७ वैशाख २०८१ शुक्रबार
समाज

रातो मच्छिन्द्रनाथ जात्रा, प्रशासन जिम्मेवार नहुँदा झडप

कोरोना कहरबीच यसवर्ष सबै जात्रा र चाड हुन नपाउने स्थितिभन्दा भिन्न भीडभाडपूर्ण दृश्य बिहीबार ललितपुरमा देखियो। स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने यो बेलामा मच्छिन्द्रनाथको रथ तान्ने काम सुरु भयो।  

विगत वर्षजस्तै हुँदो हो त रातो मच्छिन्द्रनाथको जात्रा सुरु भई जावलाखेलमा भोटो देखाइने थियो। यो रंगीन र उत्साहपूर्ण चाड भदौ पहिलो साता सम्पन्न भइसक्ने थियो। कोरोना महामारीका कारण जात्रा पूरा नहुने र आगामी असोजमा मलमास परेको हुँदा स्थानीय व्यक्तिलाई यसको बढी नै चासो भएको थियो। स्थानीयको यो चासोमा प्रशासनले सम्बोधन गर्न नसक्दा झडपकै स्थिति उत्पन्न भयो। स्थानीयले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गर्ने तथा प्रहरीले पनि उनीहरूमाथि ढुंगा र अश्रुग्यास प्रहार गरेको देखियो।  

स्थानीय युवा र टोलवासीले रथ तान्ने अनुमति माग्दै बारम्बार प्रशासन गुहारे। तर जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानले यसको निकास दिएनन्। जात्राको अनुमतिका निम्ति ज्यापु समाजले सबै प्रशासनसँग निकास मागिरहेको थियो। जात्राको समय घर्किँदै जाँदासमेत बेवास्ता गरेपछि बिहीबार झडपको अप्रिय स्थिति उत्पन्न भएको हो। रथ तान्ने स्थानीय समुदाय र प्रहरीबीच दिनभरिजसो विवाद भइरह्यो। जिल्ला प्रशासन कार्यालय र गुठी संस्थान गम्भीर नहुँदा यस्तो स्थिति सिर्जना भयो। यी निकायको अकर्मण्यताका कारण काठमाडौं उपत्यकाको गौरवपूर्ण जात्रा विवादित बन्न पुगेको छ। ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जात्रा मनाउने सम्बन्धमा आफूहरूले प्रशासनलाई समयसमयमा भेटे पनि कुनै निष्कर्ष ननिस्किएको बताए। उनले भने, ‘हामीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई समेत भेटेका थियौं तर कसैले पनि रथ तान्ने सम्बन्धमा निकास नै दिनुभएन।’’  

ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले प्रमुख जिल्ला अधिकारीका कारण वातावरण बिग्रिएपछि झडपको अवस्था सिर्जना भएको आरोप लगाए। उनले भने, ‘प्रशासन गम्भीर नहुँदा यो घटना भएको हो। न त मेयरसापले राम्रोसँग यसलाई समाधान गर्न सक्नुभयो न त सिडिओसापले नै।’ प्रशासनले कुनै निर्णय नगरेपछि स्थानीयमा आक्रोश र चिन्ता बढ्दै गएको थियो। असोजमा मलमास परेका कारण रथ तान्न नमिल्ने र भदौभरि निषेधाज्ञाले बित्ने भएपछि पाटन क्षेत्रका युवा प्रशासनलाई समेत जानकारी नदिई बिहीबार यसका लागि तत्पर भएका थिए। सरकारले कोरोना नियन्त्रणका निम्ति भीडभाड र जमघट गरी जात्रा पर्व मनाउन रोक लगाइरहेको बेला ठूलो संख्यामा स्थानीय पुल्चोकमा जम्मा भएका थिए।

ललितपुरमा कर्फ्यू

स्थानीय प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललिलपुर चक्रपथभित्र कर्फ्यू घोषणा गरेको छ। जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको बिहीबार साँझ बसेको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो। बैठकमा आगामी २६ गते रथ सात मिटर जति तानेर देउता बुंगमती लैजाने सहमतिसमेत भएको छ।  

स्थानीय प्रशासनको आग्रहविपरीत स्थानीयले बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरेपछि झडप भएको र अवस्था प्रतिकूल बन्दै गएपछि अवस्थालाई सामान्य बनाउन कफ्र्यु लगाउने निर्णय भएको ललितपुरका प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए। यसैबीच प्रहरीमाथि कुटपिट गर्ने १० जनालाई जावलाखेल प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि तत्काल कारबाही हुने एसएसपी टेकप्रसाद राईले जानकारी दिए। 

उनका अनुसार पक्राउ परेकालाई जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान थालिएको बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी स्थानीय प्रशासन र जात्रा आयोजकबीच आपसी समन्वय नहुँदा यस्तो घटना भएको बताएका छन्। कोभिड–१९ का कारण दुई सातादेखि निषेधाज्ञा सुरु भएको अवस्थामा सबैले सचेत भएर आ–आफ्ना सांस्कृतिक चाडपर्व वा जात्रा मनाउनुपर्ने उनले बताएका छन्।

प्रकाशित: १९ भाद्र २०७७ ००:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App