४ वैशाख २०८१ मंगलबार
समाज

विपन्नको भोक मेटाउन ‘फुड बैंक’

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण गाउँ–सहर सुनसान छ। बजार, रोजगार बन्द छ। सुनसान र सन्नाटाकाबीच लहान बजारको मध्य भागमा भने चहलपहल छ। हातमा ग्लोब्स, मास्क लगाएका लहान नगरपालिकाका मेयर मुनी साह, वडा नम्बर ७ का अध्यक्ष राकेश गुप्तासहितका स्वयंसेवकले प्याकेटमा खाना प्याक गरेर बाँडिरहेका छन्।

लहानको राम मन्दिर नजिककको खुलामञ्च वरपर जम्मा भएका अनुहार छटपटि देखिन्थ्यो। भोकले पिरोलिएर थकित अनुहारहरू ‘सिल्भर प्याकेट’ प्याक गरिएको तयारी खानाको प्रतीक्षामा थिए।

पेट भोकै भए पनि मुख र नाक भने मास्कले छापेर उनीहरू खानाको प्याकेटका लागि लाइन बसेका थिए। भोकले मलिन उनीहरूका अनुहार तयारी खानाको प्याकेट पाएपछि उज्यालिएको देखिन्थ्यो। उनीहरूले परिवारका लागिसमेत खानाको प्याकेट घर लगेका थिए। लकडाउनका कारण रोजगार गुमाएका दैनिक ज्यालादारी मजदुरलाई दैनिक छाक टार्न समस्या देखिन थालेको छ।

उनीहरूको भोकलाई केही हदसम्म टार्न मनकारीदेखि जनप्रतिनिधिहरूले अग्रसरता देखाउन थालेका छन्। लहान नगरपालिका–७ को आर्थिक सहयोग तथा परोपकार युवा क्लबको स्वयंसेवकीय सहयोगमा ‘फुड बैंक’ सञ्चालन गरिएको छ। ‘पहिलो दिन प्रचारप्रसार नभएका कारण नगरका ७७ जना मात्रलाई सेवा दिन सक्यौं,’ वडाअध्यक्ष गुप्ताले भने, ‘दोस्रो दिनदेखि सहभागिता बढ्ने सम्भावना छ।’  

पहिलो दिन व्यपारिक प्रतिष्ठानमा मालसामान लोड अनलोड गर्ने मजदुर र ठेला चालकहरू खानाको प्याकेट लिन आएको गुप्ताले बताए। बिहान १० बजेदेखि १२ बजेसम्म र साँझ ६ बजेदेखि ७ बजेसम्म फुड बैंकको सेवा उपलब्ध रहनेगरी बन्दोबस्त मिलाइएको उनले बताए। उनले फुड बैंकमा खानाको प्रतीक्षामा लाइन बसेका सबै रोजगार खोसिएर छाक टार्न सकस बेहोर्दै आएका विपन्न मजदुरहरू रहेको बताए।

पेट भोकै भए पनि मुख र नाक भने मास्कले छापेर उनीहरू खानाको प्याकेटका लागि लाइन बसेका थिए। भोकले मलिन उनीहरूका अनुहार तयारी खानाको प्याकेट पाएपछि उज्यालिएको देखिन्थ्यो।

त्यसैमध्येका एक थिए, लहानका विन्देश्वर दास। उनी लहानमा ठेला चलाएर हातमुख जोड्दै आएका छन्। दैनिक कमाइको भरमा अडिएको उनको परिवार पछिल्लोसमय आम्दानी बन्द हुँदा अप्ठेरोमा परेको छ। काम रोकिएपछि उनी परिवारको हात मुख कसरी जोर्ने भन्ने चिन्तामा छन्। ४५ वर्षीय दासले दुखेसो पोखे, ‘हामीलाई भाइरसभन्दा पनि भोकले लैजाने डर छ। हुनेखानेलाई भाइरसको चिन्ता छ तर हामीलाई चाहिँ खान नपाएर मर्ने पिर छ।’ खानाका लागि फुड बैंकमा आएका गरिआएको काम रोकिएका शम्भु सदाको दुःख पनि उस्तै छ। संक्रमणबाट बच्न प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधि लम्बिँदै जाँदा दिनभर काम गरेर साँझको छाक टार्ने ज्यालादारी वर्गहरू भोकै पर्न थालेका छन्। रोजगार गुमाएर भोकै हुनेहरू निःशुल्क पाइने खाना तथा खाद्य सामग्री पाइने ठाउँमा धाउन बाध्य छन्।  

सिरहाकै गोलबजारका युवाहरूले सञ्चालन गरेको फुड बैंकमा दैनिक ८० देखि ९० जना विपन्नलाई खाना उपलब्ध गराउँदै आएको छ। त्यसैमध्येका एक वसन्त मोची भन्छन्, ‘भोकको अगाडि रोगको डर कसलाई हुन्छ ? भोकले बाँचे भाइरसले मरिँदैन।’  

साउन ७ गते लकडाउन सकिएपछि वसन्तले केही दिन निर्माण मदजुरको काम पाएका थिए। तर निषेधाज्ञापछि उनले काम पाउनै छाडेको बताउँछन्। काम रोकिएपछि चुलोमा आगो बल्नै छोड्यो उनी भन्छन्, ‘कमाइ रोकिएपछि कसरी खाने सामग्री किन्नु ?’ युवा समूहले फुड बैंकमार्फत बाँड्ने चामल, दाल, तरकारी, तेल, चिउरा, मुरही, दालमोठ लिन दैनिक लाइन बस्नेहरूमा अधिकांश दैनिक ज्यालादारी मजदुर छन्। गोलबजार फुड बैंकका मिकु साह भन्छन्, ‘युवाहरूले सुरुवात गरेको यो अभियानमा पछिल्लो समय व्यपारी र मनकारीको सहयोग जुट्न थालेको छ। हामीले हुनेलाई सहयोग गर्न समेत आह्वान गरेका छौं।’

सिरहाको तीन ठाउँमा संचालित फुड बैंकमध्ये लहानमा मात्र वडा अध्यक्षको आर्थिक सहयोग छ। बाँकी सिरहा र गोलबजारमा युवाहरूले मनकारीको आर्थिक सहयोगमा फुड बैंक अघि बढाउँदै छन्। लकडाउन र निषेधाज्ञाले गाउँ सहर बन्द भएका बेला दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउँदै आएका परिवार काममा निस्कन पाएका छैनन्। जसका कारण उनीहरूको चुलोसमेत बल्न छोडेको छ तर खाद्यान्न व्यवस्थापनको जिम्मेवारी पाएको स्थानीय सरकार चुपचाप छन्। स्थानीय सरकार समयमा राहत नबाँड्दा विपन्न तथा ज्याला मजदुरी गर्ने परिवार निकै समस्यामा परेका छन्।

लकडाउनका कारण विपन्न परिवारको दैनिकी कष्टकर बन्दै गए पनि स्थानीय सरकार पहलकदमी नलिँदा सिरहाका युवाहरूले ‘फुड बैंक’ सञ्चालन गरेका जिल्लामै अनुकरणीय कामको सुरुवात गरेको समाजसेवी नवीनकुमार यादवले बताए। यसको अनुकरण गर्दै जिल्लाको अन्य ठाउँमा समेत फुड बैंक फैलिँदै छ।

हामी युवाहरू संगठित भएर आफ्नै खर्चमा ‘फुड बैंक’ अभियान सुरु गरेका छौं,’ गोलबजार फुड बैंकका मिकुले भने, ‘बन्दाबन्दीबाट प्रभावित विपन्न परिवारलाई खाद्य सामग्री उलपब्ध गराउँदा सन्तुष्टि प्राप्त हुन्छ। अहिले आएर विदेशबाट समेत मनकारीले इसेवा, मावाइल बैंकमा पैसा पठाएर खाद्य सामग्रीका लागि सहयोग जुट्न थालेका छन्। दुई छाकको समेत जोहो गर्न नसकेका परिवारलाई लक्षित गरी हामीले फुड बैंक सञ्चालन गरेका छौं,’ उनले भने, ‘सुरु सुरुमा लिने मात्र आउँथे, अहिले दिनेहरू पनि जुट्दै छन्।’ लगातारको लकडाउन र निषेधाज्ञाले गाउँ सहर ठप्प हुँदा अति विपन्न परिवार प्रभावित हुँदै आएका छन्।

प्रकाशित: १८ भाद्र २०७७ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App