान र जनताप्रति धोका भएको छ। कानुनले कतै दिन्छ भने उहाँ (नवीन घिमिरे) माथि मुद्दा चलाउनुपर्छ।

बलराम केसी,

पूर्वन्यायाधीश, सर्वोच्च अदालत

नियुक्ति प्रक्रिया राजनीतिक भागबन्डाका आधारमा गर्नु नै गलत भएको कार्की बताउँछन्। ‘नियुक्ति गर्दा नै कबुल गराएर नियुक्ति दिन्छन्,’ कार्कीले भने, ‘अनि कसरी आशा गर्न सकिन्छ ?’ नियुक्ति प्रक्रिया स्वच्छ हुनुपर्ने उनले बताए। ‘योग्यता, दक्षता, क्षमताका आधारमा काबिल व्यक्तिलाई नियुक्त नगर्नु नै दुर्भाग्य हो,’ उनले भने, ‘यसले संस्थाको गरिमा  

घट्यो।’ अख्तियारले ठूला मुद्दा दर्ता नगरे सानातिना मुद्दामा अल्झेको कार्कीले बताए। पीडितले उजुरी गरेपछि मात्र अहिलेका अधिकांश मुद्दा भएको उनले बताए। ‘संस्थालाई नेतृत्वले बदनाम गर्ने काम ग¥यो,’ उनले भने, ‘नियुक्ति गर्ने प्रक्रिया फेर्नुपर्छ।’

भ्रष्टाचार नियन्त्रण गर्न जिम्मेवारी पाएको निकायमा जाने पात्रमा पनि आम रूपमा प्रश्न उठेको छ। आयोगका दुई पूर्वआयुक्त दीप बस्नेत र राजनारायण पाठकमाथि यसअघि मुद्दा लागेको छ। ससाना मुद्दामा अल्झिएर राजनीतिक शक्ति र पहुँचका आधारमा ठूला भ्रष्टाचारका मुद्दा नचलाएको भन्दै भ्रष्टाचारविरुद्ध काम गरिरहेका संस्थाले बताएका छन्। संवैधानिक र कानुनी जिम्मेवारी पूरा नगरेको भन्दै सामाजिक सञ्जालमा पनि आलोचना भएको छ। पूर्वन्यायाधीश मात्र नभएर राजनीतिक नेतृत्वले पनि अख्तियार आफ्नो दायित्वबाट विमुख हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै अख्तियारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको टिप्पणी गरेका थिए।  

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा न्यायालय, अख्तियारजस्ता राज्यका महŒवपूर्ण अंगहरूभित्रका संरचनात्मक कमजोरीहरू निकै गम्भीर ढंगले उद्घाटित भएको बताएका छन्। सामाजिक सञ्जालमा ट्विटरमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। उनले भनेका छन्, ‘तिनलाई बेलैमा उपचार नगरे भोलि लोकतन्त्र नै संकटमा पर्न सक्छ। बेलैमा टालटुले हैन, संरचनात्मक उपचार खोजौं।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारमा भएका लापरबाही माथि छानबिन गर्न माग गरेका छन्। पौडेलले एक विज्ञप्ति प्रकाशित गरी उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन्। ‘अख्तियारका वर्तमान र पूर्वपदाधिकारी सदस्यलाई जिम्मेवार बनाउन पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा भरोसायोग्य उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्छ,’ पौडेलले भनेका छन्, ‘अर्बौंका भ्रष्टाचार चर्चामा रहे पनि अख्तियारले तदारुकताका साथ छानबिन गरी दोषीलाई कारबाही गरेन।’

भ्रष्टाचार मुद्दामा अनुसन्धान गर: ट्रान्सपरेन्सी

भ्रष्टाचारविरुद्ध काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भूमिकामा प्रश्न उठाएको छ। आयोगले तामेलीमा राखेका आधा दर्जन मुद्दामा छानबिन गर्न ट्रान्सपरेन्सीको माग छ।  

आइतबार एक विज्ञप्ति प्रकाशित गरी आयल निगमको जग्गा खरिद प्रकरण, वाइड बडी जहाज खरिद प्रकरण, न्यारो बडी जहाज खरिद, नेपाल ट्रस्टको जग्गाहरू यती कम्पनीलाई लिजमा दिएको, सेक्युरिटी प्रेस खरिदमा तत्कालीन सञ्चार मन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहको अनियमिततालगायत ठूला मुद्दामा अनुसन्धान गर्न ट्रान्सपरेन्सीले आग्रह गरेको छ। भ्रष्टाचारका मुद्दामा अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।  

अख्तियारले निष्पक्षता र निर्भीकतापूर्वक आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नसकेको विज्ञप्तिमा उल्लेख छ। ‘सत्ताको दबाब र प्रभावमा परी राजनीतिक नेतृत्वहरूको संलग्नता, निर्देशन वा संरक्षणमा हुने ठूला भ्रष्टाचारका मुद्दाहरू नचलाई तामेलीमा राख्दै गए आयोगको औचित्य पुष्टि गर्न गाह्रो पर्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ३० भाद्र २०७७ ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App