८ वैशाख २०८१ शनिबार
समाज

अफ्रिका साइन्स फेस्टिवलमा बाँकेका दिपेन्द्रले जिते स्वर्ण

अफ्रिकामा भएको अफ्रिका साइन्स बुसकेर्स फेस्टिवलमा बाँकेका आदित्य साहले स्वर्ण पदक जितेका छन्। शाहसँगै बाँके र दाङ विद्यार्थीले पदक जित्न सफल भए। दुई दिनअघि फेसबुपेज मार्फत फेस्टिवको विजेताको बारेमा घोषणा गरिएको थियो।

नेपालगन्ज आदर्श स्कुलका आदित्यले बनाएको आविष्कारले स्वर्ण जित्दा दाङका दिपेन्द्र नेपालीले रजत, खजुरा ज्ञानोदयका अजाम खान र रबि तिवारीले कास्य पदक हासिल गरेका छन्।  

अफ्रिका साइन्स फेस्टिवल विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ खोज र आविष्कार गरिरहेका किशोर अन्वेषकलाई स्थान दिन गरिएको फेस्टिवल हो। यस वर्षदेखि सुरु भएको फेस्टिवल अगस्ट २८–३० सम्म चलेको थियो। जसमा विश्वभरका १७ देशका १ सय ७५ किशोर अन्वेषणकर्ताले निर्माण गरेका आविष्कारहरुले प्रतिस्पर्धा गरेका थिए। फेस्टिवलमा प्रतिस्पर्धा गरेका २५ विद्यार्थीको आविष्कारले स्वर्ण पदक जित्न सफल भएको थियो।

नेपालगन्ज आदर्शनगरका आदित्यले बनाएको ‘लिफि’ले विद्युतको प्रयोग गरेर डाटा आदान प्रदान गर्ने प्रविधि हो।  

‘वाइफाइ’ प्रविधिमा डाटा पठाउनका लागि रेडियो फ्रिक्वेन्सी प्रयोग गरिन्छ। जसले मानिसको स्वास्थ्यलाई असर गर्ने गर्छ। तर ‘लिफि’ मार्फत डाटा पठाउनका लागि विद्युतको प्रयोग हुने भएकोले स्वास्थ्यलाई कुनै असर नगर्ने आदित्यले दाबी गरे। आफ्नो अन्वेषणले स्वर्ण जितेको खबर शिक्षक, परिवार र साथीलाई सुनाएर खुसी साटेको बताउँछन् आदित्य। उनले भने, ‘कुनै काम गरेर नतिजा राम्रो आउँदा खुसी लाग्छ। यसभन्दा अघि मैले कुनै फेस्टिवलमा प्रतिस्पर्धा गरेको थिएन। पहिलो पटक विदेशमा भएको प्रतिस्पर्धामा पदक जित्दा हौसला बढेको छ।’

आदित्य लगायत पश्चिम क्षेत्रका विद्यार्थीलाई विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ खोज गर्न हौसला दिने उद्देश्यले गत फागुनमा ग्रान्ड नेपालगन्ज साइन्स फेस्टिवल भएको थियो। उक्त फेस्टिवलले पनि आफनो हौसला बढाएको दिपेन्द्रले अनुभव सुनाए।  

फेस्टिवलमा स्वर्ण जितेका आदित्य ९ कक्षमा पढछन्। उनले यसअघि ११ वटा विभिन्न प्रविधिको निर्माण गरेका छन्। ति प्रविधिलाई अझ राम्रोसँग सुधार गरेर उत्पादन गर्ने उनको सोच छ।

यसैगरी रजत पदक जित्न सफल दाङका दिपेन्द्रले निर्माण गरेको प्रविधि पनि फेस्टिवलमा महत्वपुर्ण सावित भएको छ। उनले मानिस हिडने क्रममा उत्पन्न भएको गतिलाई विद्युतमा परिणत गर्ने डिभाइसको निर्माण गरेका छन्। जसबाट टे«किङका क्रममा बत्ति बाल्न र मोबाइल चार्ज गर्न सकिन्छ।  

१० कक्षा पढ्दा पढ्दै आर्थिक अभाव कारण स्कुल छोडेका विद्यार्थी हुन दिपेन्द्र। उनले आफ्नो गाउँघरमा फालिएका सामानको प्रयोग गर्दै नयाँ डिभाइस बनाएका छन्।  

गाउँघरमा उपलब्ध पुराना समानलाई प्रयोग गरेर बनाएको प्रविधिले पदक जित्दा खुसी लागेको दिपेन्द्रले बताए। उनले भने, ‘मेरो प्रविधिमा अझ धेरै कुरा आवश्यक छ। जसले प्रविधिलाई अझ राम्रो बनाउँछ।’  

ज्ञानोदयका अजामले मेटलमा पेन्सिलले सहज तरिकाले लेख्न मिल्ने प्रविधिको निर्माण गरेका छन्। ज्ञानोदयकै अर्का विद्यार्थी रबिले पनि आदित्यले निर्माण गरेको जस्तै वाइफाइ प्रविधिसँग मिल्ने डाटा ट्रान्सफर डिभाइस बनाएका छन्।  

पदक जितेका सम्पुर्ण विद्यार्थीलाई अफ्रिकामा भएको साइन्स फेस्टिवमा सहभागी गराउन नेपालगन्ज ग्रान्ड साइन्स फेस्टिवलको आयोजक टिमले संयोजन गरेको थियो। नेपालगन्ज ग्रान्ड साइन्स फेस्टिवलका संयोजक आतंक बस्नेतले नेपालको हरेक क्षेत्रमा प्रतिभाशाली वैज्ञानिक बन्ने सक्ने क्षमताका विद्यार्थी भएको बताए। 

उनले भने, ‘हामीले सोचेको पनि थिएनौं, पश्चिम क्षेत्रका विद्यार्थीले विदेशको फेस्टिवलमा पदक जित्न सक्लान भनेर। आज हामीलाई खुसी लागेको छ।’

प्रकाशित: २८ भाद्र २०७७ १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App