४ वैशाख २०८१ मंगलबार
समाज

सरकारी सम्पत्ति कबाडी बन्दै

खोटाङमा सडक विस्तारका लागि २२ वर्षअघि खरिद गरिएको डोजर संरक्षण अभावमा कबाडी बनेको छ। उदयपुरको कटारी–घुर्मी–ओखलढुंगा सडक खण्डको हिलेपानीबाट दिक्तेल जोड्ने सडक निर्माणका लागि तत्कालिन ७६ गाविसको लगानीमा २०५५ सालमा खरिद गरिएको डोजर संरक्षण अभावमा कबाडी बनेको हो। खोटाङ जोड्ने सडक निर्माणका लागि खरिद गरिएको डोजर हाल खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाट (ओखलढुंगातर्फ)मा अलपत्र अवस्थामा रहेको छ। खोटाङको साझा सम्पत्तीका रूपमा रहेको डोजर हाल मध्यपहाडी लोकमार्ग भन्दामुनी दुधकोसी किनारमा मिल्किएको छ।

नदीको पानीको सतहभन्दा केही मिटरमाथि अड्किएको डोजरलाई कुनै दिन ठूलो बाढीले बगाउने खतरा देखिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए। लामो समयसम्म मध्यपहाडी लोकमार्गको कुनामा मिल्किएको डोजर सडकको डिलमुनि पु¥याइएको हो। डोजरको कुनै पनि पाटपुर्जा काम लाग्ने अवस्थामा छैन। कटारीबाट ओखलढुंगादेखि सोलुखुम्बु जोड्नेगरी सडक निर्माण सुरु गरिएपछि खोटाङका तत्कालिन सांसद टंक राईले हिलेपानीबाट दिक्तेल जोड्नेगरी हिले–हलेसी सडक निर्माण गर्ने परिकल्पना अघि सारेपछि तत्कालिन जिविसमार्फत डोजर खरिद  गरिएको थियो।  

सबै गाविसबाट एक÷एक लाख रूपैयाँका दरले संकलन गरिएको ४२ लाख रूपैयाँमा डोजर खरिद गरिएको थियो। अन्य रकमबाट एउटा ट्याक्टर खरिद गरिए पनि हाल ट्याक्टरको अत्तोपत्तो छैन। कतिपय गाविसले भने डोजर र ट्याक्टर खरिदका लागि तोकेको रकम विनियोजन गर्न अस्वीकार गरेको थियो। खोटाङको साझा सम्पत्तीका रूपमा रहेको डोजर प्रयोग गरेर ओखलढुंगाको हिलेपानीबाट जयरामसम्म करिब ९ किलोमिटर सडक खनिएको थियो। सडक खन्दै जयराममा दुधकोसी किनारमा आइपुगेको डोजर नदी नतार्दै कवाडीमा परिणत हुन पुगेको हो।

२०५७ सालताका पहिला अप्पर माथिल्लो सगरमाथा कृषि विकास आयोजना र त्यसपछि ग्रामिण पहुँच कार्यक्रम (-याप)सँग जयराम (दुधकोसी किनार)बाट हलेसीसम्मको सडक निर्माणमा हेभ्भी मेसिन प्रयोग नगर्ने सम्झौता भएपछि उक्त डोजर खोटाङ नतार्दै थन्किएको थियो।  

सडकमै थन्किएको डोजरको संरक्षणमा ध्यान दिइएन। उपयोगमा नआउने भएपछि दुधकोसी नतार्दै लामो समयसम्म राखिएपछि डोजर कबाडीमा परिणत भएको हो। कबाडीमा परिणत भएपनि खोटाङको सामुहिक भावना बोकेको तथा साझा सम्पत्तीको प्रतिकका रूपमा रहेको कबाडी डोजर संरक्षणको चर्चा हुने गरेको छ।

प्रकाशित: १९ भाद्र २०७७ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App