८ वैशाख २०८१ शनिबार
समाज

कारागारमै कोचिए संक्रमित कैदीबन्दी

सिरहा कारागार।

जिल्ला कारागार सिरहाका ८१ जना कैलीबन्दीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ। संक्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागारकै केही कोठामा कोचेर राखिएको छ।  शुक्रबार जिल्ला कारारगार सिरहाका १९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भयो। १७ जना महिला र दुई जना आश्रित बालबालिकामा संक्रमण पुष्टि भएको हो।

बुधबार मात्र यस कारागारका ५९ जना कैदीबन्दीमा संक्रमण पुष्टि भयो। यस अघि पनि तीन जना कैदीवन्दीमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित जती सबैलाई कारागरामै राखिएको जेलर बबिता कुमारी महतोले बताइन्। उनले भनिन्,‘८१ जना संक्रमितलाई कारागारमै जसोतसो राखिएको छ।’

महिला कक्ष खाली गरेर पुरुष संक्रमितहरुलाई आइसोलेट गर्ने योजना बनाएका थियौं उनले भनिन्,‘महिला कैदीवन्दीहरु पनि संक्रमित भएपछि योजना विफल भयो।’ १५ जना महिला राख्ने क्षमता भएको कारागारमा १८ महिलासहित दुई जना बालबालिका कोचिएर बसका छन्। संक्रमण पुष्टि भएपछि पनि उनीहरुलाई कोचेरै राख्नुपर्ने बाध्यता रहेको जेलर महतोले बताइन्।

यस कारागारमा १ सय ३५ जना पुरुष कैदीवन्दी राख्ने क्षमता छ। तर ५ सय ७७ जना पुरुष कैदीवन्दी खाँदिएर बसेका छन्। शुक्रबारसम्म ६२ जना पुरुष कैदीवन्दीमा संक्रमण पुष्टि भैसकेको छ। उनीहरुलाई कारागारमै बनाइएको आइसोलेसनमा राखिएको उनले बताइन्। आइसोलेसन त भन्न मिल्दैन उनले भनिन्,‘आइसोलेसनको कुनै पनि मापदण्ड पुर्याउन सकिएको छैन। संक्रमित जतीलाई अलग्याउन चाहीँ सकिएको छ।’ उनीहरु समान्य अवस्थामा जसरी खाँदिएर बसेका थिए। संक्रमण पुष्टि हुँदा पनि खाँदिएरै बस्न बाध्य छन्।

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिएपछि खाँदिएर बस्नु बाहेकको बिकल्प हुन्छ र ? उनले भनिन,‘यो बेहाल सिरहा कारागारको मात्र होइन देशका अधिकांशको यस्तै छ।’

सानो ठाउँमा धेरैजना कैदी राखिएसँगै भौतिक दूरी कायम गर्न सकिएको छैन। पर्याप्त शौचालय र खुला ठाउँ नभएकाले सबै कैदीबन्दी एकअर्काको नजिकको सम्पर्कमा छन् जेलर महतोले भनिन्,‘सबै कैदीबन्दीको पिसिआर परीक्षण नगराएसम्म ढुक्क हुने अवस्था छैन।’  

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार यहाँ कन्ट्याक्ट ट्रेसिङ भन्दा पनि सबै कैदीबन्दी, सुरक्षाकर्मी तथा कारागार कर्मचारीको पिसिआर परीक्षण गराउने तयारी गर्दैछौं। सबैको पिसिआर गरेर पोजेटिभ नतिजा आउनेलाई अलग्याउन नसकिए संक्रमणको डढेलो फैलिने खतरा छ, उनले भने।

संक्रमित भएकामध्ये अधिकांशलाई लक्षण देखाएको छ। रुघा खोकी र ज्वरो लगायतका लक्षण देखिएको छ। लक्षणसहितका संक्रमितलाई अन्य कैदीवन्दीसँग नजीक सम्पर्कमा राख्दा संक्रमण भित्रभित्रै फैलिएको हुनसक्ने डर देखिएको कारागारका जेलर महतोले बताइन्। पिसिआर गरिएका अधिकतरमा कोरोना पोजेटिभ देखिएको उनले बताइन्। सानो ठाउँमा धेरै कैदीबन्दीलाई खाँदेर राखिएकाले भित्र फैलिएको हुनसक्ने अनुमान गरिएको छ।

 ‘हामीले सक्दो व्यवस्थापन गरेका छौं,’ उनले भनिन्, ‘तर भित्र कतिलाई कोरोना छ भन्ने स्पष्ट छैन, केही नमुना परीक्षण गर्दा अधिकांशमा देखिएकोले पनि डर फैलिएको हो।’ उनका अनुसार कारागारमा संक्रमण फैलिएकोले अहिले कैदीबन्दी भेटघाटमा रोक लगाइएको छ। तर मुद्दा परेपछि पुर्पक्ष थुनामा आउने, बाहिर घुलमिल गरिरहने सुरक्षाकर्मीहरूका कारण संक्रमण फैलिएको हुने सक्ने आँकलन गरिएको छ। अनि कारागारमा नियमित खाद्यान्न, तरकारीलगायतका सामान आपूर्ति गर्दा हुने आउजाउले पनि कारागारमा संक्रमण भित्रिएको अनुमान गरिएको छ।  

संक्रमणको जोखिम भएका र नभएका कैदीबन्दीलाई निर्धारित भौतिक दूरीसहित अलगअलग स्थानमा राख्न सकिए जोखिम कम गर्न सकिन्थ्यो जेलर महतोले भनिन्,‘ तर कोचाकोच कैदीबन्दी रहने कागागारमा यस्तो गर्न असम्भवजस्तै छ ।’ संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यता लागू गरिए पनि कारागारभित्रको पूर्वाधार जीर्ण र अपर्याप्त हुँदा त्यो सम्भव नभएको जेलर महतोको स्वीकारोक्ति छ।  

कारागारमा भींड व्यवस्थापन लगायतका कार्यका लागि प्रदेश सरकारले चार महिनाअघि २० लाख रकम पठाएको थियो। यी रकम मास्क, सेनिटाईजरलगायतमै खर्च भैसकेको जेलर महतो बताउँछिन्। कारागार टाँसिएरै रहेको पुरानो जिल्ला प्रशासनको भवनलाई संक्रमित कैदीवन्दीलाई आइसोलेसन बनाउने योजना रकम अभावका कारण रोकिएको छ।

प्रकाशित: २९ भाद्र २०७७ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App