coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय घेराउ गरी दिनभर प्रदर्शन

रौतहटको गरुडा नगरपालिका ८ जिंगडियामा गत साउन ३१ गते राति घाँटी रेटेर हत्या गरिएका युवक निरन्जन रामको हत्यामा संलग्न भनेर पीडित पक्षले आरोप लगाएका व्यक्तिहरुको नाम किटान गरेर प्रहरीमा मुद्दा दर्ता गराउन जाँदा प्रहरीले नमानेपछिको परिस्थिति प्रहरीलाई सम्हाल्न निकै गाह्रो भइरहेको छ। निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका विजय रामको प्रहरी हिरासतमा नै मृत्यु हुनु र एक दलित महिलाको शव उखु खेतमा भेटिएपछि दलित समुदायको आक्रोश दिनहुँ प्रहरीविरुद्ध प्रदर्शनमा देखिने गरेको छ।  

यसै क्रममा जाहेरी दर्ताको माग राख्दै विजय राम, निरञ्जन राम र सुमिन्त्रा बैठा हत्या काण्डको संयुक्त संघर्ष समिति रौतहटले मंगलवार जिल्ला प्रहरी कार्यालय गौरलाई घेराउ गरी धर्ना दिँदै दिनभर प्रदर्शन गरेका छन्।  

संघर्ष संयोजक सोनेलाल रामको नेतृत्वमा दलित समुदायका अगुवाहरु प्रहरी हिरासतमा मारिएका विजय रामलाई न्याय दिलाउन किटानी जाहेरी दर्ता गराउन आएकाहरु प्रहरी प्रशासन विरुद्ध चर्का नारावाजी गर्दै घन्टौँ जिल्ला प्रहरी कार्यालय घेराउ गरेर धर्ना प्रदर्शन गरेका हुन्।

साउन ३१ गते राति गरुडा नगरपालिकाको जिगडियाका २० वर्षीय युवक निरञ्जन रामलाई घाँटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले उनकै नातेदार विजय रामसहित सात जनालाई हिरासतमा लिएर अनुसन्धान गर्ने क्रममा प्रहरीको चरम यातनाबाट थला परेका विजयको भदौं १० गते राति १ बजेको समयमा विरगंजस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो। युवकको मृत्यु भएपछि दलित समुदाय झन् आक्रोशित बन्दै भदौं ११ गतेदेखि अनवरत रुपमा संघर्ष गर्दै आएका छन्।

यातना दिएर अनुसन्धान गराउन आदेश दिने तत्कालिन एसपी रबीराज खड्का, इप्रका गरुडाका तत्कालिन डिएसपी ज्ञानकुमार महतोसहित १० जनालाई विपक्षी बनाएर किटानी जाहेर दर्ता गराउन खोज्दा विगत ५ दिनदेखि निरन्तर रुपमा प्रशासनीक निकायमा धाइरहेका छन्। आज उक्त संघर्ष समितिले जाहेरी दर्ता गराउन खोज्दा जिल्ला प्रहरी कार्यालय रौतहटले जाहेरी लिन नमानेको दलित नेता धर्मेन्द्र पासवानले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय गौरले लिन नमानेपछि पुनः दलित अगुवाहरु सरकारी वकिलको कार्यालयमा दर्ता गराउन गएको तर कार्यालय समय सकिसकेको हुँदा बुधवार विहान १० बजे जाहेरी लिएर दर्ता गराउने आश्वासन सरकारी वकिलको कार्यालयबाट पाएको पासवानले जानकारी दिएका छन्।

प्रहरीको चरम यातना पाएका विजयको मृत्यु भएपछि काठमाडौको महराजगंजस्थित शिक्षण अस्पतालमा पोष्टमार्टम हुँदा चोटपटकबाट मृत्यु भएको पुष्टि गरेपछि एसपीसहितका व्यक्तिहरुलाई आरोपित बनाएर जाहेरी दर्ता गराउन जाँदा एसपी र डिएसपीको नाम हटाएर ल्याउनुस् अनि मात्रै दर्ता हुने बताएपछि दलितहरु प्रहरी माथि झन् आक्रोशित बनेको दलित नेता पासवानले बताएका छन्।

निरञ्जन रामको हत्याको आरोपमा विजयसंगै पक्राउ परेका सिकिन्दर रामको अवस्था पनि गम्भीर रहेकोमा त्यसलाई समुचित उपचार नगराए स्थिति भयाभय हुने चेतावनीसमेत पासवानले दिएका छन्।  

प्रहरी हिरासतमा यातना दिएको आरोपमा प्रहरी निरीक्षक नविन सिंह, प्रहरी हवलदारद्वय हिरोज मिया धनिया र मुन्नु सिहलाई निलम्बन गरिसके पनि एसपी र डिएसपीसहित सच फलफूल नर्सरीका संचालकसहित १० जनालाई विपक्षी बनाएर जाहरी तयार गर्दा पनि मंगलवारसम्म दर्ता नभएको विजय राम, निरञ्जन राम र सुमिन्त्रा बैठा हत्या काण्डको संयुक्त संघर्ष समितिका संयोजक सोनेलाल रामले गुनासो गरेका छन्। जाहेरी दर्ता नभएसम्म दलितहरुको संघर्ष जारी रहने रामको भनाइ छ।  

यसैबीच जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि भरत श्रेष्ठले विजय रामको मृत्यु भएको सम्बन्धमा प्रहरी गम्भीर रहेको र घटनामा प्रत्यक्ष संलग्न व्यक्तिउपर मुद्दा दर्ता गरी अनुसन्धान एवं कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहट प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: २३ भाद्र २०७७ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App