५ वैशाख २०८१ बुधबार
समाज

बैतडीका ३० हजार घरधुरी विद्युतबाट वञ्चित

बैतडीका करिब ३० हजार घरधुरी विद्युत सेवाबाट वञ्चित छन्। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार ४५ हजार १ सय ९१ घरधुरीमध्ये १५ हजार २ सय घरधुरीमा विद्युत् सेवा पुगेको छ। विद्युत् नहुँदा स्थानीय सोलार र टुकीको भरमा बस्न बाध्य भएका छन्।

विद्युतीकरण नहुँदा साँझ बिहान घरयासी काम गर्न र विद्यार्थीहरुलाई पढ्न समस्या हुने गरेको सिगास गाउँपालिका–६ का पदमबहादुर रोकायाले बताए।  बिजुली नहुँदा ग्रामीण क्षेत्रमा साना उद्योग पनि सञ्चालन हुन सकेका छैनन्। विद्यार्थीदेखि गृहणी सबैलाई विद्युत् सेवा नहुँदा सास्ती हुने गरेको छ।

गत आर्थिक वर्षमा १ हजार ८ सय घरधुरीमा विद्युत विस्तार भएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत् विस्तारको क्रम जारी रहेको विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए। जिल्लाका १२ ठाउँमा ट्रान्सफर्मर राखेर विद्युत् सेवा विस्तार गरिएको उनले जानकारी दिए। जिल्लाको सुर्नया गाउँपालिकाको शंकरपुर, पाटनको किम्तोली, बाटुलासौं, मजेरा, भडाली, डुब्केकोइरालीमा नयाँ ट्रान्सफर्मर राखिएको छ।  

यस्तै पञ्चेश्वरको जेबलकटट्या, बिजुल र सेलीमा नयाँ ट्रान्सफर्मर राखिएको छ भने डिलासैनीको सेरी र दोगडाकेदारको सित्तडमा नयाँ ट्रान्सफर्मर राखिएको प्रमुख जोशीले जानकारी दिए। उनले भने ‘जिल्लामा विद्युत विस्तार कार्यक्रम अन्तर्गत विद्युत् सेवा विस्तार गरिएको हो। विद्युत् पहुँच नभएका ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर विद्युत् विस्तार गरेका छौं।’

विद्युत् नहुँदा ग्रामीण क्षेत्रका स्थानीय मात्र होइन जिल्लाका स्थानीय तह पनि सास्ती भोग्दै आएका छन्। बैतडीका ५ स्थानीय तहमा अझै बिजुली पुगेको छैन। पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा अझै पनि विद्युत् विस्तार नभएको हो। यी स्थानीय तहका अधिकांश बासिन्दा विद्युत सेवाबाट वञ्चित छन्। सोलारको सहयताले काम गरिरहेका छन्। बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए। राष्ट्रिय प्रशारणको पहुँच नहुँदा सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको र अरु कार्यालयका काम पनि प्रभावित भएका उनले बताए। मेलौली नगरपालिकाको एउटा वडामा बिजुली पुगेको छ। तर अन्य वडामा बिजुली नपुगेको नगरपालिका प्रमुख कृष्णसिंह नायकले जानकारी दिए। पुर्चौडी नगरपालिकाबासी बेलाबेला विद्युत्कै कारण सञ्चार सेवाबाट वञ्चित हुने गरेको स्थानीयले बताएका छन। नेपाल टेलिकमको टावर समेत सोलारकै भरमा चलिरहेको छ। घाम नलागे त्यसले काम नगर्ने र टेलिफोन पनि नचल्ने बताइएको छ। नगरपालिकामा विद्युत् सेवा नहुँदा स्वास्थ्य सेवा समेत प्रभावित भएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए। पञ्चेश्वर गाउँपालिकामा पनि सोलारबाट विद्युतिय कामकाज हुने गरेको छ।

 

प्रकाशित: २६ भाद्र २०७७ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App