coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौंमा समुदायमै फैलियो कोरोना

क्याप्शन

अस्पताल तथा उपचारमा कोरोना संक्रमण व्यवस्थापनमा संलग्न विज्ञहरूले काठमाडौं उपत्यकामा समुदायमै कोरोना संक्रमण भइसकेको बताएका छन्। काठमाडौंका विभिन्न ठाउँमा परिवारै संक्रमित हुनु र अस्पतालमा परीक्षण गरेकामध्ये धेरैमा संक्रमण पुष्टि हुनुले कोरोना समुदायमै फैलिसकेको उनीहरूले जनाएका हुन्।  

उपत्यकाबाट परीक्षण गर्न शुक्रराज सरुवा रोग अस्पतालमा पुग्ने चार जनामध्ये एकजनामा कोरोना संक्रमण देखिने गरेको अस्पतालले जनाएको छ। अस्पतालले हरेक दिन ३ सय वटा नमुना परीक्षण गर्छ। तीमध्येबाट आइतबार ५७, मंगलबार १ सय ३२ जनामा संक्रमण देखिएको थियो भने बुधबार ६६ जनामा पुष्टि भएको हो। नमुना संख्याअनुसार संक्रमित संख्या प्रति चारजना परीक्षण भएकामध्येमा एकजनामा पोजेटिभ देखिएको अवस्था हो।  

ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने र पखाला लाग्नेमध्ये कुनै एक समस्या भएका व्यक्ति, अस्पतालमा शल्यक्रिया गर्ने प्रक्रियामा रहेका, अस्पताल भर्ना प्रक्रियालगायत व्यक्तिमा परीक्षण गर्दा यस्तो परिणाम आउने गरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए।  

कतिपय परिवारका सबै सदस्य नै संक्रमित हुने गरेको पाइएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए। उनका अनुसार कतिपय एउटै परिवारका १४ जनामा समेत संक्रमण पाइएको छ।  

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतका अनुसार काठमाडांैको बूढानीलकण्ठ, टोखा, कपनलगायतका क्षेत्रमा परिवारै संक्रमित भएका छन्। एक सातायता यस्तो तीव्र संक्रमण देखिन थालेको महाशाखाले जनाएको छ। ‘अहिलेको सक्रमण हेर्दा समुदायमै फैलिएको देखिन्छ तर मन्त्रालयले खुलेर भन्न सकेको छैन,’ महाशाखा स्रोतले भन्यो।  

उपत्यकामा तीन एक महिनादेखि बढ्दै गएको संक्रमण अहिलै दैनिक ४ सय हाराहारी पुगेको छ। हालसम्म काठमाडौंमा ५ हजार ५ सय ५६, ललितपुरमा ७ सय ७२ र भक्तपुरमा ५ सय ५६ जना गरी कुल ६ हजार ५ सय ९३ पुगेको छ। तीमध्ये काठमाडौंमा २६, ललितपुरमा ७ र भक्तपुरमा ९ गरी ४२ जनाको मृत्यु भइसकेको छ।  

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पे्रस ब्रिफिङमा बोल्दै डा. सुरेश तिवारीले समुदायमा कोरोना संक्रमण फैलिरहेको संकेत गरेका थिए। ‘ एक महिनाअघि महिलामा संक्रमण ५ प्रतिशतबाट २२ प्रतिशत पुगेको र वृद्धामा समेत संक्रमण १ प्रतिशतबाट ४ प्रतिशतमा पुगेको बताए। उनका अनुसार ९६ प्रतिशत संख्या नै स्थानीय संक्रमण रहेको छ। त्यसैगरी, संक्रमण दर पनि ८÷९ प्रतिशतको दरले वृद्धि भइरहेको छ। १२ वटा जिल्ला र तीभित्र पनि ४ वटा जिल्लामा १ हजारभन्दा बढी सक्रिय संक्रमित छन्। १२ वटा जिल्लामा ७३ प्रतिशत संक्रमित छन्। यो हिसाबले १२ वटा जिल्लामा कोरोना समुदायमा गयो भनेर बुझ्नुपर्ने उनले बताए।  

‘अहिलेको तथ्यांक विश्लेषण गर्दा कतै कोरोना समुदायमै फैलिएको त हैन भन्ने प्रश्न उठाएको छ,’ डा.तिवारीले भने। उपत्यकामा दैनिक संक्रमण थपिएपछि सरकारले थप एक साताको लागि निषेधाज्ञा जारी गरेको छ। यो अवधिमा हुने संक्रमणको घटबढ अनुसार त्यसपछि लकडाउन खुकुलो गर्ने या थप कडाइ गर्ने भन्ने कुराको निर्णय हुने राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य विज्ञ उत्तम कोइरालाले बताए।  

कोरोना समुदायमा उन्मुख नै भएकोले र यसको अहिलेसम्म उपचार नभएकाले अबका दिनमा समुदायको भूमिका महŒपूर्ण हुने उनले बताए। ‘पहिलो अस्पताल नै समुदाय या घर हो, र हामी सुरक्षित घरबाट बनौं,’ उनले भने। अनुशासित क्रियाशिलता विकसित गर्न नसकेको अवस्थामा यसले भयावह रूप लिनेछ। ‘अहिले चाडवाड आइरहको छ, यो वर्ष बाँचौं, अर्को वर्ष पर्व मनाउँला,’ उनले भीडभाड नगर्न अनुरोध गर्दै भने।  

उपत्यकामा थपियो निषेधाज्ञा

सरकारले कोरोना फैलन नदिन भदौ ३ गते निषेधाज्ञा जारी ग¥यो। प्रहरी कडाइपछि निषेधाज्ञाको रामै्र पालना भए पनि यस अवधिमा भने संक्रमण कम हुन सकेन। दुई साता निषेधाज्ञा गर्दा संक्रमण झन् बढे पनि जिल्ला प्रशासन कार्यालयले थप एक साता निषेधाज्ञा लम्ब्याएको छ। बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले केही सहज बनाउनेगरी निषेधाज्ञा थप्ने निर्णय गरेका हुन्।

यस्तो समयमा निषेधाज्ञा हटाउँदा संक्रमण फैलने निश्चित भएपछि लम्ब्याइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। उनले बुधबार गृह मन्त्रालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त छलफलपछि निषेधाज्ञा थप गरिएको बताए। ‘अहिले नै निषेधाज्ञा हटाउन सकिने अवस्था देखिएन, सबैको रायसुझावपछि थप गरिएको हो,’ उनले भने, ‘यस्तै अवस्था रहे निषेधाज्ञा कहिलेसम्म हुन्छ भन्ने अनुमान गर्न सकिन्न।’  

तीन जिल्लाका सिडिओहरूले निर्माण सामग्री ओसारपसार गर्न दिने, भन्सार छुट भएर आएका सामानलाई सहजीकरण गर्ने, पसल ११ बजेसम्म खोल्न पाइनेलगायत निर्णय गरेका छन्। ओहोरदोहोरमा भने अत्यावश्यकबाहेक अन्य व्यक्तिलाई रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए। ‘अत्यावश्यकलाई केही सजिलो बनाइए पनि ओहोरदोहोर र भिडभाड निषेध गरिएको छ,’ उनले भने, ‘अनलाइन सेवा प्रदायक कम्पनीलाई पनि एकदुई दिनपछि सुचारु गर्ने छलफल भएको छ, यसको गाइडलाइन बिहीबार तयार हुन्छ।’

गृह मन्त्रालयले उपत्यकामा संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा थप्न सिफारिस गरेको थियो। अवस्थालाई ख्याल राख्दै अझै एक हप्ता पुरानै तरिकाले ओहोरदोहोर रोकिने गृहका प्रवक्ता चक्रबहादुर बुढाले बताए। ‘अहिले नै भिडभाड गराइयो भने संक्रमण फैलन्छ, गम्भीर अवस्थालाई ख्याल राख्दै यस्तो निर्णय गरिएको हो,’ उनले भने।  

यसैबीच उपत्यकाका नगरपालिका फोरमले थपिएको निषेधाज्ञालाई कफ्र्युसरह कडा बनाउन जिल्ला प्रशासन कार्यालयहरूलाई सुझाएका छन्। उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलने र स्थिति नियन्त्रणबाहिर जान लागेको जनाउँदै फोरमले निषेधाज्ञा खुकुलो गरिए उपत्यकाको अवस्था भयावह बन्ने निष्कर्ष निकालेको छ।

‘सडक रित्तो पारेर संक्रमण कम हुन्न’  

त्यसो त निषेधाज्ञा थप गरे पनि उपत्यकामा संक्रमण बढिरहेको छ। यस्तो अवस्थामा सरकारले संक्रमण बढ्नुको अन्य कारण खोज्न आवश्यक रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले सडक खाली गर्दैमा संक्रमण कम नहुने बताए। स्थानीय स्तरमा पिसिआर परीक्षण गर्ने, जनचेतना बाँड्ने र सही तरिकाले कन्ट्याक्ट टे«सिङको लहरो समाउने हो भने मात्रै संक्रमण कम हुन सक्ने उनको भनाइ छ।  

उनका अनुसार सरकारले निषेधाज्ञा गरेको नतिजा हिजोआज देखिनुपर्ने भए पनि संक्रमित झन् बढेको छ। ठूलो जनसंख्या भएको उपत्यकामा कोरोना संक्रमण भयावह हुने डर बढेको छ। तर, सरकारले जनघनत्व बढी भएको ठाउँमा कम पिसिआर परीक्षण गरेर झन् जोखिम बढाएको जनस्वास्थ्यविद् पाण्डेको भनाइ छ। ‘निषेधाज्ञा सडकमा मात्रै लागु भयो, भित्रभित्रै भिडभाड बढिरहेको छ, प्रहरीको उपस्थिति भित्री भिडभाडमा पुगेकै छैन, भित्री क्षेत्रको चहलपहल र तरकारी बजारको भीड कम नगरेसम्म संक्रमण कम हुने अवस्था देखिँदैन,’ उनले भने। उनका अनुसार सरकारले संक्रमण कम गर्न पसल खुलाउने समय तोक्न जरुरी देखिन्छ। त्यस्तै, सबै मानिस मास्क र साबुन प्रयोग गर्न सक्ने हैसियतका नभएकाले निशुल्क वितरण गर्नुपर्ने उनको भनाइ छ। ‘अहिले सरकारले आफ्नो भूमिका सामान्य तरिकाले मात्रै निभाएको छ, विपन्नको अवस्थाबारे ख्याल नै राखेको छैन, कतिपय मास्क र साबुन किन्न सक्दैनन्, कतिपय प्रयोग गर्न जान्दैनन्, त्यसबारे चेतना प्रवाह गर्नु अहिलेको आवश्यकता हो।’  

जनस्वास्थ्यविद् पाण्डेले यस्तो अवस्थामा राजनीतिक दलहरूको भूमिका झिनो देखिएको बताए। उनले राजनीतिक दलहरूले पनि कोरोना सचेतना र समुदायलाई आवश्यक सहयोग गर्न अग्रसर हुनुपर्ने जानकारी दिए। कुन समुदाय र कहाँ पिसिआर गर्न आवश्यक छ। त्यसबारे राम्ररी अध्ययन गरेर परीक्षण गरियो भने प्रभावकारी हुने उनको भनाइ छ।  

जनस्वास्थ्यविद् शरद वन्तले परीक्षणको दायरा बढाउन र सर्वसाधारणमा जनचेतना प्रवाह गर्न आवश्यक रहेको बताए। ‘संक्रमण झन् बढ्दो अवस्थामा छ, संक्रमण फैलिएको हिसाबले त्रास नै छ,’ उनले भने, ‘सबैले स्वास्थ्य सुरक्षा अपनाउने हो भने नियन्त्रण हुँदै जान्छ।’ उनले उपत्यकालगायत देशभर नै परीक्षणको दायरा बढाउनुपर्ने बताए।

प्रकाशित: १८ भाद्र २०७७ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App