८ वैशाख २०८१ शनिबार
समाज

मिर्गौला उपचारमा सहयोग जुट्दै

दुवै मिर्गौला फेल भएपछि काठमाडौंमा उपचाररत इलामको सूर्याेदय नगरपालिका–६, कन्यामका मित्रप्रसाद चापागाईं । तस्बिर : नागरिक

दुवै मिर्गौला फेल भएपनि आर्थिक अवस्था दयनीय भएर छटपटाइरहेका व्यक्तिको उपचारका लागि देश/विदेशबाट सहयोग रकम संकलन भइरहेको छ। सूर्याेदय नगरपालिका–६, कन्यामका ५२ वर्षे मित्रप्रसाद चापागाईं (विनोद)को उपचारका लागि २ सातामा ३ लाख हाराहारी रकम संकलन भएको छ।  

मिर्गौला प्रत्यारोपणका लागि कम्तीमा २२ लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएपछि बिरामीका परिवारजन र आफन्त सहयोग संकलनमा जुटेका छन्। सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत् रकम संकलन भइरहेको बिरामीका भतिज हेमचन्द्र चापागाईंले बताए। ‘सञ्चारमाध्यममा आएका समाचारका कारण र सामाजिक सञ्जालमार्फत् देश/विदेशबाट सहयोग जुट्दैछ,’ हेमचन्द्रले भने, ‘आफूले सकेको धेर–थोर सहयोग गरिदिएर काकाको जीवन बचाइदिन सबैमा हाम्रो पुनः आग्रह छ।’  

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक रकम जतिसक्दो चाँडो जुटाइसक्नुपर्ने भएकाले आफूले सकेको सहयोग गरिदिन उनले सबैलाई अनुरोध पनि गरे। धेरै स्थानमा लकडाउन भइरहेका कारण सहयोग संकलन गर्नेगरी डुल्न नपाएपनि बैंक र इ–सेवामार्फत् रकम जुटिरहेको उनले बताए।

दुवै मिर्गौलाले काम नगरेपछि बिरामी परेका मित्रप्रसादको उपचार खर्च जुटाउन हेमचन्द्रलगायतका युवाले सामाजिक सञ्चालमा ‘मित्रप्रसाद चापागाईं बचाउ अभियान’ चलाइरहेका छन्। अभियानमा जोडिएका मात्र नभई परिवारको दयनीय अवस्था थाहा पाएका व्यक्तिले पनि रकम सहयोग गरिरहेको मित्रप्रसादका छोरा प्रवीनले बताए।  

डेढ वर्षयता काठमाडौंमा उपचाररत मित्रप्रसाद होटल र छोरा प्रवीन यातायात क्षेत्रमा मजदुरी गर्थे। बिरामी भएका कारण मित्रप्रसादले काम गर्न सकेनन् भने कोरोनाका कारण भएको लकडाउनले प्रवीनको रोजगारी गुमेको छ। जायजेथा सकिएको परिवारमा कमाउने बाटो पनि हराएपछि गुजारा गर्नै धौधौ परिरहेको मित्रप्रसादकी पत्नी सरस्वतीले बताइन्। ‘तर, केही हप्तादेखि जुट्दै गरेको सहयोगले हाम्रो भलो चिताउने इष्टमित्र धेरै हुनुहुन्छ भन्ने देखाउँदैछ,’ उनले भनिन्, ‘यथासक्य सहयोग गरिदिएर मेरो पतिको जीवन बचाइदिन विनम्र आग्रह गर्छु।’ 

मित्रप्रसादको उपचार सहयोग रकम संकलन गर्न ग्लोबल बैंकको फिक्कल शाखामा लेखनाथ दाहाल/हेमचन्द्र चापागाईंको नाममा २७०७०१०००९४५४ नम्बरको खाता खोलिएको छ। नबिल बैंक बालाजु शाखामा प्रवीन चापागाईंको नाममा रहेको खाता नम्बर ३७१००१७५१३६८३ मा पनि सहयोग रकम संकलन गर्न सकिने परिवारजनले जनाएका छन्। मित्रप्रसादले अहिले सातामा २ पटक मिर्गौला डाइलासिस गराइरहेका छन्। चिकित्सकले जतिसक्दो चाँडो उनको मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको प्रवीनले बताए।

प्रकाशित: २५ भाद्र २०७७ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App