कास्कीमा पहिरोले पुरिएर १ जना युवतीको ज्यान गएको छ। कास्कीको रुपा गाउँपालिका वडा नम्बर ६ बराहथोकमा मंगलबार विहान आएको पहिरोले घर पुरिदा स्थानीय २० वर्षीया श्रृजना विकको मृत्यु भएको हो।
अविरल वर्षापछि मंगलबार विहान ३ः४५ बजे घरमाथिबाट आएको पहिरोले काजीबहादुर विकको घर पुरिदा घरमा सुतिरहेकी उनकी छोरी श्रृजनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। पहिरोले पुरिएकी उनलाई तत्कालै उद्धार गरेर उपचारका लागि पोखरा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाई छ।
घरमाथिबाट आएको पहिरोले घर भत्काउन थालेपछि काजी र उनका भाई सन्दीप विकले भने भागेर ज्यान जोगाएका थिए। उनीहरु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए। पहिरो गएलगत्तै आफूहरुले गुहार मागेर उद्धार गरेपनि छोरीलाई बचाउन नसकिएको भागेर ज्यान जोगाएका मृतका बुबा काजीबहादुर विकले बताएका छन्।
पहिरोले विकको कच्ची घर आधा पुरेको प्रहरीले जनाएको छ। यसैबीच, मृतक श्रृजनाको शव पोष्टमार्टम गरि आफन्तलाई बुझाइएको छ।
प्रकाशित: २३ भाद्र २०७७ ११:२० मंगलबार