६ वैशाख २०८१ बिहीबार
समाज

त्रासले बल्झिँदै मानसिक समस्या

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण र यसले सिर्जना गरेको संकटका कारण निको भइसकेका मानसिक रोगीमा पुनः सोही समस्या बल्झिन थालेको छ। मनोचिकित्सकहरू निको हुँदै गरेका र औषधि सेवन गरेर घरमै बसिरहेका मानसिक रोगीहरू पुनः उपचारका लागि अस्पतालमा आउन थालेको बताउँछन्। ‘कोरोना संकटले निम्त्याएको समस्याका कारण निको भइसकेका तथा सामान्य अवस्थामा रहेका मानसिक रोगी पुनः अस्पताल आउन थालेका छन्,’ मानसिक अस्पताल लगनखेल, ललितपुरका वरिष्ठ मनोचिकित्सक वासुदेव कार्कीले भने।  

कोरोनापछि उत्पन्न असहज परिस्थिति, लकडाउनलगायत कारण सेवन गरिरहेको औषधिको सहज उपलब्धता नभएपछि पहिले सामान्य अवस्थामा पुगिसकेका बिरामी पुनः अस्पताल आउन थालेको कार्की बताउँछन्। कोरोना संकटपछि नयाँ मानसिक बिरामी पनि अस्पताल आउन थालेको उनी बताउँछन्। कतिपय कोरोना संक्रमितले मानसिक स्वास्थ्यबारे टेलिफोनमार्फत मनोचिकित्सकसँग परामर्श लिइरहेको जानकारी कार्कीले दिए।  

कोरोना सिर्जित मानसिक समस्यासँगै आत्महत्याका घटना पनि बढिरहेको मनोचिकित्सक बताउँछन्। चैत ११ देखि साउन ४ सम्म दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेका छन्। सरकारी तथ्यांक अनुसार गत वर्ष पाँच हजार सात सय ३४ जनाले आत्महत्या गरेकोमा यो वर्ष ६ हजार दुई सय ६१ जनाले आत्महत्या गरेका छन्।  

कोरोना सिर्जित त्रास र मानसिक समस्यासँगै आत्महत्याका  घटना पनि बढिरहेको मनोचिकित्सक बताउँछन्। चैत ११ देखि साउन  ४ सम्म दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेका छन्।

मनोचिकित्सकहरू पहल गरेमा आत्महत्याका घटना न्यून गर्न सकिने बताउँछन्। ‘आत्महत्या अस्थायी किसिमको सोचको परिणाम हो, यसलाई विषयगत विज्ञसँग छलफल गरेर रोक्न सकिन्छ,’ वरिष्ठ मनोचिकित्सक कार्की भन्छन्। कोरोना संकटसँगै आत्महत्या गर्ने बढ्न थालेपछि सरकारले समस्यामा परेकालाई परामर्श दिन मनोचिकित्सकहरूको सहयोगमा हटलाइन सेवा सुरु गर्न थालेको छ। ११६६ नम्बरको हटलाइनमार्फत परामर्श दिने व्यवस्था गर्न लागिएको अस्पतालले जनाएको छ। यो सेवा सेप्टेम्बर १० देखि चौबीसै घण्टा सञ्चालनमा ल्याइनेछ।  

उच्च जोखिममा मानसिक अस्पताल  

कोरोनाको संक्रमणका कारण सिर्जित मानसिक समस्या लिएर अस्पताल जानेको संख्या दिनहुँ बढिरहेको छ। मानसिक स्वास्थ्यसम्बन्धी बिरामीको चाप  

बढ्दा मानसिक अस्पताल कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन्। उपचारका लागि आउने बिरामी नै संक्रमित हुनसक्ने र उसबाट अरूमा फैलिने जोखिम बढ्दै गएको वरिष्ठ मनोचिकित्सक कार्कीले बताए। हालसम्म मानसिक अस्पतालमा एक कर्मचारी र उपचारका लागि आएका एक बिरामीमा संक्रमण देखिएको छ। समयमै रोकथामका लागि पहल नगरेमा संक्रमण दर बढ्न सक्ने कार्की बताउँछन्।  

मानसिक अस्पतालको भौतिक संरचना संक्रामक रोगीलाई ध्यानमा राखेर निर्माण नभएकाले जोखिम उच्च छ। ‘यो अस्पताल ‘इन्फेक्सन प्रिभेन्सन’ को हिसाबले निकै कमजोर छ, त्यसैले कोरोना संक्रमणको उच्च जोखिममा छ,’ कार्कीले भने।  

संक्रमणको जोखिम बढ्दै गएपछि अस्पतालले स्थिर अवस्थामा रहेका बिरामीलाई मानसिक स्वास्थ्य उपचार सेवासहित घरमै पठाउन थालेको छ। अस्पतालमै हुँदा कोरोना जोखिम बढ्ने भएकाले स्वास्थ्य अवस्था स्थिर रहेका बिरामीलाई घरमै पठाउन थालिएको अस्पतालले जनाएको छ।  

कोरोना जोखिमलाई ध्यानमा राखेर अस्पतालले टेलिमानसिक स्वास्थ्य सेवा पनि सुरु गर्न थालेको छ। ५३३०००० टोल फ्री नम्बरमार्फत कार्यालय समयमा सेवा दिनेगरी टेलिमानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिएको वरिष्ठ मनोचिकित्सक कार्कीले बताए। त्यसका लागि सरकारसँग आवश्यक मनोचिकित्सक उपलब्ध गराउन अस्पतालले माग गरेको छ। यो सेवालाई प्रभावकारी बनाउन भिडियो कन्फरेन्समार्फत पनि परामर्श दिने व्यवस्था गर्न लागिएको र त्यसका लागि विभिन्न सफ्टवेर कम्पनीसँग कुराकानी भइरहेको कार्कीले जानकारी दिए।  

बिरामीले सावधानी अपनाउन नमान्दा समस्या  

संक्रामक रोग रोकथामका हिसाबले कमजोर रहेको मानसिक अस्पताल त्यहाँ उपचाररत बिरामीका कारण पनि कोरोनाको जोखिममा छ। अस्पतालका स्वास्थ्यकर्मीका अनुसार मानसिक स्वास्थ्य समस्या भएका बिरामीले कोरोना रोकथाम तथा सुरक्षा साधन प्रयोग गर्न नमान्ने भएकाले त्यसले जोखिम बढाएको हो। ‘बिरामीलाई कोरोना महामारी र यसको जोखिमबारे ख्याल हुँदैन। त्यसैले मास्क, स्यानेटाइजरलगायत सुरक्षा उपाय अपनाउन मान्नुहुन्न। जसले गर्दा थप जोखिम बढेको छ,’ कार्कीले भने। 

प्रकाशित: १८ भाद्र २०७७ ००:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App