६ वैशाख २०८१ बिहीबार
समाज

पुजारी हत्याकाण्डः आर्थिक लेनदेनको विवाद नभएको परिवारको दाबी

रौतहटको माधव नारायण नगरपालिका २ खेसरहियामा भएको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्याको कारण लेनदेनसम्बन्धी विवाद हुँदै नभएको परिवारजनको दाबी छ। पुजारीका भाइ, भतिजी, भतिजा तथा छिमेकीहरुले समेतले एकै स्वरमा पुजारीको कोहीसित लेनदेन विवाद नभएको स्पष्ट पारेका छन्।  

भदौको पहिलो हप्तामा भएको पुजारी हत्याकाण्डको अनुसन्धानको क्रममा गत हप्ता प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकामध्ये राम नरेश पटेलसित पुजारीको लेनदेन विवाद रहेको सार्वजनिक भएपछि पुजारीका आफन्तहरुले खण्डन गरेका छन्।

पुजारी साह चार दाजुभाइमध्ये सबैभन्दा जेठो भएको र उनीभन्दा मुनिको माइला भाइ लालबहादुर साहलगायत उनका आफन्तहरुले पुजारी दाजुको हत्या कसले किन कुन कारणले गरेको हो केही पनि थाहा आफूहरुलाई नभएको बताएका छन्। घरमै पुगेका सञ्चारकर्मीहरुसित कुराकानी गर्दै साहले प्रहरी अनुसन्धानले पक्राउ परेका रामनरेश पटेलसित पैसा लेनदेनको विवाद रहेको भनी आफूहरुले सुनेको तर वास्तवमा पुजारीसित पैसा लगानी गर्ने वा लेनदेन गर्ने कुनै हैसियत नै नभएको बताएका छन्।  

पुजारीका भाइ लालबहादुर साहले पुजारी यताउतिबाट मागेर वा चन्दा उठाएर दैनिकी चलाउने गरेकाले पैसा लगानी गर्ने कुरामा सत्यता नभएको बताएका छन्। पूजाको लागि पुजारी साहले अगरबत्ती र लाइटर कहिले कुन पसलबाट त कहिले कुन पसलबाट मागेर पूजा गर्ने गरेको, हाटबजारको दिन हप्ताको दुई दिन तरकारी उठाएर खाने गरेको तथा आवश्यक पर्दा चामल पनि माग्ने गरेको लालबहादुर साहको भनाइ छ।

लालबहादुर साहकी विवाहीत छोरी रिंकुकुमारी साहले पनि पुजारी साहको कोहीसित लेनदेन नभएको र कोहीसित झगडा विवाद पनि नभएको बताइन्। स्थानीय टोलछिमेकले पनि पुजारीको कोहीसित झगडा भएको आफूहरुले थाहा नपाएको बताएका छन्।  

पुजारी हत्याको आरोपमा पक्राउ परेका दुई जनाको हत्यामा संलग्नता भए नभएको आफूहरुलाई थाहा नभएको र प्रहरीले नै निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्ने लालबहादुर साहको भनाइ छ। दोषी जो कोही भए पनि छुट्न नहुने र निर्दोषले सजाय पाउन नहुने साहको घरपरिवारको भनाइ छ।

साधुको हत्या भएको यतिका दिन बितिसक्दा पनि कतैबाट आफूहरुलाई कुनै किसिमको दबाव वा धम्की पनि नआएकोले हत्याराको विषयमा अनुमान लगाउनै नसकिएको उनका घरपरिवारका सदस्यहरुको भनाइ छ।

यता प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले मृतकका भाइ लालबहादुर साहले प्रहरीलाई दिएको जाहेरीमा रामनरेश पटेलका बुबाले पुजारीसित तीन लाख रुपैयाँ लिनुपर्ने उल्लेख गरेको र आरोपीले पनि स्वीकार गरिसकेकाले अन्य कतैबाट दबावमा साहले त्यस्तो बोलेको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

हत्या हुनुभन्दा तीन दिन पहिले पुजारीसित रामनरेश पटेलको झगडा विवाद भएको र पटेलले पुजारीलाई गोली हानेर हत्या गरेको तथा अर्का आरोपी बालकुमार पटेल सेन्ट्री बसेको डिआइजी सिंहको भनाइ छ।

प्रकाशित: २० भाद्र २०७७ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App