८ वैशाख २०८१ शनिबार
समाज

बजारमा कडाई, गाउँमा मेला

धवलागिरी गाउँपालिका–७, ताकम माविमा आयोजित खेलकुद प्रतियोगिता। तस्वीर सौजन्य: किरण थापा

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकममा तीनदिने वडास्तरीय मेला भलिबल प्रतियोगिताको आयोजना गरियो। साविकको ताकम गाविस भित्रका खेलाडीको सहभागिता रहेको प्रतियोगिता हेर्ने दर्शक खचाखच थिए। धौलागिरी जनजन युवा क्लब अन्तरगत टोल नं ५ ले ताकम माविमा आयोजना गरेको प्रतियोगितास्थल प्रहरी चौकीबाट करिब पाँच मिटरको दुरीमा छ। तीनदिनसम्म आयोजित प्रतियोगितामा स्थानीय सरकार, प्रहरीले समेत हस्तक्षेप गर्न सकेन। छिमेकी मालिका गाउँपालिका–५ देविस्थानमा केहीदिन अगाडी फुटबल प्रतियोगिता भयो।

 फुटबल, भलिबल, ब्याडमेन्टिन प्रतियोगिताको पुरस्कारसहितको जानकारी सामाजिक सञ्जालमै राख्ने गरिएको छ। सदरमुकाम बेनी आसपासका क्षेत्रमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिन सक्ने भन्दै अनिवार्य मास्क प्रयोग नगर्नेहरुलाई प्रहरीले समात्दै जरिवाना तिराउने गरेपनि ग्रामिण क्षेत्रमा खेलकुदजन्य गतिविधिलाई नियन्त्रण गर्न स्थानीय सरकार र प्रशासनको नजर पुग्न सकेको छैन्।  

नेपाल सरकारले लकडाउन खोले पनि भिडभाड नगर्न दिएको निर्देशनको ग्रामीण  क्षेत्रमा उल्लंघन हुने गरेको छ। ‘मास्क नलगाएकालाई जरिवाना गरिन्छ,‘गाउँमा हुने खेलकुद प्रतियोगितामा ध्यान जादैन’ एक युवाले भने। माईकिङ गरेर सर्वसाधारणलाई सूचना दिए जस्तै ग्रामीण क्षेत्रमासमेत स्थानीय प्रहरीले सक्रियता देखाउनु पर्ने स्थानीयले माग गरेका छन्। सदरमुकाम बेनी आसपासका क्षेत्रबाट खेलकुदमा सहभागी हुन ग्रामीण क्षेत्रमा पुगेर खेलकुद गतिविधिमा सहभागि हुने गरेको भन्दै स्थानीयले समेत प्रतियोगिताको विरोध गदैं आइरहेका छन्। ‘विद्यालयमा खेलकुद गतिविधि सञ्चालन गर्न पाईदैन्,‘जनप्रतिनिधिले नै रोक्न चासो दिदैन’ एक शिक्षकले भने। कोरोना भाइरससँग सम्बन्धि जनस्वास्थ्य मापदण्डको कार्यान्वयन गर्न यूवाहरुलाई अनुरोध गर्दा गाउँ बारिहबाट खेलकुदमा सहभागि हुन नआउने भन्दै अटेर गर्ने गरेका छन्।  

यता प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले राजनीतिक दलका नियमित कार्यक्रमहरु समेत स्थगित भइसकेको अवस्थामा पछिल्ला मेलापर्वको बारेमा जानकारी नभएको बताए। ‘मेलाका बारेमा कुनै जानकारी छैन्,‘सरकारी निर्देशनको उल्लंघन गरेको भेटिए कारवाही हुन्छ’ प्रजिअ अधिकारीले भने। जिल्ला प्रशासन कार्यालयले रघुगंगा गाउँपालिका–४ दग्नाममा युवाहरुले परम्परागत धार्मिक कार्यक्रमको निरन्तरताका लागि २ घण्टा कार्यक्रम गर्दा मध्यरातमा पक्राउ गरेर संक्रामक रोग ऐन २०२० बमोजिम लकडाउन उल्लंघन गरेको भन्दै जरिवान तिराएको थियो। 

छिमेकी जिल्ला बागलुङको पश्चिम क्षेत्रमा समुदायमै कोरोना संक्रमति भेटिएको अवस्थामा खेलकुद प्रतियोगिता नै सञ्चालन गर्दा थप जोखिम बढेको स्वास्थ्यका जानकारहरु बताउँछन्। कोरोना संक्रमणबाट बच्न मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता सन्देशमुलक कार्यक्रमलाई तिब्रता दिनुपर्ने बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले बताए। उनले भिडभाडबाटै संक्रमणको जोखिम अत्याधिक हुने भएकाले सकेसम्म सामाजिक दुरी कायम हुने कार्यक्रममा मात्रै सहभागि हुनुपर्ने बताए।  

प्रकाशित: २९ भाद्र २०७७ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App