सामान्य अर्थमा कुनै पनि व्यत्तिले जानी जानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्यलाई आत्महत्या भनि बुझिन्छ। आज पनि संसारमा कतै न कतै हरेक ४० सेकेन्डमा कसैले आत्महत्या गर्ने गर्छन्। झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओको तथ्याङ्कले देखाएको छ।
विश्वमा आत्महत्या जोखिममा नेपाल सातौ स्थानमा छ भने महिलामा तेस्रो स्थानमा छ। आत्महत्या विश्वव्यापी घटना भएपनि ७८ प्रतिशत घटना विकासन्मुख देशहरूमा हुने गरेको तथ्याङक छ।
नेपालमा २०७५/०७६ मा ५ हजार ७ सय ५४, २०७६/०७७ मा ६ हजार २ सय ४१ व्यक्तिले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्क छ। पाँच नम्बर प्रदेश प्रहरीको तथ्याङक अनुसार आब ०७५/०७६ मा १ हजार १ सय ४४, आ.ब. ०७६/०७७ मा १ हजार २ सय ४४ रहेको छ। यो वर्षमा पाँच नं प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढि आत्महत्या गरी मर्ने संख्या दाङ जिल्लामा छ।
रोल्पा प्रहरी प्रबक्ता संकर खड्काका अनुसार रोल्पा जिल्लामा २०७५/०७६ मा ५७ जनाले आत्महत्या गरेका छन् भने आब २०७६/०७७ को तथ्याङक अनुसार आत्महत्या र आत्महत्या दुरूत्साहन गरी ७४ जनाले ज्यान गुमाएका थिए। सबैभन्दा बढि झुन्डिएर ५५ जना, विष सेवन गरेर १८ जना, पानीमा हाम फालेर १ जनाले आत्महत्या गरेका हुन्।
यसरी आत्महत्या गर्नेमा पुरूषको संख्या ४२, महिलाको संख्या ३२ छ। त्यसमध्ये बालबालिका (१८ वर्ष भन्दा कम उमेरका) बालक ७ र बालिका ७ जना रहेका छन्। तथ्याङ्क अनुसार प्रत्येक वर्ष यो संख्या बढ्दै गएको छ। रोल्पामा आत्महत्यालाई नजिकबाट हेर्ने हो भने ११ वर्षको बालिकादेखि ७५ वर्षको वृद्धले समेत झुण्डी आत्महत्या गरेका छन्।
यो वर्षको तथ्याङकलाई हेर्ने हो भने सबैभन्दा बढि रोल्पा नगरपालिकामा १३ जनाले र रून्टीगढी गाउँपालिकामा ११ जनाले आत्महत्या गरेका छन्।
चिकित्सकका अनुसार कोरोना त्रासका कारण मानसिक रोग बढ्न सक्ने सम्भावना बलियो देखिएको छ। लामो समयको लकडाउनले मानिसहरु बेरोजगार हुन थालेसंगै जटिलता थपिदै गएको हो। नेपाल महिला सामुदायीक सेवा केन्द्र रोल्पाका मनोबिमर्शकर्ता दिपा धितालका अनुसार कोरोनाका कारणले युवा र बयस्क भन्दा बालबालिकालाई मानसिकरुपमा बढी असर गरेको छ। उनी भन्छिन्, ‘मानसिक स्वास्थ्यका बारेमा समय मै सचेत हुनु पर्ने देखिन्छ।’
बेरोजगारी, बिगतको द्धन्द्ध, घरेलु हिंसा, मदिरा सेवन, कुलत लगायतका कारक तत्वहरुले आत्महत्यालाई बढावा दिईरहेको छ। गाउँमा आएका भनिएका स्थानीय सरकारहरुले मानसिक रोग र आत्महत्या जस्ता विषयलाई समस्याका रुपमा नहेर्दा यस्ता गम्भीर विषयहरु ओझेल परिरहेका छन्।
प्रकाशित: २५ भाद्र २०७७ ०८:०३ बिहीबार