coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरामा दिनहुँ वर्षा: २२ वर्ष अघिको रेकर्ड पछ्याउँदै

पोखरामा वर्षभरिमा ३ हजार देखि ३२ सय मिलिमिटर वर्षा हुनुलाई औषत मानिन्छ। झन्डै पाँचदशक अवधिको तथ्यांक अनुसार पोखरामा सन् १९९८ मा सबैभन्दा बढी ४८७९ मिलिमिटर वर्षा भएको थियो। त्यो तथ्यांकलाई पछ्याउँदै यो वर्ष (झन्डै २२ वर्षपछि) निरन्तर जसो भीषण वर्षा भईरहेको जल तथा मौसम विज्ञान कार्यालयले बताएको छ।  

जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार सन् २०२० को अहिलेसम्म (सेप्टेम्बर मध्य) सम्म पोखरामा झन्डै ४५०० मिलिमिटर वर्षा भईसकेको छ। सेप्टेम्बरको अझै केहीदिन पानी पर्ने सम्भावना रहेकोले २२ वर्ष अघि (१९९८) को रेकर्ड सहजै भेट्ने सम्भावना रहेको कार्यालयका प्रमुख राजारामप्रसाद ढकालले बताए। ढकालका अनुसार १९९८ को रेकर्ड यो वर्ष बे्रक हुने अधिक सम्भावना रहेको छ।  

‘अझै केहीदिन मनसुनको अवधि बाँकी छ। त्यसबाहेक अक्टोवरसम्म पनि पानी पर्ने सम्भावना भएकोले १९९८ को त्यो रेकर्ड पक्का तोडिन्छ,’ ढकालले भने, ‘अहिलेको भीषण वर्षाको निरन्तरता हेर्ने हो भने त अबको एक–दुई दिनमै त्यो रेकर्ड तोडिन्छ। किनकी पछिल्लो समय पोखरामा दिनहुँजसो भीषण वर्षा भईरहेको छ।’ यो वर्ष (२०२०) सकिन अझै साढे तीन महिना बाँकी रहेकोले पनि २२ वर्ष अघिको रेकर्ड सहजै तोडिने सम्भावना रहेको उनले बताए। ‘त्यो रेकर्ड (१९९८) को ननाघ्ने हो भने त अहिलेदेखि नै पानी पर्न रोकिनुपर्छ। तर, त्यो अवस्था छैन,’ उनले भने। पोखराको औषत वर्षाको तह यो वर्ष साढे तीनमहिना अघि नै कटिसकेको उनले बताए।

त्यसबाहेक सेप्टेम्बरमा पोखरामा ६४० मिलिमिटर वर्षा हुनुलाई औषत मानिन्छ। त्यो औषत पनि यो सेप्टेम्बरको १४ दिनमै नाघिसकेको छ। ढकालका अनुसार सेप्टेम्बरको १४ दिनमा पोखरामा ६६० मिलिमिटर वर्षा भईसकेको छ। ‘सेप्टेम्बर २३ सम्म मनसुन रहन्छ। अझै झन्डै १० दिन मनसुनी अवधि छ। त्यसबाहेक जल तथा मौसम विज्ञान कार्यालयले सेप्टेम्बर ३० सम्म नेपालमा वर्षा हुने प्रक्षेपण गरिसकेको छ,’ ढकालले भने, ‘अहिलेको संकेत हेर्दा सेप्टेम्बर २३ मा पनि मनसुन सकिँदैन। ढिलागरि भित्रिएको मनसुन एकसाता पछाडि धकेलिने सम्भावना छ।’ यो वर्ष पोखरामा मात्र अधिक वर्षा भएको उनले बताए। ‘अहिले नै ३÷४ दिनको वर्षाको सम्भावनाबारे प्रक्षेपण भईसकेको छ,’ उनले भने, ‘अझै केहीदिन भीषण पानी पर्ने सम्भावना छ।’

उनका अनुसार यो वर्ष अघिल्ला महिना पनि पोखरामा औषतमा पानी परिरहेको थियो। गत अगष्ट महिनामा पोखरामा ८ सय ६५ मिलिमिटर वर्षा भएको थियो। पोखरामा अगष्टको वर्षाको औषत ८६६ मिलिमिटर हो। यो वर्ष अघिल्ला वर्ष भन्दा हरेक महिनाजसो बढी वर्षा भईरहेको उनले बताए। सन् २०१८ को अगष्टमा पोखरामा ६०० र सेप्टेम्बरमा ५५७ मिलिमिटर वर्षा भएको थियो। सन् २०१९ को अगष्टमा ३१८ र सेप्टेम्बरमा ६१२ मिलिमिटर वर्षा भएको थियो। ‘यो वर्ष बढी नै वर्षा भएको हो। सेप्टेम्बरमा बढी वर्षा भएको छ,’ ढकालले भने, ‘सेप्टेम्बरको अझै आधा महिना बाँकी हँुदा वर्षादको औषत निकै नै अकाशिने अनुमान छ।’ मनसुनकै कारण पोखरामा अहिले वर्षा भईरहेको उनले बताए।

दिनहुँजसो भीषण वर्षा भएपछि यहाँका सडक, बाटोघाटोमा क्षति पुगेको छ। प्रायजसो रातको समयमा यहाँ पछिल्लो समय भीषण वर्षा हुने गरेको छ। निरन्तरको वर्षाले पोखराका सडकमा भेल आउँदा मुल सडकमा बढेमानका खाडल परेका छन्। ती खाडलमा पानी जम्मा हुँदा सवारी दुर्घटनाको जोखिम बढाएको ट्राफिक प्रहरीले बताएको छ। पोखरा महानगरपालिकाका अधिकांश सडकमा अहिले खाडल पर्नुमा निरन्तरको वर्षा रहेको महानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले बताए।  

‘अरुबेला सानो खाडल परेको भएपनि यो बेला निरन्तर वर्षा भएको छ। त्यही खाडलमा सवारी ठोक्किन पुग्दा झनै आकार बढ्ने गरेको छ। निरन्तर वर्षाले सडकमा धराप बढेका छन,’ काफ्लेले भने, ‘खाडल पुर्नका लागि टेण्डर आव्हान गरेपनि वर्षाले गर्दा काम हुन सकेको छैन। सडकमा कालापत्रे गर्ने कामदार पनि तराईबाट आउनुपर्ने र ती कामदार कोरोना संक्रमणका कारण आउन नसक्दा कामले गति लिन नसकेको हो।’ सडक कालोपत्रेमा खटिने कामदारको एक समुह तराईबाट आएको भएपनि त्यो समुह अन्यत्रै व्यस्त भएकोले पनि पोखरामा खाडल पुर्न नसकिएको उनले बताए।  

‘भीषण वर्षा भईरहेको छ। त्यसले गर्दा पनि अहिले सडकमा सबैतिर खाडल देखिएका छन,’ उनले भने, ‘सडकमा परेका खाडल वर्षेनी पुर्न नपरोस भनेरै महानगरले मुल बाहेक भित्री सडकलाई कंक्रिट बनाउने योजना बनाएको छ।

पोखराको वर्षा

पोखराको भीषण वर्षामा सवारी कुँदाउँदै सर्वसाधारण। फाइल तस्बिरः उमेश पुन÷नागरिक

 

प्रकाशित: २९ भाद्र २०७७ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App